७ वैशाख २०८१ शुक्रबार
समाज

बाढीले गुल्मीको आठ सय रोपनीभन्दा बढी खेत बगायो

गुल्मी –  वर्षासँगै आएको बाढीले गुल्मीमा सयौँ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । गत दुई साताको अवधिमा कालीगण्डकी, बडिगाढ, हुग्दी, रिडी, छल्दी, पनाहालगायतका खोलामा आएको बाढीले उक्त क्षति पुर्‍याएको हो । बडिगाढ खोलामा आएको बाढीले सबैभन्दा धेरै धानसहितको खेतमा बढी क्षति पुर्‍याएको छ। 

जिल्ला कृषि विकास कार्यालयका अनुसार मुसिकोट नगरपालिकाको राक्से, ढाँब, बौवा, गुल्मी दरबार गाउँपालिकाअन्तर्गत बलिथुम, रुरु गाउँपालिकाअन्तर्गत बम्घालगायतका स्थानमा ८२० रोपनीमा लगाएको धानसहितको खेत बाढीले बगाएको छ। बलिथुममा खेतसँगै सिंगो गाउँ जोड्ने मोटरबाटोसमेत खोलाले कटान गरेर लगेपछि त्यस क्षेत्रका स्थानीय बासिन्दालाई आवतजावतमा थप समस्या परेको छ। 

धान रोपेको सबै खेत बगाइदिएपछि बलिथुम माझी गाउँका बासिन्दालाई नजिकैको मजुवा बजारसम्म आवतजावतमा समस्या परेको छ । उनीहरू यतिबेला बजारसम्म पुग्नका लागि गाउँको घुमाउरो बाटो हिँड्न बाध्य छन्। बलिथुममा मात्र झण्डै ३० रोपनी खेत बडिगाढ खोलाले बगाइदिएको छ। 

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत चक्रपाणि पन्थीका अनुसार जिल्लाभर बाढी र पहिरोले ८२० रोपनीभन्दा बढी धानखेतमा क्षति पु¥याएको छ। पन्थीका अनुसार बडिगाढ, छल्दी र खज्र्याङ खोलाले धेरै क्षति पु¥याएको हुँदा कार्यालयबाट क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ। वर्षाले कतिपय स्थानमा बिजुलीका पोल पहिरोले पुरिदिएका कारण टेलिफोन सम्पर्कमा समस्या परेकाले कृषिमा पुगेको क्षतिको विवरण संकलन गर्न ढिला भएको कार्यालयले जनाएको छ । 

वर्षाले सदरमुकाम जोड्ने रिडी–तम्घास सडकबाहेक अन्य अधिकांश सडकमा यातायात सञ्चालन गर्न समस्या परेको गुल्मी यातायात व्यवसायी समितिका अध्यक्ष झकबहादुर मिदुनले बताए। यसपटक मुसिकोट नगरपालिकामा पहिरोमा परेर एक घर र एक गोठसहित केही बस्तुभाउ मरे पनि अन्य कुनै मानवीय क्षति नभएको प्रजिअ कृष्णप्रसाद ढुंगानाले जानकारी दिएका छन्। 

सदरमुकाम तम्घास नजिकै कुँडापानीमा पहिरोका कारण १६ घर जोखिममा परेका छन् भने कालीगण्डकी गाउँपालिकाअन्तर्गत अर्वेनीमा जमिन भासिएपछि १६ घर पूरै विस्थापित भएको वडाध्यक्ष देवी न्यौपानेले बताए। रासस 

प्रकाशित: १५ भाद्र २०७४ ०९:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App