८ वैशाख २०८१ शनिबार
अन्य

मुखै रसाउने जापानी परिकार

दोस्रो विश्वयुद्धपछि जापानका सहरमा भोकमरी लाग्यो । मानिसहरू खानाका लागि भौँतारिन थाले । यस्तो बेला एक सस्तो खाले खानेकुरा लोकप्रिय बन्यो, जसलाई ‘इस्सेन–योसोकु’ नाम दिइएको थियो । सहरका साना पसलमा बेच्न राखिने यो खानेकुरा धेरैजसो बच्चालाई खान दिइन्थ्यो । त्यसअघि सबैले बेवास्ता गरेको खाना युद्धपछि निकै लोकप्रिय बन्यो । कारण, स्थानीय रेस्टुरेन्टले यसलाई केही परिमार्जित गरी बनाउन थाले । उनीहरूले यसको नाम पनि इस्सेन योसोकुबाट ‘ओकोनोमियाकी’ मा बदले । सन् १९५० सम्म यो सबै वर्ग र उमेरका मानिसको प्रिय स्वाद बनिसकेको थियो । 
युद्धपछिको भोकमरी छल्न हिरोसिमावासीबाट उत्पत्ति भएको यो खानेकुरा अहिले निकै लोकप्रिय डिसको रूपमा चर्चित छ । 

यही खानेकुरा नेपालीलाई चखाउने काम गरिरहेको छ, कुपण्डोलस्थित ‘ओताफुकु ओकोनोमियाकी’ले । २०१५ मार्चदेखि सञ्चालनमा रहेको यो रेस्टुरेन्टको नाम नै ओकोनोमियाकी राखिएको छ । ओताफुकु हिरोसिमाको निकै चर्चित ब्रान्ड हो । ओताफुकुकै सस प्रयोग गरी यहाँ ओकोनोमियाकी बनाइन्छ । ओकोनोमियाकीलाई यो स्वादमा काठमाडौंमा ल्याउने यही एक मात्र रेस्टुरेन्ट रहेको सञ्चालक नवीन डंगोल बताउँछन् । 

डंगोल आफैँ टुर गाइड हुन् । जापानी पाहुनालाई देश डुलाउँदाडुलाउँदै उनलाई जापानी खाना र संस्कृतिले तान्यो । विदेशी स्वाद चाख्ने बढ्दो चलनका कारण जापानी खानाले राम्रो व्यापार गर्छ भन्ने लाग्यो । त्यसपछि उनी आफैँ ओताफुकु कम्पनीमा तालिम लिएर आएपछि रेस्टुरेन्ट खोले । ओताफुकुको ब्रान्ड नाम पाउनु उनको व्यवसायका लागि प्लस प्वाइन्ट भयो । उनको रेस्टुरेन्टमा ओताफुकुकै झन्डा र लोगो देख्न सकिन्छ । 

‘यहाँका खाना पनि ओताफुकुकै रेसिपीमा आधारित छ,’ सञ्चालक डंगोलले भने । ओकोनोमियाकी विशेष रहेको यो रेस्टुरेन्टका सबै जापानी खाना नेपालीले मन पराएको उनी बताउँछन् । ‘ओकोनोमियाकी देख्नेबित्तिकै मानिसहरू खुसी हुन्छन् ।’ त्यसबाहेक जापानी खाना भन्नेबित्तिकै सम्झिने सुसी, टेम्पुरा त छँदै छ । कुपण्डोल हाइटमा रहेको रहेको डंगोलको रेन्टुरेन्ट जापानी खाना पारखीका लागि राम्रो गन्तव्य बनेको छ । 

