८ वैशाख २०८१ शनिबार
अन्य

सासू–बुहारीको चिया पसल

बर्दिया, बबइकी सरु पाण्डे विवाह हुँदा १७ वर्षकी थिइन् । विवाहपछि उनको नामपछाडि क्षेत्री झुण्डियो । उनी नेपालगन्ज, धम्बोझीस्थित क्षेत्री परिवारकी बुहारी बनिन् । तर, उनको जिन्दगीका पछिल्ला १७ वर्ष विवाहपूर्वका वर्षभन्दा भिन्न रहेनन् । ‘सासूआमाको व्यवहारले मलाई यो घरमा कहिल्यै पनि बुहारी हुँजस्तो लागेन,’ उनी भन्छिन्, ‘यहाँ पनि छोरीको जस्तै माया पाएकी छु ।’
नेपाली समाजमा सासू–बुहारीबीच प्रायः न्यानो सम्बन्ध पाइँदैन । बुहारी बनेर घर भित्रिँदाका सुरुवाती वर्षमा सुमधुर रहने सम्बन्धमा विविध कारणले दरार उत्पन्न हुन्छ । अन्ततः यही सम्बन्ध पारिवारिक विखण्डनको कारण बनिदिन्छ । धम्बोझीकी माया क्षेत्री र उनका दुई बुहारी बीचको सम्बन्ध हेर्दा भने लाग्छ, उनीहरु सासूबुहारी नभई आमाछोरी हुन् ।
सरु भित्रिएको दसकपछि मायाको घरमा दाङ, गौरीगाउँकी गोमा कान्छी बुहारीका रुपमा भित्रिइन् । मगनी गरेर विवाह भएकाले गोमालाई श्रीमान् र नयाँ घर कस्तो होला भन्ने मनमा एक किसिमको डर थियो । तर सात वर्ष अवधिमा उनले सासू र जेठानी दिदीबाट जुन माया पाइन्, त्यो घरको भन्दा कुनै हिसाबले कम छैन । ‘उहाँहरु मेरालागि सासू र जेठानी होइन, आमा र दिदी हो,’ गोमा भन्छिन्, ‘संसारमा यस्तो घर थोरै महिलाले पाउँछन्, त्यसमध्येकी एक भाग्यमानी म हुँ ।’
१२ कक्षा पढ्दै बिहे गरेर आएकी गोमाले सासू र दिदीको प्रेरणाले स्नातकसम्म पढ्न भ्याइन् । गोमाले पढ्न अल्छी गर्दा दुवै सासू बुहारीले सम्झाउँथे । जसरी पनि पढ्न दबाब दिन्थे । ‘चार महिनाको छोरोलाई सासूआमा र जेठानी दिदीको जिम्मा लगाएर परीक्षा दिन माइतीतिर गएँ,’ उनले भनिन्, ‘परीक्षा दिन्नँ भन्दा पनि उहाँहरुले मान्नुभएन ।’ बिहेपछि पढाइ छोडाउने नेपाली पारिवारिक सोचविपरीत यस्तो व्यवहारले आपूmलाई पढ्न ऊर्जा दिएको उनले बताइन् ।

‘दुई दिनको जिन्दगीमा झगडा गर्नु व्यर्थ हो, बाँच्दासम्म मिलेर बसौं, माया साटासाट गरौं ।’
–    माया क्षेत्री (सासू)


