coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

अटो मेलामा छुटैछुट

काठमाडौं- राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो सोमा प्रदान गरिएको छुटले ग्राहकलाई आकर्षित गरेको छ । मेलामा सहभागी विभिन्न ब्रान्डबीच गाडी खरिद गर्ने ग्राहकलाई नगद छुटदेखि विभिन्न सुविधा प्रदान गर्ने होडसमेत चलेको देखिन्छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले मंगलबारबाट आयोजना गरेको मेलामा निम्नानुसार छुट पाउन सकिन्छ।

‘रेनो’मा तीन लाखसम्म छुट

रेनोको नेपालका लागि आधिकारिक विक्रेता एडभान्स अटोमोबाइल्स प्रालिले रेनो गाडी खरिदमा विशेष छुट प्रदान गरिरहेको छ । नाडा अटो सोमा स्क्र्याच कुपनमार्फत ग्राहकलाई न्यूनतम ५० हजारदेखि तीन लाख रुपैयाँसम्मको छुट व्यवस्था गरिएको कम्पनीले जनाएको छ । कम्पनीले रेनोको क्विड मोडलमा ८० हजार र डस्टरमा एक लाख रुपैयाँसम्म इन्धन तथा एक वर्षको रोड ट्याक्ससमेत निःशुल्क प्रदान गरेको छ । डस्टर डिजेलतर्फ आर एक्सएक्स मोडल र पेट्रोलमा अटोमेटिक सेवाको कारसमेत प्रदर्शनीमा राखिएको छ ।

ड्याट्सनमा पाँच लाखसम्मको अफर

पायोनियर मोटोकर्प प्रालिले अटो सोमा ड्याट्सनको नयाँ मोडल ‘रेडिगो वान प्वाइन्ट जेरो’ लन्च गरेको छ । यसको मूल्य १९ लाख ७५ हजार रुपैयाँ छ । अटो सोमा ग्राहकलाई ७५ हजार रुपैयाँ छुट प्रदान गरेको छ । ‘रेडिगो बम्पर पुरस्कार’मार्फत न्यूनतम २५ हजारदेखि पाँच लाख रुपैयाँसम्म जित्ने अवसर पनि ग्राहकले पाउनेछन् । यसमा एक वर्षको बिमा, रोड ट्याक्स, एसेसरिजहरु पनि निःशुल्क प्रदान गरिएको कम्पनीले जनाएको छ ।

निसानमा दुई लाख ५० हजारसम्म छुट

भर्खरै नेपालका लागि निसानको आधिकरिक विक्रेता बनेको पायोनियर मोटोकर्प प्रालिले अटो सोमा एक्स–ट्रेल, माइक्रा एक्टिभ एक्सएल, माइक्रा एक्टिभ एक्सभी, सनी डिजेल, सनी पेट्रोल, नभरा एमटी, नभरा एटीलगायत मोडलका गाडी राखेको छ ।

एक करोड १५ लाख रुपैयाँ मूल्य पर्ने एक्स–ट्रेलको खरिदमा एक वर्षको निःशुल्क रोड ट्याक्स, तीन वर्षसम्म सर्भिस र वारेन्टी प्रदान गरेको छ ।

नेपालमा पहिलोपटक लन्च भएको सनी डिजेलमा दुई लाख ५० हजार रुपैयाँ छुट प्रदान गरिएको छ । यसको मूल्य ४० लाख ९९ हजार रुपैयाँ छ । त्यस्तै, माइक्राको एक्सभी मोडलको मूल्य २६ लाख ९९ हजार रुपैयाँ छ । यसमा दुई लाख रुपैयाँ छुट प्रदान गरिएको छ । माइक्रा एक्सएलको मूल्य २३ लाख ९९ हजार रुपैयाँ छ । लन्चिङ प्राइज भएकाले यसमा छुटको व्यवस्था छैन ।

होन्डामा तीन लाखसम्म छुट

होन्डाको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले अटो सोमा नयाँ मोडल ‘सिभिक’ गाडी लन्च गरेको छ । यसको मूल्य ७५ लाख रुपैयाँ पर्छ । कम्पनीले अटो सोमा तीन लाख रुपैयाँ नगद छुटको व्यवस्था गरेको छ । यसबाहेक होन्डाका ब्रिओ, अमेज, ज्याज, मोबिलिओ, सिटी, बिआरभी, सिआरभीलगायत मोडल पनि अटो सोमा राखिएको छ ।

कियामा छुट र बाइब्याक ग्यारेन्टी

कन्टिनेन्टल ट्रेडिङ प्रालिले किया गाडी खरिदमा पाँच लाख रुपैयाँ छुट प्रदान गरेको छ । कियाको रियो र पिकान्टो मोडलका गाडीमा यो छुट प्रदान गरिएको हो । यी मोडलको गाडीको मूल्य ४१ लाखदेखि ४८ लाख रुपैयाँसम्म पर्छ । यी दुवै मोडलमा पाँच वर्षको बाइब्याक ग्यारेन्टी लागू गरेको छ । पाँच वर्षभित्र गाडी फिर्ता गर्दा खरिद मूल्यको ७५ प्रतिशतसम्म फिर्ता दिइने कम्पनीले जनाएको छ । पाँच वर्षसम्म सम्पूर्ण स्पेयर्स पार्टस् निःशुल्क र एक वर्ष रोड ट्याक्स पनि कम्पनीले प्रदान गरेको छ । साथै, प्रत्येक खरिदकर्तालाई जोडीसहित एक हप्ता मलेसिया र इन्डोनेसिया भ्रमणको अवसर पनि प्रदान गरिएको छ ।

