८ वैशाख २०८१ शनिबार
विचार

मोदीको भरोसा जित्नुको अर्थ

भारत भ्रमण सम्पन्न गरेर फर्किंदा प्रधानमन्त्री देउवाले आफ्ना समकक्षीको भरोसा पूरै जितेको विश्वास नेपाली कांग्रेस र सत्ता गठबन्धनलाई दिलाएका छन् । पार्टीभित्रका प्रतिद्वन्द्वीबाट समेत उनको बचाउ भएको छ । कांग्रेस–माओवादी केन्द्र गठबन्धन सरकारका स्तम्भ पुष्पकमल दाहालले पनि भ्रमणलाई सफल ठह¥याएका छन् । देउवाले भारतीय प्रधानमन्त्री मोदीको यसरी भरोसा जित्नुको अर्थ नेपाली राजनीतिमा के–के हुनेछ भविष्यले बताउनेछ । आउँदा दिनहरूमा यो घटनाक्रमको प्रभाव क्रमशः देखिँदै जाने नै छ । यतिखेर देउवालाई भरोसाका निम्ति मोदीप्रति सार्वजनिक रूपमै विश्वसनीय ढंगले आभार प्रकट गर्नु थियो । उनले त्यो दायित्व पनि पूरा गरे । काठमाडाँैमा ओर्लनेबित्तिक्कै दिल्लीमा आफूले संविधान संशोधनका विषयमा दिएको सफाइ र गरेको प्रतिबद्धताप्रतिको अडान उनले दोहो¥याए । उनले नजानेर वा झुक्किएर मोदीलाई साक्षी राख्दै नेपालको संविधान मधेसकेन्द्रित पार्टीहरूको मागबमोजिम संशोधन गर्ने प्रतिबद्धता गरेका थिएनन् । 

प्रधानमन्त्री भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किएको साता नबित्दै भारत दोक्लमबाट फिर्ता भएको छ । यस सन्दर्भमा देउवाले चीन नेपालको असल छिमेकीका रूपमा रहेको कुरा दिल्लीमै उल्लेख गर्नु उपयुक्त ठहरिएको छ ।

चीन र भारतबीच रस्साकस्सी भइरहेका समय देउवा प्रधानमन्त्रीको पद सम्हालेपछि पहिलो भ्रमणमा भारत नै आउनुको खास अर्थ भारतीयहरूले नै लगाएका थिए । त्यसैले देउवाको भारत भ्रमणका सम्बन्धमा छलफल गर्दा उनले यस्तो समय नै किन छनौट गरे ख्याल गर्नु जरुरी हुन्छ । उनको भ्रमणअघि नै चीनको आँकलन थियो, भारतले नेपाललाई आफ्नो पक्षमा लाग्न दबाब दिनेछ । अनि त्यहीताकाका भारतीय सरकारका उच्च पदस्थहरूलाई उद्धृृत गर्दै भारतीय पत्रपत्रिका लेखिरहेका थिए, चीनले नेपाललाई उपलब्ध गराइरहेको ठूलो आर्थिक अनुदानको परिप्रेक्ष्यमा दिल्लीलाई नेपालमा बेइजिङको बढ्दो प्रभावलाई निस्तेज गर्न केही ठूला परियोजनाको घोषणा गर्न दबाब पर्नेछ । भारतीय सञ्चारमाध्यममा दोक्लममा भारत र चीनको रस्साकस्सीमा नेपालले भारतको पक्ष लिनुपर्छ भन्ने आग्रहसमेत देखिएका थिए । त्यही परिप्रेक्ष्यमा प्रधानमन्त्रीको भारत भ्रमणको उपयुक्त अवसर अहिले होइन भन्ने जनमत नेपालमा मुखर भएको थियो । बाढी र डुबानपछि त भ्रमण स्थगित गर्नुपर्छ भन्ने आग्रह पनि गरिएको थियो । प्रधानमन्त्री हुनेबित्तिक्कै भारत जानैपर्ने प्रचलनको निरन्तरता आवश्यक नभएको तर्क पनि निकै उठेको थियो । तर त्यही परिस्थितिमा देउवा भारत गए । वस्तुतः उनको भ्रमण उनको गठबन्धनको राजनीतिक बाध्यता थियो ।

