८ वैशाख २०८१ शनिबार
राजनीति

घरदैलोमा राजनीतिक दल

प्रदेश नम्बर २ का आठ जिल्लामा असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि राजनीतिक दल तथा सर्वसाधारण उत्साही देखिएका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्र, राजपा, संघीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक फोरमलगायत दलले मधेसमा मतदाता घरदैलो अभियान थालनी गरिसकेका छन् ।

सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाका गाउँ तथा नगरमा आयोजित कार्यक्रममा दलका नेताहरू सहभागी हुने क्रम तीव्र बन्दै गएको छ । राजपाले स्थानीय तह निर्वाचनमा सहभागी हुने निर्णय गरेसँगै मधेसका विभिन्न ठाउँका जनता उत्साही बनेका हुन् ।

सिरहा बरियारपट्टी–४ तेनुवापट्टीका रामपुकार यादव चुनावपछि गाउँको विकास हुनेमा आशावादी छन् । ‘गाउँमै सिंहदरबार अधिकार आउँछ भन्ने सुनेका छौं । हामी विकासका योजना लागू गर्न आतुर छौं,’ उनी भन्छन् । विकास, रोजगार, अधिकार, निसाफ गाउँमै पाउने भएपछि गाउँले दंग छन्  । ‘अहिले उम्मेदवार घरदैलोमा आएर विकास र रोजगारीको प्रतिबद्धता जनाउँदै मत माग्दैछन्,’ उनी थप्छन्, ‘गाउँ चुनावमय बनेको छ ।’

केही दिनअघि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सिरहा र लहानमा चुनावी प्रशिक्षणमा सहभागी भएका थिए । उनी फेरि केही दिनभित्रै लहान आउने भएका छन् । एमालेले सचिव प्रदीप ज्ञवालीलाई चुनाव अवधिभरका लागि सिरहामा खटाएको छ ।

सिरहामा १७ स्थानीय निकायमध्ये मधेस आन्दोलनको उद्गमस्थल ‘लहान नगरपालिका’ मा बाजी मार्न सम्पूर्ण दलले जितको सूत्र प्रयोगमा जुटेका छन् । यहाँ सबै दलले ‘हेबिवेट’ लाई उम्मेदवार बनाएका छन् ।  एमालेले रामनारायण साह (मुनी ) लाई उम्मेदवार बनाएको छ । उनी दोस्रो संविधानसभा निर्वाचनमा एमाओवादीबाट सिरहा क्षेत्र नम्बर १ संविधानसभा सदस्य उम्मेदवार थिए । त्यस बेला दोस्रो मत प्राप्त गरी उनी कांग्रेस उम्मेदवार पद्मनारायण चौधरीसँग पराजित भएका थिए । उनी २०५४ सालको स्थानीय निर्वाचनमा एमालेबाटै लहानको मेयर भएका थिए ।

माओवादी–केन्द्रले खड्कनारायण चौधरीलाई मेयरको उम्मेदवार बनाएका छन् । उनी मेयर पदका नयाँ अनुहार हुन् । संघीय समाजवादी फोरमले वैद्यनाथ साहलाई उम्मेदवार बनाएको छ । उनी निर्माण व्यवसायी हुन् ।

राप्रपाले लगनलाल चौधरीलाई मेयरमा उम्मेदवार बनाउँदैछ । यसअघि उनी २०४९ सालमा लहानको मेयरमा विजयी भएका थिए । ज्ञानेन्द्रको शाही शासनकालमा उनी जिल्ला विकास समितिको सभापति मनोनीत भएका थिए । कांग्रेसले मेयर उम्मेदवार अझै छान्न सकेको छैन । महेश चौधरी, अचमितलाल चौधरी, रामसुन्दर चौधरी र सुनिल महतो कांग्रेसबाट लहान नगर मेयरका आकांक्षी हुन् । महेश कांग्रेसको नगर सभापति रहिसकेका छन् भने सुनिल वर्तमान नगर सभापति हुन् । अचमित क्षेत्र नम्बर १ को सभापति हुन् भने रामसुन्दर २०५४ मा जिविस उपसभापति भएका थिए । 

