coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चितवनमा स्क्रब टाइफस, डेंगु र स्वाइनफ्लु

चितवन- नेपालमा तीन वर्षअघि मात्रै प्रमाणित भएको स्क्रब टाइफससँगै डेंगु, चिकनगुनिया र स्वाइनफ्लु प्रकोप एकैसाथ फैलिएको छ । यतिखेर चितवनका अस्पतालमा यी सबैथरी संक्रमितको उपचार पनि एकैसाथ भइरहेको छ । रोगको शंका लागेर जँचाउन आउनेको भीड बढ्दो छ ।

एकैसाथ फ्लु तथा विभिन्न रोगको संक्रमण फैलँदा अर्को खालको रोग वा संक्रमण उब्जने हो कि भन्ने शंका सर्वसाधारण र चिकित्सकलाई परेको छ । ‘एउटा ज्वरो बोकेर अस्पताल जचाउन जाँदा त्यहीबाट अर्को रोग संक्रमण हुने हो कि भन्ने डर त लागिरहन्छ,’ भरतपुरका राजु सेढाईंले भने ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार स्क्रब टाइफसबाट चितवनमा डेढ महिनामै दुईजनाको ज्यान गइसकेको छ । पछिल्लो पटक भदौ १० गते  नवलपरासी घर भएकी २१ वर्षीया एक महिलाको टाइफसबाट मृत्यु भएको छ । भरतपुरस्थित सेन्ट्रल अस्पतालमा उपचारका क्रममा ती महिलाको मृत्यु भएको कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले बताए ।

यसअघि साउन २२ गते नवलपरासी रजहरकी २४ वर्षकी महिलाको स्क्रब टाइफसबाट नारायणी सामुदायिक अस्पतालमा मृत्यु भएको केसीले बताए ।

साउनयता चार सय ९७ जनाको परीक्षण गरिएकोमा एक सय ३३ जनामा स्क्रब टाइफस फेला परिसकेको छ ।

माइट नामक एक प्रकारको सूक्ष्म किराले टोकेपछि मानिसमा स्क्रब टाइफसको संक्रमण देखापर्छ । यो किराले मुसाको कानबाट रोग मानिसमा सार्छ । स्क्रब टाइफसको संक्रमणले भेटेपछि अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, शरीरमा रातो बिमिरा आउने, शरीर दुख्ने समस्या देखापर्ने डा. दयाराम लम्साल बताउँछन् । संक्रमण बढ्न थालेपछि परीक्षण गर्न सरकारी तहबाट परीक्षण किट जिल्लामा  उपलब्ध गराइएको छ ।

त्यस्तै, चितवनमा स्वाइनफ्लुको संक्रमण पनि बढ्दो क्रममा छ । भरतपुर अस्पतालमा उपचार गरिएका बिरामीमध्ये तीन सय नौ जनामा स्वाइनफ्लु संक्रमण भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका अनुसार पछिल्लो तीन महिनामा ती सय नौ जनामा ‘इन्फ्लुएञ्जा–ए–एचवान–एनवान’ नामक स्वाइनफ्लु फेला परेको हो ।

भेक्टर कन्ट्रोल निरीक्षक राम केसी ती सय ८० जना बिरामीको परीक्षण गर्दा तीन सय नौ जनामा स्वाइनफ्लुका जीवाणु भेटिएको उनले बताए ।

करिब साढे दुई महिनाको परीक्षणमा फेला परेका बिरामीमध्ये दुई सय ५३ जना चितवनका छन् । अन्य ५६ जना भने तनहुँ, धादिङ, नवलपरासी, मकवानपुरलगायत जिल्लाका छन् ।

स्वाइनफ्लु संक्रमण भएका बिरामीमा रुघा लाग्ने, ज्यान, घाँटी दुख्ने, ज्वरो आउने हुन्छ । त्यसपछि बिरामी थलिएर उठ्नै नसक्ने हुनसक्छ ।

स्वाइनफ्लुका बिरामीलाई अस्पतालमा वा घरमै सुरक्षित तरिकाले चिकित्सकको निगरानीमा उपचार गर्नुपर्ने चिकित्सक बताउँछन् ।

डेंगु पनि देखिन थाल्यो

२०६८ मा माहामारी नै फैलिएपछि केही कम हुँदै गएको डेंगुको संक्रमण यो वर्ष फेरि पनि देखापरेको छ । त्यतिखेर डेंगुका कारण एकदर्जन बढीले ज्यान गुमाएका थिए । यसपटक भने भारतको मुम्बईबाट फर्केका एक व्यक्तिमा डेंगु भेटिएपछि संक्रमण देखिने क्रम सुरु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार पश्चिम चितवनको प्रेम बस्तीका एक पुरुषमा डेंगे भेटिएको हो । उनी भारतमा बस्दा बिरामी भएपछि नेपाल फर्केका थिए । उनीसँगै साउनपछि दुई जनामा डेंगु देखापरिसकेको छ ।

अघिल्लो आर्थिक वर्षमा दुई हजार पाँच सय ६५ जना बिरामीको परीक्षण गरिएकोमा छ सय ८७ जनामा डेंगु संक्रमण भेटिएको थियो । त्यसमध्ये एक बिरामीको मृत्यु भएको थियो ।

एडिस एजेप्टाइ नामक कालोसेतो छिरबिरे पोथी लामखुट्टेले टोकेमा डेंगु सर्ने गर्छ । सो संक्रमणणसँगै चितवनमा एकजनामा चिकनगुनियासमेत फेला परेको छ । चितवनमा उपचार गराउन आएका नवलपरासीका एक व्यक्तिमा चिकनगुनियाको संक्रमण भेटिएको हो ।

प्रकाशित: १६ भाद्र २०७४ ०२:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App