उनको रेस्टुरेन्टको ५० प्रतिशतभन्दा बढी ग्राहक नेपाली नै रहेको उनले बताए । रेस्टुरेन्टमा आउने नेपालीमध्ये अधिकांश ग्राहक जापानी खानासँग परिचित नै आउने गरेको उनले पाएका छन् । यसबाट जापानी खानाले काठमाडौंवासीको मन जितिसकेको उनी अनुमान लगाउँछन् । जापानी खानालाई सर्वसाधारणमा पुर्‍याउने उद्देश्यले रेस्टुरेन्टको सेटअप र खानाको मूल्यलाई निकै सुलभ बनाइएको डंगोल बताउँछन् । 

ओकोनोमियाकीको खाना फुडमान्डुको डेलिभरी सर्भिसमार्फत पनि धेरै ग्राहकमा पुग्ने गरेको छ । चार सय रुपैयाँभन्दा बढीको अर्डर फुडमान्डुले लिने गरेको छ । 

संसारभरि नै स्वस्थ खानाको रुपमा जापानी खाना चर्चित छ । काठमाडौंमा पनि जापानी खानाको चलन अलि पहिले नै आइसकेको थियो । काठमाडौंको पुरानोमध्येको एक रेस्टुरेन्ट हो, कोटो जापनिज रेस्टुरेन्ट । दरबारमार्गमा रहेको यो रेस्टुरेन्ट ०४२ सालदेखि सञ्चालनमा छ । जापानीसहित नेपालीको समेत लगानी रहेको कोटोको किचेन अथेन्टिक जापानी क्युजिनका लागि चर्चित रहेको छ । यसको झन्डै आधाभन्दा बढी ग्राहक नेपाली रहेको म्यानेजर सुरथ डाँगी बताउँछन् । बाँकी ग्राहक जापानी पर्यटक अन्य देशका रहेका छन् । 

नेपालीहरू जापानमा जाने चलन बढेका कारण नेपालमा जापानी स्वादले लोकप्रियता पाउँदै गएको कोटोका म्यानेजर डाँगीले बताए । हिजोआज अध्ययनका लागि जाने तयारीमा रहेका र गएर आएका विद्यार्थीको पनि गन्तव्य बन्ने गरेको छ, सहरका जापानी रेस्टुरेन्ट । जापानी भाषा पढाउने स्कुलले पनि आफ्ना विद्यार्थीलाई जापानी खानाबारे सिकाउन ल्याउने गरेको डाँगीले बताए । उनले भने, ‘यसले गर्दा पनि सहरमा जापानी खानालाई लोकप्रिय बनाउन सहयोग पुगेको छ ।’ 
जापानी स्वादसँग घुलमिल भइसकेका मात्र नभई जापानी खाना चाख्न इच्छुक नेपाली पनि कम छैनन् । कोटोका सेफ ध्रुव ढकालले भने, ‘जापानी परिकारमा ससको प्रयोग धेरै गरिएको हुन्छ । सुरुमा खानेले अलि गुलियो मान्छन् ।’ तर खाँदै जाँदा लत बसेका ग्राहक पनि आउने गरेको सेफ ढकालले बताए । 

काठमाडौंका रेस्टुरेन्टमा चर्चित केही जापानी परिकारबारे पनि थाहा पाइराखौँ । 
सुसी 
जापानी परिकार भन्नेबित्तिकै धेरैले सुसी सम्झन्छन् । नोरी अर्थात् एक प्रकारको सिविडमा भिनेगर्ड राइस, भेजिटेबल्स, माछा (टुना, सालमन, प्राउन) बेरेर सुसी बनाइन्छ । यसलाई सुसी सस र वासाबी (पिरो अचार) सँग खाइन्छ । ओताफुकु ओकोनोमियाकीमा ओकोनोमियाकीपछि धेरैले मन पराउने परिकार माकी सुसी (जुसी) रहेको सञ्चालक डंगोल बताउँछन् । उसको मेन्युमा चार प्रकारका सुसी छन् । तिनको मूल्य जम्मा चार सय रुपैयाँदेखि पाँच सय ५० रुपैयाँसम्म निर्धारण गरिएको छ । आफूहरूले सुसीलाई जापानी परम्परागत तरिकाले बनाउने गरेको ओताफुकुका सञ्चालक डंगोलले बताए । 

