८ वैशाख २०८१ शनिबार
अन्य

‘हिरोइन खोज्दै थिएँ, झरना पो भेट्टाए’

–अनिल यादव

सुनिलकुमार थापा हिरोइन खोज्दै थिए, झरना थापालाई भेट्टाए तर फिल्ममा लिएनन् । आफ्नै घर लिएर गए । २२ वर्ष भइसक्यो यो जोडी एक भएको । यी दुईको सहकार्य लोभलाग्दो छ । यस जोडीलाई देखेर फिल्म क्षेत्रमा टिप्पणी पनि हुने गर्छ, ‘जोडी होस् त यिनीहरुको जस्तो ।’ नयाँ बानेश्वरस्थित आफ्नै निवासमा यी दुईले नागरिक परिवारसँग आफ्नो जोडीबारे खुलेर कुरा गरे :

निर्माता उज्ज्वल पौडेलसँग मिलेर सुनिल थापाले फिल्म बनाउने तर्खरमा थिए । फिल्मका लागि हिरोइनको खोजी भइरहेको थियो । सुनिल आफ्नो गाडीको नम्बर प्लेट बनाउन बागबजारस्थित ‘श्याम दाइको पेन्टिङ पसल’मा गइरहन्थे । त्यतिबेला झरना पद्मकन्या कलेज पढ्थिन् । बेटी बज्राचार्यको डान्स इन्स्चिट्युटमा डान्स सिक्थिन् अनि सिकाउँथिन् पनि । हिरोइन खोजिरहेका सुनिललाई एकदिन श्याम दाइले सुझाए, ‘ऊ त्यहाँ एक जना दामी बहिनी छिन्, डान्स सिकाउँछिन् । उनलाई लिनुस् न, हिरोइन बन्न लायककी छन् ।’

कस्ती रहिछन् त ? सुनिल उज्ज्वललाई लिएर डान्स इन्स्टिच्युटमा हेर्न पुगे । झरना नाचिरहेकी थिइन् । पहिलो नजरमा झरना सुनिलको मनमा बसिसकेकी थिइन् तर त्यतिबेला उनीहरुको बोलचाल भएन । ‘उज्ज्वल बोलेको थियो, उसले नै भेट्ने समय माग्यो,’ सुनिलले सम्झिए, ‘त्यसको केही दिनपछि झरनाले कलाकार रमा थपलियाको घरमा भेट्न बोलाइन् । हामी गयौंँ । सामान्य चिनजानमै कुराकानी टुंगियो ।’

‘मलाई त उनलाई देख्नासाथ यो केटीसँग फिल्ममा काम गर्नुभन्दा पनि बिहे गर्नु पो ठीकजस्तो लाग्यो । त्यसपछि लगातार पिके क्याम्पस धाउन थालेँ, उनलाई फलो गर्न थालेँ ।’
                                   – सुनिल

फिल्म सेलायो, प्रेम पलायो
त्यसपछि विविध कारणले सुनिलको फिल्म बनाउने कुरा त्यत्तिकै सेलायो । ‘मेरो मनमा उनीप्रति प्रेम पो पलायो !’ झरनातिर हेर्दा सुनिलले रोमान्टिक मुडमा बोले, ‘मलाई त उनलाई देख्नासाथ यो केटीसँग फिल्ममा काम गर्नुभन्दा पनि बिहे गर्नु पो ठीकजस्तो लाग्यो । त्यसपछि लगातार पिके क्याम्पस धाउन थालेँ, उनलाई फलो गर्न थालेँ । उनको सात जना साथीहरुको ग्रुप थियो । सबैलाई गाडीमा घुमाउन लान्थेँ, आइसक्रिम खुवाउँथेँ, तितौरा खुवाउँथेँ । जसरी पनि झरनालाई आफ्नो बनाउनु थियो, बनाएरै छाडेँ ।’  

उता झरना भने सुरुसुरुमा सुनिलको प्रेमप्रति त्यति गम्भीर थिइनन् । ‘मेरै ग्रुपमा रहेको एउटा साथीले उहाँलाई मन पराउँथी,’ झरनाले सुनाइन्, ‘मचाहिँ ऊसँग जोडी मिलाइदिन लागिपरेकी थिएँ । एकदिन मैले साथीहरुकै छेउमा उसलाई फोनमा साथीले तपाईंलाई एकदमै माया गर्छ, तपाईंबिना मर्छु भन्छे’ भन्दै उसको ‘लभ प्रपोज’ राखिदिएँ । त्यति भन्नासाथ उसले त ‘कसैले कसैलाई मन पराएर पाउने भए त म पनि तपाईंलाई माया गर्छु, तपाईंसँग बिहे गर्नु चाहन्छु झरनाजी भन्दै उल्टै मलाई पो प्रस्ताव गर्नुभयो ! म त अकमक्क भएँ । बोल्नलाई कुनै शब्द भएन अनि ढ्याक्क फोन राखिदिएँ ।’