सासू–बुहारी बीचको सम्बन्ध कति कसिलो छ भन्ने एउटै उदाहरण उनको संयुक्त परिवार हो । क्षेत्री परिवारको चार पुस्ता अहिले पनि एउटै भान्छामा खाना खान्छ । मायाको परिवारमा सासू–ससुरा, आपूm र श्रीमान्, छोरा–बुहारी र दुई नाति छन् ।
मायालाई लाग्छ– संयुक्त परिवार टुक्रिनुमा सासू–बुहारी बीचको असमझदारी पहिलो कारण हो । बुहारी–बुहारी बीचको सम्बन्धले पनि परिवारमा विखण्डन ल्याउँछ । ‘तर हामीहरु अहिलेसम्म मिलेर बसेका छौँ, एउटै भान्छामा खाना खान्छौँ, झगडा त के सामान्य ठाकठुक पनि भएको छैन,’ बुहारीतिर हेर्दै उनले भनिन्, ‘अब यो कुरा मैले के भन्नू, उतै सोध्नुहोस् ।’
यी तीन सासू–बुहारीको मिलाप देखेर धेरै मान्छे झुक्किन्छन् । धेरैलाई लाग्छ, यिनीहरु दिदी–बहिनी वा आमा–छोरी हुन् । कतिपयले सोध्न भ्याउँछन्, तपाईंहरुको के नाता पर्छ ? ‘हामीहरु घरमा मात्र मिलेर बस्दैनौँ, बाहिर बजारतिर जाँदा पनि सँगसँगै जान्छौँ, धेरैलाई यिनीहरुको नाता के पर्छ भन्ने चासो लाग्दोरहेछ,’ सरुले भनिन्, ‘सधैँ मिलमा भेटिने एक जना बाजेले त केही वर्षअघि हामीबीचको नाता सुन्दा अचम्मले जिब्रो नै टोक्नुभो ।’ ती व्यक्तिले आमा–छोरी भन्ने ठानेको सरुले सुनाइन् ।
सासू–बुहारी र जेठानी–बहिनीको सुमधुर सम्बन्धको प्रभाव घरमा पनि परेको छ । सरुका श्रीमान् सुबोध र गोमाका श्रीमान् सुधीरबीच अझ कसिलो सम्बन्ध छ । उनीहरु दिउँसो आ–आफ्नो धन्दामा व्यस्त हुन्छन् । घरमा भने हरेक काम समझदारीमा गर्छन् । ‘व्यवहारमा केही अलमल भयो भने जेठो छोरा सुबोधले ‘भाइ (सुधीर)ले जे भन्छ, त्यही हुन्छ’ भनिदिन्छ,’ मायाले छोरा बीचको सामीप्य पर्गेल्दै भनिन्, ‘बुहारी असल भएपछि छोरा पनि कसरी बिग्रिऊन् ?’
सम्बन्ध गाढा बन्नुमा मायाले बुहारीलाई जस दिए पनि सम्बन्धको सेतु भने स्वयं माया हुन् । उनले बुहारीलाई मात्र होइन, सिंगो परिवारलाई मायाको मालामा नचुँडिने गरी उनेकी छन् । ‘दुई दिनको जिन्दगीमा झगडा गर्नु व्यर्थ हो,’ सुमधुर सम्बन्धको सूत्र सुनाउँदै उनले भनिन्, ‘बाँच्दासम्म मिलेर बसौँ, माया साटासाट गरौँ ।’

चिया पसल
घरायसी काममा व्यस्त रहँदै आएका तीन सासू–बुहारीले ६ महिनाअघि आफ्नै घरमा चमेनागृह खोलेका छन् । दुई छोरा र श्रीमान्को आम्दानीले घर चलाउन समस्या नभए पनि खाली बस्नुभन्दा केही न केही काम गर्नुपर्छ भन्ने भावनाले चमेना गृह खोलेको उनीहरु बताउँछन् । ‘यसले हामीहरुलाई काममा व्यस्त मात्र गरेको छैन, आम्दानी पनि रामै्र दिएको छ,’ चमेनाको आर्थिक विवरणबारे जानकारी राख्ने गोमाले भनिन्, ‘सानोतिनो जागिरभन्दा त यसले राम्रो आम्दानी दिएको छ ।’
उनका अनुसार चमेनाबाट मासिक सरदर ८०–९० हजार रुपैयाँ आम्दानी हुन्छ । सबै काम आफैं गर्ने भएकाले यो उनीहरुको चोखो कमाइ हो । ‘सानोतिनो जागिरभन्दा त यही राम्रो हो,’ गोमाले भनिन्, ‘घरमा टिभीमा सिरियल हेरेर बित्ने समय उद्यममा बितेको छ, यसले आम्दानी पनि दिएको छ ।’
सरुलाई भने चमेना चलाउँदा एउटा कुरामा सधैँ थकथक लाग्छ– त्यो हो समाजसेवा । उनी चमेना खोल्नुअघि कुनै न कुनै दिन कोही न कोही आफन्तको काममा कहिले अस्पताल त कहिले बजारतिर जान्थिन् । व्यवसायमा व्यस्त भएपछि भने त्यति फुर्सद मिल्दैन । ‘पहिले आफन्त र समाजको लागि स्वयंसेवा गरिन्थ्यो, अरुलाई सहयोग गर्न पाउँदा खुसी पनि लाग्थ्यो,’ उनले भनिन्, ‘व्यवसायमा हात हालेपछि भने त्यो अवसर गुमेको छ ।’

(नागरिक परिवारबाट साभार)

 

प्रकाशित: १५ भाद्र २०७४ ०५:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App