देउवाको भ्रमण भारतको सुरक्षा चासोसँग सम्बन्धित थियो भन्ने विषयमा भारतीय आमसञ्चार माध्यमले प्रशस्त चर्चा गरेका छन् । भ्रमणपश्चात् भारतीय पक्षमा निकै उत्साह देखिन्छ र भारतमा त नेपालले भारतको निधारको पसिना पुछिदियोसम्म भनिँदै छ । यता नेपालमा देउवाले आफूसमाहित गठबन्धनले भारतको भरोसा जितेको सन्देश दिएका छन् । आउने समयमा मधेसकेन्द्रित पार्टीहरूसहित कांग्रेस–माओवादी केन्द्र गठबन्धनले भारतको भरोसा जित्दै जाने अझ बढी प्रयत्न गर्दै जानेछ । प्रधानमन्त्री देउवाको भ्रमणको अर्को उद्देश्य बाह्य जगत्समक्ष भारतका तर्फबाट नेपाललाई नाकाबन्दीकालीन असहज परिस्थिति कायम नगरिएको सन्देश दिनु थियो । यसबीच भारतमै भन्न थालिएको छ संविधान सभाबाट निर्मित नेपालको संविधानका सम्बन्धमा भारतको नकारात्मक दृष्टिकोण मूलतः दुई देशबीच राजनीतिक तहमा संवादको कमीका कारण भएको हो । देउवाको भ्रमणमार्फत भारतले त्यही सन्देश दिन खोजेको भन्ने पनि ठानिएको छ । त्यसैगरी पहिले नेपालसँग दूतावासले मात्र सम्बन्ध राख्थ्यो, अब राजनीतिक तहमा आदानप्रदान हुन थालेको छ भन्ने चर्चा चलेको पाइन्छ । तर भारतलाई साँच्चै त्यस्तै लागेको हो भने यसपटक मोदीले संविधानको खुलेर स्वागत गर्नुपथ्र्याे । तर भारतले त्यो अवसर गुमायो ।

नेपालका सबै प्रधानमन्त्री कार्यकालको सुरुआतमा भारत भ्रमणमा जाने गरेका मात्र छैनन्, सबैले फर्किंदा भ्रमण फलदायी भएको दाबी पनि गर्ने गरेका छन् । हाम्रा सरकार प्रमुखहरूको भारत भ्रमणका क्रममा गरिने सम्झौताहरूको कार्यान्वयनमा भने दुवै पक्ष उदासीन हुने गरेका छन् । एक त भारतसँगका परियोजनाहरू सुरुमै नेपालको हितमा नरहेको चर्चासाथ विवादमा पनि पर्ने गर्छन् । दोस्रो, भारतीय पक्ष पनि ढिलासुस्तीमा अभ्यस्त छ । देउवाका सत्ता साझेदार दाहाल यो भ्रमण खासगरी पुराना सहमति कार्यान्वयनका लागि उपलब्धिमूलक भएको ठानेका छन् । उनका अनुसार त्यसका अतिरिक्त दुई देशबीचका केही अत्यावश्यक विषयमा मात्र कुराकानी भयो । प्रधानमन्त्री देउवा भारतका प्रधानमन्त्री मोदीसँग द्वीपक्षीय हितमा कुराकानी गर्न नयाँ दिल्ली पुगेका हुन् । दुई प्रधानमन्त्रीबीच के–कस्तो वार्ता भयो भन्ने विषयको अड्कल सामान्यतः त्यसपछि जारी हुने संयुक्त वक्तव्य वा सार्वजनिक अभिव्यक्तिका आधारमा गर्ने गरिन्छ । तर आमसञ्चार माध्यमबाट सार्वजनिक भएका भारतीय पक्षको दृष्टिकोणलाई मध्यनजर गर्दा देउवाको भ्रमण यतिखेर मूलतः भारतकै आवश्यकता थियो भन्ने देखिन्छ । यतिखेर उनले मोदीसँग मिलेर जारी गरेको संयुक्त वक्तव्यमा लेखिएका कुराको समीक्षा भइरहेको पनि छैन । सबैलाई लागेको छ, दिल्ली अब निष्कर्षमा पुगिसक्यो देउवाको राजनीतिक मजबुती भारतको हितमा छ ।

