६ वैशाख २०८१ बिहीबार
राजनीति

राप्रपाले सातै प्रदेशमा संयोजक तोक्यो

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रादेशिक र केन्द्रीय चुनावलाई दृष्टिगत गर्दै सातै प्रदेशका लागि संयोजक तोकेको छ। 

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समिति र पदाधिकारीको बैठकले प्रदेश नं १ मा राजेन्द्र लिङ्देन, २ मा गंगाप्रसाद यादव, ३ मा बुद्धिमान तामाङ, ४ मा हेमजङ गुरुङ, ५ मा धबलशम्शेर राणा, ६ मा मुकुन्दश्याम गिरी र ७ मा जयन्त चन्दलाई संयोजकको जिम्मेवारी प्रदान गरेको हो। 

ती संयोजकले सम्बन्धित प्रदेशमा संगठनको वास्तविक अवस्थाको अध्ययन गरी केन्द्रमा प्रतिवेदन पठाउने, केन्द्रसँग समन्वय गरी उम्मेदवार छनोट गर्ने, आवश्यकतानुसार अन्य दलसँग सहकार्य तथा तालमेल गरी अधिकांश स्थानमा पार्टीलाई जिताउन भूमिका निर्वाह गर्नेछन्। 

बैठकले ७५ जिल्लाको सांगठनिक अवस्था र प्रदेश नं २ को स्थानीय तहको निर्वाचनको समीक्षा गर्दै प्रदेश र केन्द्रको चुनावका लागि आवश्यक रणनीति बनाउनेबारेमा छलफल गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए। 

धूम्रबाराहीस्थित केन्द्रीय कार्यलयमा बसेको बैठकले आगामी असोजमा मेची–महाकाली राष्ट्रिय स्वाभिमानी यात्राको आयोजना गर्ने निर्णय गरेको छ । पाँच विकास क्षेत्रमा बृहत् धर्मसभा सम्मेलन र स्थानीय तहका अध्यक्षको सम्मेलन यही महिनाभित्र गर्ने निर्णय पनि गरिएको छ । रासस 

प्रकाशित: १४ भाद्र २०७४ १४:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App