हुन्डाईमा पाँच लाखसम्म छुट 

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नाडा अटो सो लक्षित गर्दै हुन्डाई ब्रान्डको गाडीमा पाँच लाख रुपैयाँसम्म छुट प्रदान गरेको छ । कम्पनीले अटो सोमा हुन्डाइका एक्सेन्ट फेस लिफ्ट भर्सन र इलाइट आइट्वान्टी मोडल सार्वजनिक गरेको छ । एक्सेन्टको मूल्य ३३ लाख ५६ हजार रुपैयाँ र आइट्वान्टीको ३६ लाख ९६ हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ । यसबाहेक हुन्डाई इओएन, ग्रान्ड आई टेन, आइ ट्वान्टी एक्टिभ, क्रेटालगायत मोडलका गाडी प्रदर्शनीमा छन् ।

इयुगिओमा तीन लाख छुट

इयुगिओ ब्रान्डको गाडीमा २००८ क्रस एसयुभी, प्रिमियम सेडन ५०८, ३००८ एसयुभी लगायत मोडल प्रदर्शनीमा राखेको छ । अटो सोमा यी तीनवटै मोडलका गाडी खरिदमा तीन लाख रुपैयाँसम्म छुट प्रदान गरेको छ । सन् २०१५ देखि २०१७ सम्म लगातार ‘इन्जिन अफ दि इयर’ अवार्ड विजेता २००८ मोडल गाडीको मूल्य ७५ लाख रुपैयाँ पर्छ । ५०८ मोडलको ९५ लाख रुपैयाँ छ । सन् २०१७ को ‘कार अफ दि इयर’ अवार्ड विजेता ३००८ एसयुभीको मूल्य एक करोड पाँच लाख र एक करोड १० लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ । यो ब्रान्डको गाडी खरिदमा पाँचपटक निःशुल्क सर्भिसिङ, रोड ट्याक्स र दुई वर्ष वारेन्टीसमेत प्रदान गरिएको छ ।

स्कोडामा दुई लाखसम्म छुट

स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रालिले अटो सोमा ग्राहकलाई एक लाखदेखि दुई लाख रुपैयाँसम्म छुट प्रदान गरेको छ । यसबाहेक निःशुल्क एसेसरिज, रोड ट्याक्स, बिमा र चार वर्षको वारेन्टी ग्राहकले पाउनेछन् । अटो सोमा २५ प्रतिशतसम्म डाउन पेमेन्ट र ६.९९ प्रतिशत ब्याजदरमा फाइनान्सको सुविधासमेत प्रदान गरिएको कम्पनीले जनाएको छ । अटो सोमा कम्पनीले ¥यापिड (पेट्रोल÷डिजेल)मा आठवटा मोडल र न्यू सुपर्ब मोडलका गाडी प्रदर्शनीमा राखेको छ ।

फोर्डमा सात लाखसम्म छुट

फोर्डको आधिकारिक विक्रेता गो अटोमोबाइल्स प्रालिले फोर्ड ब्रान्डको गाडीमा एक लाखदेखि सात लाख रुपैयाँसम्म छुट प्रदान गरेको छ । साथै लक्की ड्रबाट ८० हजारदेखि चार लाख रुपैयाँसम्म प्राप्त गर्ने अवसर पनि प्रदान गरिएको छ । कम्पनीले अटो सोमा ‘मस्ताङ’ मोडलको गाडी प्रदर्शनीमा राखेको छ । फिगो, एसपायर, इको स्पोर्ट, रेन्जर, इन्डिभअरलगायत मोडलका गाडी पनि प्रदर्शनीमा छन् ।

महिन्द्रामा ९५ हजार छुट

अग्नी इन्कर्पोरेटेड प्रालिले महिन्द्रा ब्रान्डको केयुभी र टियुभी मोडलका गाडी खरिदमा ग्राहकलाई ९५ हजार रुपैयाँसम्म नगद छुट प्रदान गरेको छ । साथै ग्राहकले स्क्र्याच कुपनमार्फत न्यूनतम एक तोला सुन तथा स्कुटर, मोटरसाइकल लगायत उपहार प्राप्त गर्न सक्नेछन् । केयुभीका विभिन्न मोडलमा २६ लाख ९५ हजारदेखि ३६ लाख ४५ हजार रुपैयाँसम्मका गाडी उपलब्ध छन् । त्यसैगरी टियुभी मोडलमा ३९ लाख ९५ हजार रुपैयाँसम्मका गाडी छन् । कम्पनीले एक्सयुभी र थार मोडलका गाडी पहिलेकै मूल्यमा बिक्री गरिरहेको जनाएको छ । मेलामा खरिद गर्ने ग्राहकका लागि एक वर्षको रोड ट्याक्स र नामसारी शुल्कसमेत कम्पनीले बेहोर्ने छ ।