संविधान संशोधनका विषयमा देउवाले मोदीसामु त्यसै सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका हुँदै होइनन् । नेपाली कांग्रेसका नेताहरूले उनको बचाउमा बोल्दा संविधानका पक्षमा छिमेकी राष्ट्रको समर्थन जुटाउन उनको अभिव्यक्ति आवश्यक थियो पनि त्यसै भनेका होइनन् । गठबन्धनका साझेदार दाहालले पनि यो विषयलाई उत्तिक्कै महत्व दिँदै भनेका छन्, भारतले नेपालमा स्थानीय तहको चुनाव सम्पन्न भई प्रदेश र केन्द्रको चुनाव गराउन सुरु भएको प्रक्रियालाई समर्थन गर्नु सकारात्मक छ ।

उनको भ्रमणका क्रममा भारतले पहिलेदेखि योजनामा राख्दै आएका केही परियोजनाको घोषणा ग¥यो । तर यसपटक गरिएका घोषणा मूलतः भारतमा आशंका गरिएजस्तो चीनको बढ्दो छापलाई फिक्का बनाउन भारतीय पक्षले केही ठूला घोषणा गर्ने पूर्व आँकलनअनुसारकै छन् । साढे दुई वर्षअघिको भूकम्पको पुनःनिर्माणका लागि गरिएको सहयोगबाट भारतले नेपालमा के विश्वास जित्छ ? भूकम्पलगत्तै छ महिना त्यही भारतले लगाएको कडा नाकाबन्दी नेपालीले भुलेका छैनन् ।

देउवाको भ्रमणका क्रममा पब्लिक डिस्कोर्समा चीनको नाम आएन । उनले अझ अघि बढेर चीनसँग पनि सौहाद्रपूर्ण सम्बन्ध रहेको बताए । दोक्लमका सन्र्दभमा नेपाल कता खडा हुन्छ जस्ता प्रश्न भारतीय सञ्चार माध्यममा निकै उठाइएका थिए । तर उनले दोक्लमको उच्चारण गरेनन् । यसरी हेर्दा उनी तटस्थ भएको देखिन्छ । तर भारतीय सञ्चारमाध्यमहरू उनले सुरक्षा मामिलामा मोदीलाई आश्वस्त तुल्याएको समाचार लेखिरहेका छन् । उनीहरू दोक्लममा भारत र चीनका सेना आमनेसामने भइरहेको यस तनावपूर्ण अवस्थामा नेपाली कांग्रेसका नेता र गठबन्धन सरकारका प्रधानमन्त्री देउवाका तर्फबाट दिइएको आश्वासनको खुब चर्चा गरिरहेका छन् । देउवाले भ्रमणका क्रममा भनेका थिए, भारतविरुद्ध कुनै पनि गतिविधिका लागि नेपालको जमिनको प्रयोग हुन दिनेछैनौँ । भारतीय सञ्चार माध्यमहरूका अनुसार नयाँ दिल्लीलाई निधारमा आएको पसिना पुछ्न उनको आश्वासनले निकै मद्दत पुग्नेछ । देउवाको भ्रमणभन्दा केहीअघि परराष्ट्रमन्त्री कृष्णबहादुर महराले दोक्लमका सन्दर्भमा नेपालले भारत र चीन कुनै पनि देशको समर्थन गर्नेछैन भनेका थिए । उनको भनाइलाई भारतले मन पराएको थिएन । भारतलाई त वन वेल्ट वन रोडको चिनियाँ परियोजनामा नेपालले सहमति जनाएको पनि मन परेको छैन । भारतले त यसलाई नेपालका तर्फबाट भारतको सुरक्षाहितको बेवास्ता गरिएको घटनाका रूपमा बुझेको देखिन्छ ।