सुसीलाई धेरै स्टाइलमा तयार पार्न सकिन्छ । अहिले काठमाडौंका रेस्टुरेन्टमा भने माकी सुसी नै धेरैले मनपराउने गरेको काटो जापनिज रेस्टुरेन्टका सेफ ध्रुव ढकाल बताउँछन् । कोटोले सुसीका सात स्टाइललाई आफ्नो मेन्युमा राखेको छ । जसको मूल्य पाँच सय ४० रुपैयाँदेखि ६ सय ९० सम्म निर्धारण गरेको छ । 

ओकोनोमियाकी 
धेरैको स्वादग्रन्थीलाई थ्रिलिङ सेन्सेसन दिनका लागि ओकोनोमियाकीको लोभलाग्दो टेक्स्चर नै पर्याप्त छ । यसको निकै रसिलो स्वाद सुरुमा चाख्नेले कहिल्यै बिर्संदैन । ग्रिल गरिएको रोटीको बेसमा बन्दा, नुडल्स, मासु, गेडागुडीको टुसा राखेर ओकोनोमियाकी बनाइन्छ । रोटीको बेसमा बनाइने हुनाले यसलाई जापानी प्यान केक पनि भनिन्छ । यसमा स्वाद थप्ने काम ओकोनोमी ससले गर्छ । कुपण्डोलको ओताफुकु ओकोनोमियाकीमा प्रयोग गरिने सस ओताफुकुबाटै मगाउने गरेको सञ्चालक डंगोल बताउँछन् । भन्छन्, ‘त्यसैले हाम्रो स्वादसँग आजसम्म कसैले गुनासो गरेको छैन ।’ यहाँ हिरोसिमा र खान्साई (ओसाका) स्टाइल स्टाइलका भेज र ननभेज दुवै प्रकारका ओकोनोमियाकी बनाइन्छ । भेज ओकोनोमियाकीको मूल्य चार सय ५० र मिक्सको मूल्य पाँच सय ५० रुपैयाँ छ । यसलाई लन्च र डिनर दुवै रूपमा खान सकिन्छ ।

टेम्पुरा
जापानी क्युजिन रेस्टुरेन्टमा धेरै मनपराउने परिकार टेम्पुरा हो । टेम्पुरा जापानी परिकार भनिए पनि यसलाई पोर्चुगिजले जापानमा प्रयोग गरी चर्चित बनाइएको मानिन्छ । सिफुड तथा अन्य सब्जीलाई गहुँको रोटी, अन्डालगायत मिलाएर बनाइएको टेम्पुरा ब्याटरले बनाइने यो डिप फ्राइड परिकार हो । काठमाडौंका जापानी रेस्टुरेन्टमा धेरै बिक्ने परिकार टेम्पुरा पनि हो । यसलाई सस वा राइस बाउल वा सोबा नुडल्ससँग खान सकिन्छ । ओताफुकु ओकोनोमियाकीको टेम्पुरा मेनुमा भेज, मिक्स र प्राउन टेम्पुरा राखिएका छन् । कोटोमा रहेका तीन प्रकारका टेम्पुरामध्ये प्राउन टेम्पुरा धेरै खाइने परिकार रहेको सेफ ध्रुव ढकालले बताए। 

टेरियाकी 
लन्च वा डिनरमा भात खान रुचाउने नेपालीका लागि टेरियाकी सबैभन्दा उपयुक्त डिस हुन सक्छ । अलि हेभी डिसको रूपमा ओताफुकु ओकोनोमियाकीले दैनिक सर्भ गर्ने परिकारमै पर्छ । यहाँ चिकेन वा पोर्कलाई ग्रिल गरी टेरियाकी सससँग सर्भ गरिन्छ । यसमा राइस, सुप, गोमाइ पनि सँगै आउँछ । साधारणतः टेरियाकी सस गुलियो हुने भए पनि यसलाई स्पाइसी पनि बनाउन सकिन्छ । उसिनेको पालुंगोको सागलाई र तिलको छोपको स्वादको गोमाइ अपिटाइजर सलाद हो । गोमाइ आफैँ पनि निकै मन पराइने परिकार हो। 

