८ वैशाख २०८१ शनिबार
राजनीति

मधेसी नेताहरूको दल बदल तीव्र

काठमाडौं- आगामी असोज २ मा हुने तेस्रो चरणको निर्वाचनलाई लक्षित गरेर दुई नम्बर प्रदेशका मधेसी दलका नेताहरूको पार्टी बदल्ने क्रम तीव्र भएको छ । एउटा पार्टीले टिकट नदिनेबित्तिकै अर्को पार्टीमा प्रवेश गरी टिकट लिने प्रवृत्ति अहिले २ नम्बर प्रदेशका जिल्लामा देखिएको छ । कतिपय नेताहरूले मंसिरमा हुने प्रदेश र संसद्को चुनावलाई लक्षित गरेर पनि पार्टी परिवर्तन गरेका छन् । तीमध्ये केही नेताहरू प्रदेशसभा या संसद्को चुनावमा टिकट ग्यारिन्टी गरेरै पार्टी प्रवेश गरेको स्रोतको भनाइ छ । 

जिल्ला तहका नेताहरूले नगरपालिकाको मेयर, उपमेयर तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार बन्न पाइने प्रलोभनमा पार्टी परिवर्तन गरेका छन् ।

मधेसी नेता तान्दै माओवादी केन्द्र

मधेसका केही लोकप्रिय भनिएका नेताहरू केही समययता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । फोरम नेपालका सहअध्यक्ष रामेश्वर राय यादव, सद्भावना पार्टीका संस्थापक अनिस अन्सारी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । केही दिनअघि मात्र नयाँ शक्तिका रामचन्द्र झा र रामकुमार शर्मा पनि माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

यसैगरी नयाँ शक्तिबाट महेन्द्र पासवान  माओवादीमा प्रवेश गरेका छन् । रामेश्वर, अनिस अन्सारीलगायतका नेताहरूलाई पार्टीमा प्रवेश गराउन मााओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुई नम्बर प्रदेशमै पुगेका थिए ।

माओवादी केन्द्रमा प्रवेश गरेका रामेश्वर राय यादवले फोरम लोकतान्त्रिक भन्दा माओवादी केन्द्रको आदर्श, विचार र सिद्धान्त मन परेको बताए । ‘म व्यक्तिगत स्वार्थका लागि माओवादी केन्द्रमा प्रवेश गरेको होइन । आदर्श र सिद्धान्तका लागि गएको हुँ,’ उनले भने ।

एमालेले टिकटै दियो  

अन्य दलबाट एमालेमा प्रवेश गरेका मधेसी  नेताहरूलाई पार्टीले स्थानीय चुनावमा टिकट दिएको छ । संघीय फोरमबाट एमालेमा गएका सुखराम यादवलाई एमालेले राजविराज नगरपालिको मेयरमा टिकट दिने भएको छ । यसैगरी माओवादी केन्द्रबाट एमालेमा गएका मुन्नी साहलाई पार्टीले लहान नगरपालिकाको मेयरमा टिकट दिने भएको छ । राजपाका केन्द्रीय सदस्य चन्द्रकला साह एमालेमा प्रवेश गरेकी छन् । उनले प्रदेश सभामा टिकट पाउने सम्भावना रहेको स्रोतको भनाइ छ । केही समयअघि मात्र राजपाकी कोषाध्यक्ष अनिता यादव र सहमहामन्त्री समिम अन्सारी एमालेमा प्रवेश गरेका थिए ।

एमालेका सांसद तथा नेता शुत्रघन महतोले एमालेमा प्रवेश गर्ने नेताहरूमध्ये सबै उम्मेदवारका आकांक्षी नभएको दाबी गरे । ‘हाम्रो पार्टीमा प्रवेश गर्ने नेताहरूमध्ये सबै टिकटका लागि आकांक्षी छैनन् । तीमध्ये केही नेताहरूले प्रदेशसभा र संसद्का लागि पनि टिकट पाउन सक्नुहुन्छ,’ उनले भने ।

एमाले कार्यकर्ता चोर्दै उपेन्द्र यादव

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि अहिले अन्य पार्टीका कार्यकर्ता आफ्नो पार्टीमा तान्न व्यस्त छन् । पर्साका एमाले नेता तथा पूर्वसांसद प्रद्युम्नप्रसाद चौहान र पर्सा एमालेका नेता प्रह्लाद गिरीलाई यादवले फोरम नेपालमा प्रवेश गराएका छन् । चौहानलाई पार्टीले पर्साको पोखरिया नगरपालिकाको मेयरमा टिकट दिने निर्णय गरेको छ । यसैगरी गिरीले प्रदेशसभाको चुनावमा टिकट पाउने सम्भावना छ । एमालेबाहेक अरू पार्टीबाट पनि थुप्रै नेता फोरम नेपालमा प्रवेश गरेको पनि यादवले दाबी गरे ।

राजपामा कचिगंल

राजपाभित्र टिकट वितरणमा कचिंगल उत्पन्न भएको छ । कुनै कुनै ठाउँमा एउटै पदमा ३० जनासम्म आकांक्षी देखिएको राजपाका महासचिव केशव झाले बताए ।

राजपाका केही नेताहरू भने पार्टी प्रवेश कार्यक्रममा व्यस्त छन् । अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी बुधबार र बिहीबार सर्लाही र महोत्तरीमा पार्टी प्रवेश कार्यक्रममा  प्रमुख अतिथि भए ।

महासचिव झाले टिकटकै लागि राजपामा  कोही प्रवेश नगरेको दाबी गरे । ‘अहिले हाम्रो पार्टीभित्र उम्मेदवारका आकांक्षीलाई मिलाउन ठूलो समस्या  छ । यस्तो बेलामा  टिकटका लागि अरू पार्टीबाट आउने स्थिति छैन,’ उनले भने ।

प्रकाशित: १६ भाद्र २०७४ ०४:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App