त्यसैले नेपालसँग जनाउने भारतको सुरक्षा चासो सीमित छैन । प्रधानमन्त्री देउवा र मोदीबीच भएका सुरक्षा चासोसँग सम्बन्धित वार्ताको परिणाम आउने दिनमा क्रमशः देखिँदै जानेछन् । संविधान संशोधनको विषयलाई दिल्लीमा उठाएर देउवाले नेपालको आन्तरिक मामिलामा भारतलाई तानेका मात्र छैनन्, भारतको इच्छाबमोजिम नेपाल भारतसँग खास रूपमा नजिक हुन चाहन्छ भन्ने समेत देखाउन खोजेका छन् । भारतलाई नेपाल चीन र भारतसँग उत्तिक्कै निकट छ भनेको कहिल्यै मन पर्दैन । भारत नेपालको दुवै छिमेकीसँगको समदूरीको सिद्धान्तलाई परम्परागत ठान्छ । देउवाले खास मौकामा भारत गएर भरोसा जित्ने क्रममा यी विषयमा मोदीसँग कसरी परामर्श गरे आउँदा दिनमा उनका व्यवहारबाट बुझ्न सकिनेछ ।

भारतको सुरक्षा चासोमा मोदीले के भने वा देउवाको जवाफ के रह्यो भन्ने विषय सार्वजनिक भएको छैन । तर सार्वजनिक रूपमा यति बोल्ने देउवा र मोदी मात्रको कुराकानीका क्रममा भारतको सुरक्षा चासोका विषयमा कतिसम्म गहिरो कुरा भए होलान् भन्ने अनुमानसम्म गर्न सकिन्छ । भ्रमणका क्रममा जारी हुने विज्ञप्ति त सार्वजनिक खपतका लागि हुने गर्छन् । तर दुई देशका प्रधानमन्त्रीहरूबीचको कुराकानीका विषय अत्यन्त महत्वपूर्ण हुन्छ । मोदीले भारतको सुरक्षा चासोमा कतिसम्म भन्नेछन् भन्ने विषयमा भारतीय मात्र होइन, चिनियाँ सञ्चार माध्यममा समेत विवेचना गरिएका थिए । वार्तापछि पनि अनौपचारिक माध्यममा भारतीय धारणा मुखरित भयो, भारतको सरक्षा चासोको अर्थ नै चीन हो, दोक्लमका विषयमा कुरा भएकै हुनुपर्छ । तर यस विषयमा हाम्रा प्रधानमन्त्रीले शंकाको सुविधा पाएका छन् । प्रधानमन्त्री भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किएको एक साता नबित्दै भारत दोक्लमबाट फिर्ता भएको छ । यस सन्दर्भमा देउवाले चीन नेपालको असल छिमेकीका रूपमा रहेको कुरा दिल्लीमै उल्लेख गर्नु उपयुक्त ठहरिन गएको छ । दुई महिनाभन्दा केही पहिले चीनलाई पाठ सिकाउन अग्रसर भएको भारत आफ्नो कूटनीतिक सक्रियताबाटै पछाडि हटेको दाबी चीनले गरेको छ । चीनले भारतलाई पुराना सम्झौताहरूका आधारमा तय गरिएका सीमाहरूको सम्मान गर्न कडा पाठ पढाएको दाबीसमेत गरेको छ । भारतबाट उत्साहित भएर फर्किएका प्रधानमन्त्रीले नयाँ नयाँ घटनाक्रमलाई अवश्य पनि गम्भीरतापूर्वक नियालिरहेका छन् ।

प्रकाशित: १५ भाद्र २०७४ ०२:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App