coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

जापान विश्वकपका लागि छनोट

साइथामा- अस्ट्रेलियालाई पराजित गर्दै जापान सन् २०१८ को विश्वकपका लागि छनोट भएको छ । जापान विश्वकपमा छनोट भएको यो लगातार छैटौं पटक हो ।

एसियाली विश्वकप छनोटअन्तर्गत बिहीबार घरेलु मैदानमा सम्पन्न खेलमा जापानले अस्ट्रेलियालाई २–० ले पराजित गरेको हो । यस जितसँगै ९ खेलमा २० अंक जोडेको जापानले समूह ‘बी’ को विजेताका रूपमा रूसको टिकट पक्का गरेको हो । यता छनोट चरणमा पहिलो हारको सामना गरेको अस्ट्रेलियाको शीर्ष दुईमा रहँदै स्वतः विश्वकपमा छनोट हुने लक्ष्यमा गम्भीर धक्का लागेको छ । समान खेलमा १६ अंक जोडेको अस्ट्रेलिया तेस्रो स्थानमा छ । दोस्रो स्थानको साउदी अरेबियासँग अंक बराबर भए पनि अस्ट्रेलिया गोलअन्तरका आधारमा पछि परेको हो । आगामी मंगलबार थाइल्यान्डविरुद्धको खेलमा सुखद नतिजा निकाल्न सकेमा अस्ट्रेलियाको सम्भावना कायम हुनेछ । तर त्यसका लागि अस्ट्रेलियाले दोस्रो स्थानको साउदी अरेबिया र र जापानबीचको खेलको नतिजा कुुर्नुपर्नेछ ।

४१औं मिनेटमा ताकुमा आसानोले गरेको गोलमा जापानले अग्रता लिएको थियो । ८३औं मिनेटमा यासुकी इडिगुइचीले गोल गर्दै जापानको विश्वकप यात्रा पक्का गरेका थिए ।

समूह ‘बी’अन्तर्गतको अर्को खेलमा इराकले थाइल्यान्डलाई २–१ ले पराजित गरेको छ ।

यता समूह  ‘ए’ अन्तर्गत बिहीबारै भएको खेलमा सिरियाले कतारलाई ३–१ ले पराजित गर्दै विश्वकप छनोट सम्भावना कायम राखेको छ । यस जितपछि ९ खेलको समाप्तिमा १२ अंक जोडेको सिरियाले तेस्रो स्थानमा उक्लँदै प्लेअफको सम्भावना कायम राखेको हो । प्रत्येक समूहका शीर्ष दुई टोली स्वतः विश्वकपमा छनोट हुनेछन् । तेस्रो स्थानको टोलीले प्लेअफको अवसर पाउनेछ ।

यस समूहबाट इरान यसअघि नै विश्वकपमा छनोट भैसकेको छ । इरान २१ अंकका साथ शीर्ष स्थानमा रहँदा १४ अंक जोडेको दक्षिण कोरिया दोस्रोमा छ । त्यस्तै १२ अंक जोडेको उज्वेकिस्तान चौथो स्थानमा छ । ९ अंक जोडेको चीन पाँचौं र ७ अंक जोडेको कतार पुछारमा छन् ।

समूह ‘ए’ को अर्को खेलमा चीनले उज्वेकिस्तानलाई १–० ले पराजित गर्दा दक्षिण कोरिया र इरानले गोलरहित बराबरी खेलेका छन् ।

प्रकाशित: १६ भाद्र २०७४ ०३:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App