कोटो जापनिज रेस्टुरेन्टको मेनुमा चिकेन र फिले टेरियाकी राखिएका छन् । लन्च र डिनरका रूपमा धेरैले यसलाई मनपराउने गरेको सेफ ध्रुव ढकालले बताए। 

सोबा
फापरको पिठोको नुडल्सको परिकार हो, सोबा । काठमाडौंका जापानी रेस्टुरेन्टका पनि चर्चित परिकारमा पर्छ, सोबा । तातो र सुपी सोबा विशेषगरी जाडो मौसममा खाइने भए पनि गर्मी महिनामा पनि खाइने कोटोका सेफ ध्रुव ढकाल बताउँछन् । गर्मी मौसममा चिसो खान मनपराउनेका लागि सोबाको चिसो डिस पनि कोटोको मेनुमा छ । सोबाको चिसो भर्जनमा छुट्टै सस र वासाबी (अचार) दिइन्छ । ससमा नुडल्स डिप गरेर खाइन्छ । सोबाका लागि चाहिने मिठी फापरको पिठो काटोले आफैँ तयार गर्ने गरिएको म्यानेजर सुरथ डाँगीले बताए । कोटोको मेनुमा विभिन्न प्रकारका सोबा बेस्ड नुडल्सका परिकार छन् । सोबा नुडल्सको बेसामा टेम्पुरा, चिकेन, पोर्क वा जुनसुकै एक्स्ट्रा टपिङमा खान सकिन्छ । 

बेन्तो बक्स
बेन्तो टेक–आउट मिल बक्स हो । विभिन्न परिकारलाई मिलाएर बनाइएको खानाको प्याकेज हो, बेन्तो । जसमा राइस, माछा वा मासु, सब्जी, अचार लगायत खानेकुरा समावेश गरिएको हुन्छ। 

टेकआउट बक्सको रूपमा खाइने भए पनि यसलाई डाइनिङमा पनि रेस्टुरेन्टले बेन्तो चलाइरहेका छन् । ओताफुकु ओकोनोमियाकीका सञ्चालक डंगोलका अनुसार एउटै परिकारको स्वादभन्दा फरक–फरक परिकारका स्वाद एकैचोटि खान चाहनेले बेन्तो रोज्ने गरेका छन् । बक्समा समावेश सबै खाना खाँदा महँगो पर्ने भएकाले धेरैले धेरै प्रकारका परिकार एकैपटक चाख्ने मौकाको रूपमा लिन्छन् । बेन्तो खानेले बक्सको कम्पोजिसन आफ्नो इच्छाअनुसारका परिकार मिलाएर रोज्न सक्छन् । रेस्टुरेन्टले पनि आफ्नो स्टाइलका बेन्तो बक्स बनाएका हुन्छन् । कोटोको मेन्युमा भेज र ननभेज गरी बेन्तो राखिएका छन् । जसको मूल्य पाँच सय ४० देखि सात सय ९० रुपैयाँसम्म छ। 

सुकियाकी
फिङ (ग्लास नुडल्स), बोइल्ड भेजिटेबल बेसमा विभिन्न स्टाइलमा उमालेर बन्ने डिस हो, सुकियाकी । फिले, चिकेन, पोर्क र भेजिटेबल सुकियाकी कोटोको मेनुमा छन् । थुक्पाजस्तै देखिने सुकियाकीमा सोय सस र सुपले जापानी स्वाद दिन्छ । यो परिकारलाई नेपालीले गर्मी र जाडो दुवै मौसममा उत्तिकै रुचाएको कोटोका सेफ धु्रव ढकालले बताए । 

प्रकाशित: १६ भाद्र २०७४ ०६:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App