एउटा अमेरिकी अध्ययनको कुरा मान्ने हो भने विवाहका लागि शिक्षित पुरुषको कमी हुँदै गर्दा सार्वजनिक रुपमा सफल महिलाहरुले आफ्नो डिम्बबाट अण्डाणु निकालेर फ्रिज गराइरहेका छन् ।
येल विश्वविद्यालयका शोधकर्ताहरुले अमेरिकामा पुरुषभन्दा महिला बढी पढन्ते भइरहेका छन् । उनीहरुको पढाइ बढेसँगै उनीहरुको जीनवस्तर ह्वात्तै बढेको छ । आफूभन्दा कम पढेलेखेकासँग उनीहरुले हैसियत नमिल्ने भन्दै विवाह गर्न रुचाइरहेका छैनन् । यस्तो अवस्थामा पछि सन्तान जन्माउनुपर्ने अवस्था आए के गर्ने ? उमेर घर्किसकेपछि त्यस्तो अवस्था नआओस् र सन्तान जन्माउन सहज होस् भनेर उनीहरुले अण्डाणुलाई फ्रिज गराइरहेका हुन् । अमेरिकामा यस्तो सेवा दिने संस्था पनि क्रमिक रुपमा बढ्न थालेका छन् ।
खासगरी विकसित मुलुक अमेरिका, बेलायत तथा युरोपेली अन्य विकसित मुलुकमा महिलाहरु बढी विश्वविद्यालय जाने गरेको र त्यसपछि उनीहरुले सुहाउँदिलो पुरुष पाउन छाडेको गुनासो गर्न थालेका छन् । यस्तो गुनासो पछिल्लो समय बढेर ९० प्रतिशत पुगेको छ । अर्थात् ९० प्रतिशत महिलाले ‘राम्रा’ केटा पाइन छाडेको गुनासो गरेका छन् ।
लेखक तथा प्राध्यापक मार्सा इन्होन भन्छिन्, ‘यस शोधले महिलाहरुले जागिरलाई प्राथमिकता दिएका कारणले आमा बन्न नचाहिरहेको भन्ने अवधारणालाई ठूलो चुनौती दिएको छ ।’
‘खासमा महिलाहरुका बारेमा मिडियामा ठूलो स्वरमा शिक्षा र करियरका महŒवाकांक्षाका कारण पेसेवर महिला आमा बन्न चाहँदैनन् भन्ने टिप्पणी गर्ने गरिन्छ,’ उनले भनिन्, ‘उनीहरुमाझ करियरतर्फ झुकाव बढी भयो, परिवारतर्फ भएन भन्ने जुन हल्ला मच्चाइन्छ, वास्तवमा यस शोधले गलत प्रमाणित गरिदिएको छ ।’
महिलाहरु आफ्नो प्रजनन क्षमता सकिनुअघि नै सो क्षमतालाई सुरक्षित राख्न सचेत हुन थालेका छन् । उनीहरुले यसो गर्नु बाध्यता पनि छ किनभने व्यस्तता अथवा सोचेजस्तो ‘लोग्नेमान्छे’ फेला नपरेपछि यसो गर्नु परेको हो भन्ने उनको धारणा छ ।
स्विट्जरल्यान्डको जेनेभास्थित युरोपियन सोसाइटी अफ ह्युमन रिप्रोडक्सन एन्ड एम्ब्रियोलजी कन्फ्रेन्समा बोल्दै प्राध्यापक मार्साले भनेकी थिइन्, ‘महिलाका लागि उपयुक्त ग्र्याजुएट केटा नै फेला पार्न सकिएको छैन ।’
बढीजसो महिलाको परीक्षण अमेरिका र इजरायलका क्लिनिकहरुमा भएको थियो । ती महिलाहरुमध्ये अधिकांशलाई २०१४ को जुनदेखि २०१६ को अगस्तका बीचमा अन्तरवार्ता लिइएको थियो । आफूले सोचेजस्तो शिक्षित पुरुष खोज्न नसकेकाले आफ्नो वैवाहिक जीवनप्रति प्रतिबद्ध हुन नसकेको उनीहरुको टिप्पणी थियो ।
आफ्ना लागि उपयोगी पुरुषको अभाव देखेपछि उनीहरुले आफ्नो अण्डाणु फ्रिज गराएका हुन् । योग्य पुरुष फेला पारेपछि तिनै अण्डाणुलाई उपयोग गर्दै आमा बन्ने चाहना मूर्त रुप दिन उनीहरु चाहन्छन् ।
०००