टाटाको दसैं अफर

सिप्रदी ट्रेडिङ प्रालिले टाटाका गाडी बिक्रीमा दसैं अफर लागू गरेको छ । कम्पनीले अटो सोमा पनि यही अफरलाई निरन्तरता दिएको छ । टाटाका विभिन्न मोडलका कार खरिदमा एक तोलादेखि १० तोलासम्म सुन प्रदान गरिने कम्पनीले जनाएको छ । उक्त योजना अनुसार टाटाको स्टोम मोडलमा १० तोला, बोल्टमा सात तोला, टियागोमा ६ तोला, जेस्टमा पाँच तोला र टिगोर मोडलको कार खरिदमा एक तोला सुन प्राप्त गर्न सक्छन् । कम्पनीले अटो सोमा खरिद गर्ने ग्राहकलाई उल्लेखित सुनको मूल्य बराबर नगद छुट प्रदान गरिरहेको छ । त्यस्तै, टाटा सुमो खरिदमा ५० हजारसम्म नगद छुट, ५० हजार बराबर एक वर्षको रोड ट्याक्स, ६० हजारको बिमा, ३५ हजार बराबरको एसेसरिज निःशुल्क तथा ६ हजार रुपैयाँ बराबरको इन्धन प्रदान गरिने कम्पनीले जनाएको छ ।

सुजुकीको फेस्टिभ अफर

सिजी मोटोकर्पले सुजुकी गाडीमा ‘पर्वोत्सव डबल मज्जा’ योजना ल्याएको छ । यो योजनाअन्तर्गत सुजुकीका इग्निस गाडी खरिदमा ६ लाख रुपैयाँसम्म छुट प्रदान गरिएको छ । साथै अटो सोमा थप १० हजार रुपैयाँ छुट दिइने कम्पनीले जनाएको छ । कम्पनीले उक्त मोडलका गाडीमा दुई वर्षको बिमा, ५० हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, निःशुल्क रोड ट्याक्स तथा नामसारी र स्क्र्याचमार्फत थप छुटको व्यवस्था रहेको जानकारी दिएको छ ।

साङयोङमा चार लाखसम्म छुट

कोरियन ब्रान्ड साङयोङ गाडीको नेपालका लागि आधिकारिक विक्रेता आइएमएस मोटर्सले अटो सोमा चार लाख रुपैयाँसम्म छुट प्रदान गरेको छ । कम्पनीले एक करोड १९ लाख ९९ हजार रुपैयाँसम्म मूल्य पर्ने रेक्सटन मोडलको गाडीमा चार लाख रुपैयाँ छुट दिएको छ । त्यस्तै, कोरन्डो मोडलमा दुई लाख ५० हजार, एक्टिओन स्पोर्टस् र एक्सएलभी मोडलमा दुई लाख तथा टिभोली मोडलमा एक लाख रुपैयाँ छुट प्रदान गरिएको कम्पनीले जनाएको छ । साथै, पाँच वर्षसम्म ६५ प्रतिशत बाइब्याक ग्यारेन्टी र निःशुल्क सर्भिस ग्राहकले प्राप्त गर्नेछन् ।

भल्क्सवागनमा आठ लाखसम्म छुट

पूजा इन्टरनेसनल नेपाल प्रालिले अटो मेलालाई लक्षित गरी विशेष छुट प्रदान गरेको छ । कम्पनीले भल्क्सवागन ब्रान्डको गाडी खरिदमा आठ लाख रुपैयाँसम्म छुट प्रदान गरेको छ । साथै, ग्राहकले दुई लाख रुपैयाँ बराबरको एक्सचेन्ज बोनससमेत पाउनेछन् । कम्पनीले पोलो, अमिओ, भिन्टो, जेट्ट, पस्सट, टिगुअन, अमरोकलगायत मोडलका गाडी प्रदर्शनीमा राखेको छ । यो ब्रान्डको गाडीको मूल्य मोडल अनुसार फरकफरक रहेको छ । ती मोडलमा २७ लाख ४५ हजार रुपैयाँदेखि एक करोड १७ लाख रुपैयाँसम्म मूल्य पर्ने कम्पनीले जनाएको छ ।

इसुजुमा पाँच लाखसम्म छुट

इसुजु ब्रान्डका गाडीमा पाँच लाख रुपैयाँसम्म छुट प्रदान गरिएको छ । अटो सोमा कम्पनीले भि–क्रस मोडलको गाडीमा पाँच लाख रुपैयाँ छुट दिएको छ । यसको मूल्य ६४ लाख ९९ हजार रुपैयाँ रहेको छ । त्यस्तै, एस–क्याब मोडलको गाडीमा दुई लाख ५० हजार रुपैयाँ छुट प्रदान गरिएको छ । यसको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित: १५ भाद्र २०७४ ०४:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App