सबै तहको उम्मेदवार टुंगो लगाइसकेका दलको चुनावी प्रचार तीव्र  गतिमा अघि बढिरहेको छ । दलका केन्द्रीय नेताले उम्मेदवारसहित मतदाताको घरघर पुगेर आफ्नो पक्षमा मत माग्ने अभियान तीव्र बनाएका छन् । स्थानीय जनप्रतिनिधि चुन्न मतदाताको व्यग्र प्रतीक्षा र उत्साहले सहरभन्दा गाउँ चुनावमय बनेको छ ।

तालमेल कसरत

संघीय समाजवादी फोरम नेपाल र राजपाबीच स्थानीय तहमा  तालमेल कसरतमा जिल्ला नेता–कार्यकर्ता लागेका छन् । सिरहाका स्थानीय तहमा तालमेलका लागि राजपा र फोरमबीच छलफल भइरहेको फोरम स्रोतले जनाएको छ । कांग्रेसले फोरम र राजपासँग चुनावी तालमेलका लागि प्रयास थालेको छ ।

गाढा बन्दै चुनावी रंग

महोत्तरीका गाउँगाउँमा चुनावका तुल, ब्यानर तथा विभिन्न पार्टीका झन्डा फहराउन थालेका छन् । सवारीसाधनमा पार्टीका झन्डा झुन्ड्याएर ओहोरदोहोर गर्नेको संख्या वृद्धि हुँदै गएको छ । 

मतदाता रिझाउन दलले आ–आफ्नै खालका रणनीति अपनाएको देखिन्छ । राजपा, कांग्रेस, एमाले, माओवादी, फोरम लोकतान्त्रिकलगायतका राजनीतिक दलका नेताकार्यकर्ता उम्मेदवार छान्न जिल्ला स्तरीय, क्षेत्रीय, गाउँस्तरीय र वडास्तरीय बैठकमा व्यस्त छन् । 

आकांक्षीको संख्या उच्च रहेकाले सबैलाई चित्त बुझाएर नाम टुंगो लगाउन यहाँका सबै दलमा सकस छ । ६ वटा मधेसवादी दल मिलेर बनेको राजपा नेपाल महोत्तरीमा नै प्रमुख पदका आंकाक्षीको संख्या धेरै छ ।

६ महिने मधेस आन्दोलनका क्रममा सबभन्दा बढी प्रभावित क्षेत्र तथा जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकामा मात्रै राजपा नेपालबाट प्रमुख पदमा ९ जना आकांक्षी छन् ।

राजपाले चुनावमा सहभागी हुने निर्णय गरेपछि सर्वसाधारण पनि उत्साहित देखिएका छन् । चुनावमा कुन दल सफल होला भनेर मतदाताहरु अडकलबाजी गर्न थालेका छन् । दलका कार्यकर्ता पनि जितहारको हिसाबकिताब केलाउन थालेका छन् । 

महोत्तरीका सबै दलहरु चुनावी माहोलमा केन्द्रित छन् । ‘चुनावी रणनीतिसँगै घोषणापत्र तयारीमा जुटिसकेका छौं,’ फोरम नेपालका जिल्ला अध्यक्ष रामनरेश रायले भने, ‘चुनावी परिणाम आफ्नो पक्षमा पार्न सबै सूत्र अपनाउँछौं ।’

महोत्तरीमा राजपा नेपालका उपाध्यक्ष गोविन्द चौधरी उम्मेदवारको अन्तिम नामावली छनौट गर्न कसरतमा छन् । उम्मेदवार छनोटदेखि तालमेलको अवस्था अध्ययनका लागि केही दिनदेखि उनी जिल्लामै सक्रिय रहेको राजपा नेपालका नेता अभिराम शर्माले बताए ।

कांग्रेस, एमाले, माओवादी, मधेसी दललगायतले चुनावी प्रचारलाई महोत्तरीमा तीव्रता दिएका छन् । उम्मेदवारी मनोनयनको कार्यक्रम भदौ २१ मा राखिएको छ ।

भदौ १५ सम्ममा महोत्तरीका अधिकांश दलले उम्मेदवारको अन्तिम नामावली टुंगो लगाइसक्ने बताएका छन् । 

चुनावी सुरक्षाका लागि रणनीतिक योजना तयार पारिसकेको प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले बताए ।

