काठमाडौं- यस वर्षको पद्मश्री पुरस्कार कविता संग्रह सगरमाथाका गहिराईका लेखक नवराज पराजुलीलाई दिइने भएको छ। खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले संकलित पुस्तकमध्ये पराजुलीको कवितासंग्रहलाई छनौट गरेको हो। पुरस्कार राशि दुई लाख रुपैंयाको रहेको छ।
यसअघि प्रतिष्ठानले जनकराज सापकोटाको कहर, कुमार नगरकोटीको घाटमांडू, राज सरगमको छाउघर, नबिन विभासको रोल्पा सुइना र नवराज पराजुलीको सगरमाथाको गहिराइलाई उत्कृस्ट पाँच कृतिका रुपमा चयन गरेको थियो। ती मध्येबाट पराजुलीको कविता संग्रह छनौट गरिएको हो।
त्यस्तै पद्मश्री साधना सम्मान रोचक घिमिरे र नगेन्द्रराज शर्मालाई संयुक्त रुपमा दिइने भएको प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। लामो समयदेखि साहित्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै शर्मा र घिमिरेलाई सो सम्मानका लागि छनौट गरिएको प्रतिष्ठानले जनाएको छ।
यो सम्मान यसअघि राष्ट्रकवि माधव घिमिरे, आख्यानकार तथा विद्वान मदनमणि दीक्षित, संस्कृतिविद् सत्यमोहन जोशी, आख्यानपुरुष ध्रुवचन्द्र गौतम, कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) र बरिष्ठ साहित्यकार बैरागी काइँलालाई दिइएको थियो। यो सम्मानको राशि पनि दुई लाख रुपैयाँ रहेको छ।
पुरस्कार कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिने प्रतिष्ठानले जनाएको छ।
प्रकाशित: १५ भाद्र २०७४ ०४:१४ बिहीबार