त्यसपछि उनलाई साथीहरुले के भयो ? भनेर सोधेछन् । ‘फोनै राखिदियो यार’ भन्दै उनले झुट बोलिन् । ‘पछि उहाँलाई मन पराउने साथी नभएका बेला मैले उल्टै मलाई प्रपोज गरे भनी साथीहरुलाई सुनाएँ,’ झरनाले भनिन्, ‘सबैले उल्टै भने– तँलाई नै मन पराउँछ भनेर पहिल्यै भन्या हैन ! हुन्छ भन्, केटासँग घरसर, गाडी, बिजनेस सबै छ । तिमीलाई फिट हुन्छ भन्दै उल्टै उकास्न पो थाले !’ एकपल्ट झरना र उनका साथीहरु मिलेर सुनिल र साथीलाई न्युरोडमा एक्लै पनि छाडिदिएछन् । ‘हामी गाडीबाट ओर्लिएर दुई जना मात्र कुरा गरुन् भनेर छोडिदिएका थियौँ,’ झरनाले पुराना दिन सम्झिइन्, ‘तर पनि उनीहरु नजिक भएनछन् । सायद मसँगै हुनु जुरेको थियो होला !’
 
पिकेमा हिट ‘नीलो गाडी’
सुनिल झरनालाई भेट्न मात्रै पिके क्याम्पस पुग्दैनथिए, उनलाई दिनहुँ बिहान घरबाट ‘पिकअप’ गर्ने र साँझ ‘ड्रप’ गर्न पनि थालिसकेका थिए । ‘उहाँको नीलो गाडी पिकेमा हिट थियो,’ झरना सम्झिन्छन्, ‘मेरा साथीहरु गाडी देख्नासाथ ‘ऊ आयो नीलो गाडी’ भन्दै जिस्काउन थालिहाल्थे, म भने लाजलै भुतुक्कै !’

बिहे किन चाँडो ?
सुनिल र झरनाको भेट २०५२ सालको वैशाखमा भएको थियो । भेट भएको दुई महिनापछि अर्थात् असारमा बिहे भइहाल्यो । त्यो पनि मागी होइन, भागी बिहे । किन यति चाँडो भयो ? ‘एक त कान्छो भाइको बिहे भइसकेकाले मलाई पनि घरबाट प्रेसर थियो, उता उसको परिवारमा धेरैजना आर्मी भएकाले आर्मीसँग बिहे गर्ने तयारी भइरहेको थियो,’ सुनिलले चाँडो बिहे गर्नुको कारण सुनाए, ‘अरुसँग बिहे गर्छ भन्ने डरले मैले पनि भगाइहालेँ । सुरुमा घरमा माग्न पनि गएँ, सरसल्लाह गरौँला भन्नुभयो तर रेस्पोन्स नआएपछि भगाएर बिहे गरेँ ।’
थापा हुनुअघि झरना राजभण्डारी थिइन् । उनीहरुको अन्तर्जातीय बिहे हो । ‘एक त जात मिल्दैनथ्यो, अर्को मेरो परिवारमा सबै आर्मी भएकाले मलाई आर्मीसँग नै बिहे गराउने तयारीमा थिए, त्यसैले भागेर बिहे गर्नुपरेको थियो,’ झरनाले सुनाइन् ।