महोत्तरीमा १० नगरपालिका र ५ गाउँपालिका गरी १५ स्थानीय तह छन् । जिल्लाको कुल मतदता संख्या ३ लाख आठ हजार ४ सय चार रहेको जिल्ला निर्वाचन कार्यालयकाी प्रमुख पिंकी रायले बताइन् ।

रायका अनुसार चुनावका लागि प्रमुख निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ भने मतदाता शिक्षा कार्यक्रम पनि अघि बढाइएको छ ।

मत बदर प्रतिशत कम गर्नका लागि जिल्लाका विभिन्न चार ठाउँमा नमुना मतदान कार्यक्रम सञ्चालन गरिसकेको उनले जानकारी दिइन् ।

उम्मेदवार खोज्नै सकस

सप्तरीमा मुख्य दलले उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् । सत्तारूढ माओवादी नेताको खोजीमा छ । मंगलबार माओवादी प्रवेश गरेका अनिस अन्सारी राजविराज नगरपालिकाको मेयरका उम्मेदवार बन्ने लगभग निश्चित छ ।

कांग्रेसभित्र आकांक्षी धेरै रहेका कारण उम्मेदवारको टुंगो लाग्न नसकेको हो । पार्टी निकट स्रोतका अनुसार गोला प्रथामार्फत टिकट छनोट गर्ने प्रस्तावमाथि छलफल सुरु भएको छ । यद्यपि जिल्ला सभापति दिनेशकुमार यादव भने उम्मेदवार छनोट प्रक्रिया अन्तिम चरणमा आइपुगेको दाबी गर्छन् ।

राजपाले पनि उम्मेदवारको टुंगो लगाउन सकेको छैन । सांगठनिक रूपमा सप्तरीमा राजपाको राम्रो पकड देखिन्छ । यद्यपि ६ वटा पार्टी एकीकरण भएर निर्माण भएका कारण एकातिर आकांक्षीको संख्या धेरै छ भने अर्कोतिर अन्तर्घातको सम्भावना पनि त्यत्तिकै रहेको पार्टीकै एक नेता बताउँछन् ।

उम्मेदवार चयन र पार्टीको चुनावी रणनीति तय गर्न केन्द्रीय नेताहरू नरसिंह चौधरी, केशव झा, मृगेन्द्रकुमारसिंह यादव, शेखरकुमार सिंह, शरदसिंह भण्डारीलगायत  निरन्तर बैठक तथा छलफलमा व्यस्त छन् । ‘हामी उम्मेदवारहरुको अन्तिम सूची सार्वजनिक गर्ने तयारीमा छौं’, राजपा सप्तरीका अध्यक्ष सुनिलकुमार झाले बुधबार भने, ‘सम्भवतः भोलि साँझ वा पर्सिसम्म उम्मेदवारको नामावली सार्वजनिक गर्छौं ।’

संघीय समाजवादी फोरम नेपालले सप्तरीका १८ स्थानीय तहमध्ये १५ तहका लागि प्रमुख तथा उपप्रमुखका उम्मेदवार घोषणा गरिसकेको छ । बोदेबर्साइन नगरपालिका तथा रुपनी र बेल्ही चपेना गाउँपालिकामा भने पार्टीले उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।

फोरम नेपालकी उपाध्यक्ष तथा तराईमधेस प्रादेशिक समितिकी अध्यक्ष रेणुकुमारी यादवका छोरा अभिषेक यादव बोदेवर्साइन नगरपालिकाको मेयर पदका आकांक्षी हुन् । त्यहाँ अन्य आकांक्षीसमेत रहेकाका कारण उम्मेदवारको टुंगो लाग्न नसकेको हो ।

एमाले सप्तरीले अधिकांश गाउँपालिका तथा नगरपालिकामा प्रमुखउपप्रमुखको सूची सार्वजनिक गरिसकेको छ । कतिपय उम्मेदवार चुनाव प्रचारमा सक्रिय भइसकेका छन् ।

मिथिलेश यादव/लहान, महेशकुमार दास/महोत्तरी, जितेन्द्रकुमार झा/सप्तरी

प्रकाशित: १५ भाद्र २०७४ ०१:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App