सन् २०१४ को जनवरीमा एक जना महिलाले आफ्नो अण्डाणु फ्रिज गराएकी थिइन् । ती महिलाले आफ्नो अण्डाणु निकाल्दाको क्षण स्मरण गर्दै भनिन्, ‘मैले आफूले सोचेजस्तो केटो यो उमेरसम्म नपाएको सम्झँदा दिक्क लाग्यो । अब भविष्यमा त्यस्तो केटोको प्रतीक्षा गर्दागर्दै कतै उमेर नै नबितोस् भन्ने सोच्दा मात्र मेरो चित्त दुखेको थियो ।’
लण्डनकी ३९ वर्षीया ती महिलाले भनिन्, ‘त्यो बेला मलाई बच्चाका बारेमा सोच्नु पथ्र्यो भन्ने लागेकै थिएन । मलाई बच्चा ज्यादै मनपर्ने भएकाले यो अण्डाणु जोगाएकी होइन तर उमेर बित्दै जाँदा सन्तानको इच्छा जाग्यो भने के गर्ने भन्ने प्रश्नले सताएपछि मैले अण्डाणु संरक्षण गर्नेबारे सोच्न बाध्य भएँ ।’
अण्डाणु फ्रिज गर्नु सहज छैन
ती महिलाले भविष्यका बारेमा सोच्दै अण्डाणुलाई फ्रिज गर्नेबारे सोधखोज गर्दै जाँदा के पाइन् भने १४ हजार पाउन्ड अर्थात् १७ लाखभन्दा बढी रकम आवश्यक पर्ने रहेछ ।
तर ब्रिटिस फर्टिलिटी सोसाइटीका अध्यक्ष एडम बलेनको धारणामा यस्ता फ्रिज गरिएका अण्डाणुबाट गर्भधारण हुने सम्भावना निकै कम छ ।
शिक्षित महिलाले विवाहलाई निकै कम प्राथमिकता दिने, ढिला पारिवारिक जीवन सुरु गर्ने आदि कारणले उनीहरुको स्तरीय अण्डाणु खेर गइसकेको हुन्छ । उमेर ढल्केपछि वचत गरिने यस्ता अण्डाणुको स्तर खस्किन्छ र अन्ततः त्यस्ता अण्डाणुबाट निषेचन हुन निकै गाह्रो हुने एडम बलेनको धारणा छ ।
उनले भने, ‘त्यसैले क्लिनिकमा पहिलेको तुलनामा अचेल बढी उमेरका महिलाहरु आफ्नो फर्टिलिटीको उपचार गराउन पुग्ने गरेका छन् । यो संख्या दिनदिनै बढ्न थालेको छ ।’
बेलायती विश्वविद्यालयहरुमा २०१५–१६ को एउटा अनुसन्धानले ५६ प्रतिशत महिलाहरु पढिरहेका थिए भने ४४ प्रतिशत पुरुष । प्राध्यापक बलेन सचेत गराउँछन्, ‘धेरैले उमेर घर्किसकेपछि अण्डाणु फ्रिज गराउनु पीडादायी र महँगो प्रक्रिया हुन सक्छ । भविष्यका लागि सुरक्षित भइएला भनेर यसो गर्दा भरे त्यस अण्डाणुले निषेचन गर्न सकेन भने ती महिलाहरुमाथि कस्तो भावनात्मक असर गर्ला, अहिले कसैले पनि सोचेको छैन ।’
‘एकातिर यो प्रविधि राम्रो हुनुपर्छ,’ उनले भने, ‘तर त्यस अण्डाणुबाट बच्चा जन्मन्छ नै भन्ने कुनै सुनिश्चितता गर्दैन । अण्डाणु निकाल्नु पनि एउटा कठिन प्रक्रिया हो र यसमा कैयौँ किसिमको जोखिम हुन्छ ।’
बेलायतमा अण्डाणु फ्रिज गराउने चलन ह्वात्तै बढेको छ तर ती अण्डाणुका माध्यमबाट गर्भधारणा भएका घटना पनि निकै न्यून छन् । २०१४ मा ८१६ महिलाले फ्रिज गराए जुन अघिल्लो वर्षको तुलनामा १३ प्रतिशत बढी हो । पुरुषहरुको भ्रूणको तुलनामा अण्डाणु निकै नाजुक हुन्छन् । तिनलाई लामो समयसम्म सुरक्षित राख्न निकै गाह्रो हुन्छ । फ्रिज गरिएका अण्डाणुबाट २०१३ मा गर्भधारण भएको दर २१.९ प्रतिशत मात्र थियो । २०१४ मा भने २२.२ प्रतिशत रह्यो ।
प्रकाशित: १५ भाद्र २०७४ ०५:२९ बिहीबार