७ वैशाख २०८१ शुक्रबार
राजनीति

माओवादीसँग प्रदेश र केन्द्रको निर्वाचनमा पनि तालमेल हुन्छ :  मन्त्री विश्वकर्मा

इटहरी – वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्माले आफ्नो पार्टीको गठबन्धन भारतीय काँग्रेसको जस्तैं भनेर आलोचना हुने गरेपनि माओवादीसँगको साझेदारले फाइदा पुगेको बताएका छन् । उनले स्थानीय निकायमा जसरी माओवादी केन्द्रसँग गठबन्धन भयो, त्यसरी नै प्रदेश र केन्द्रको निर्वाचनमा पनि तालमेल हुने बताए । 

‘माओवादीले जनयुद्धताका गरेको व्यवहार र त्यसपछि हाम्रै पार्टीका नेताले उनीविरुद्ध जे व्यवहार गरेपनि राजनीतिक आवश्यकताको सिद्धान्त अनुसार तालमेल गर्नु परेको हो,’ सुनसरीको धरानमा बुधबार प्रजातन्त्रवादी प्राध्यापकको भेलामा काँग्रेस केन्द्रीय सदस्य समेत रहेका मन्त्री विश्वकर्माले भने, ‘गठबन्धन चुनाबका निम्ति मात्र हुने छैन् । संविधानको जगेर्ना गर्नाका लागि पनि हुनेछ ।’

उनले नेपाली काँग्रेस बहुमतमा नहुनु र बामपन्थी शक्ति मिल्न नसक्नु अचम्मको पहिचान भएको बताए । ‘हामी बढ्न नसक्नु र बामपन्थी मिल्न नसक्नु अचम्मको पहिचान मुलुकमा छ,’ विश्वकर्माले भने, ‘अहिले परिवर्तनकारी शक्तिको नेतृत्व काँग्रेस र यथास्थितिवादीको नेतृत्व एमालेले गरेको छ।’

उनले मुलुक र काँग्रेसको अवस्था अहिले एउटै भएको टिप्पणी गरे । ‘एकैपटक पाँचवटा सन्तान जन्माउने आमा र काँग्रेसको अवस्था अहिले एउटै भएको छ, यसमा सुधार गर्नुपर्छ,’ उनले भने, ‘काँग्रेसको रोग निको पार्ने कुरुवा र आफन्त जुझारु भएर लाग्नुहोस् ।’

उनले काँग्रेसको अवस्थामा सुधार गर्न उपचार मात्र एक विधि भएको बताए । ‘काँग्रेसलाई मजबुद पार्टी बनाउन पार्टीका आफन्तले सही ढंगले उपचार गर्नुपर्छ,’ उनले भने, ‘२०७२ सालमा संविधान जारी भएपछि मुलुकमा पाँचवटा उपलब्धी प्राप्त भएका छन् । ती उपलब्धीलाई कुनै पनि हालतमा संकटमा पर्न नदिन काँग्रेसका कार्यकर्ताले जोस जाँगर देखाउनुपर्छ ।’ 
मन्त्री विश्वकर्माले मधेसको चुनौती, जनजातिका गुनासा र एमालेको सिंगै चुनौती रहेकाले काँग्रेसका कार्यकर्ताले जोस जागर देखाएर पार्टीलाई जोगाउनुपर्ने बताए।

प्रकाशित: १४ भाद्र २०७४ १४:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App