२० लाखको सपिङ
सुनिल त झरनालाई आफ्नो बनाउन निरन्तर प्रयासमा थिए तर झरना कहिलेबाट उनीसँग प्रभावित भइन् ? ‘उहाँको बानी एकदमै राम्रो थियो । घरमा परिवारसँग भेट्टाउन लानुहुन्थ्यो । कहिल्यै नराम्रो नजरले हेर्नु हुँदैनथ्यो, छुनु हुँदैनथ्यो,’ झरनाले भनिन्, ‘त्यसैले म प्रभावित भइसकेकी थिएँ । पछि उहाँले सिरियस्ली प्रस्ताव राखेपछि मैले ‘हुन्छ, घरमा माग्न आउनुस्, अर्कोसँग कुरा भइरहेको छ’ भनेँ । उहाँ आउनु पनि भयो तर नहुने भएपछि म आफैँ उहाँसँग भागेँ ।’
उनीहरुको बिहे हुँदा झरना १६ वर्ष र सुनिल २१ वर्षका थिए । ‘मेरो आइए प्रथम वर्षको परीक्षा असार २५ गते थियो, परीक्षा दिइसकेपछि त्यही दिन भाग्ने प्लान बन्यो,’ झरनाले भनिन्, ‘उता मेरो घरमा कसैलाई थाहा थिएन । उहाँ मलाई यति प्रेम गर्नुहुन्थ्यो कि बिहे हुनुभन्दा अघि नै बिहेका लागि २० लाखको सपिङ गरिदिनुभएको थियो ।’ त्यसपछि सुनिलले थपे, ‘उसको एक्जाम सकिएपछि मैले आन्टीको घर (बानेश्वर)मा लगेँ । बिहेको सबै तयारी भइसकेको थियो । त्यही दिन गुहेश्वरी मन्दिरमा बिहे गरिहालियो ।’
बिहेको चार महिनासम्म झरनाको घरबाट उनीहरुलाई निम्तो भएन । झरनालाई ममीको याद आयो होला भनेर सुनिल स्वयंले एकदिन गाडीमा उनलाई घर लिएर गए । ‘म बाहिर गाडीमै बसेँ, उनी भित्र गइन्,’ सुनिलले भने, ‘भित्र गएपछि सबैले मलाई सोधेछन् । पछि गाडीमै लिन आए । त्यसपछि टीकाटालो भयो । त्यतिबेला दसैँ आउन ६–७ दिन बाँकी थियो । दसैँमा पनि गइयो । सुसरालीसँग नजिक भइयो । कुरा मिलिहाल्यो ।’

बिहेपछि हिरोइन
जतिबेला झरना–सुनिलको बिहे भएको थियो त्यतिबेला ठूला घरानाका मान्छे आफ्ना सन्तानलाई कलाकार बनाउन खोज्दैन थिए । यसलाई पेशाका रुपमा लिइँदैनथियो । त्यस्तो अवस्थामा झरना बिहेपछि हिरोइन भइन् ।
झरनाको खास घर दाङ हो । एसएसलीसम्म त उनलाई उनको ममीले नाच्न पनि दिनुहुन्न थियोे । राजधानी आएपछि उनले ममीलाई थाहै नदिई आर्ट्सअन्तर्गत डान्स विषय रोजिन् । यता सुनिलले पनि बिहे गर्नुअघि झरनालाई फिल्म खेल्न नदिने सर्त राखेका थिए तर बिहेपछि उनैको सहयोगले झरना हिरोइन भइन्– त्यो पनि व्यस्त हिरोइन । ‘त्यतिबेला म रेस्टुराँको व्यवसाय गर्थें, फिल्म त हेर्दैहेर्दिन थिएँ,’ सुनिलले भने, ‘साथी उज्ज्वलको संगतले फिल्म बनाउने मुडमा पुग्दा झरनासँग भेट भएको थियो । झरनाले मसँग भेट हुनुअघि नै दयाराम दाहालको ‘दाइजो’ फिल्ममा सानो रोल गरिसकेकी रहिछन् । बीचमा सुटिङ ब्रेक भएको रहेछ । पछि दयारामजी रोकिएको सुटिङ सुरु गर्न घरमै कुरा गर्न आउनुभयो । मैले झरनाको कारण फिल्म किन स्टप हुन दिने भनेर हुन्छ भनिदिएँ ।’

सुनिल निर्माता, झरना हिरोइन
बिहेको दुई वर्षपछि त सुनिलले नै फिल्म बनाए– ‘धर्मसंकट’ । फिल्ममा राजेश हमाल, गौरी मल्ल, शिव श्रेष्ठ, रमेश उप्रेती, विपना थापालगायत कलाकार पक्का भए । जल शाहलाई पनि खेलाउने कुरा थियो । समय नमिलेपछि एउटा गीत र तीन सिनका लागि अर्को हिरोइन चाहियो । नजरमा कोही परिरहेको थिएन । यत्तिकैमा नृत्य निर्देशक वसन्त श्रेष्ठले सुनिललाई सुझाए, ‘झरना ट्यालेन्ट पनि छ, नाच्न पनि जान्दछे । उसैलाई खेलाऊ ।’

‘मलाई उहाँले सधैँ राम्रो फिल्म गर्न सुझाव दिइरहनुभयो । तैँले छोटो लुगा किन लगाएको ? सुटिङबाट राति किन ढिलो आएको भनेर कहिल्यै गाली गर्नुभएन । मैले पनि उहाँलाई आफ्नो कामबाट निरुत्साहित नहुन सधैँ हौसला दिइरहेँ । श्रीमान–श्रीमतीमा यति भएपछि अरु के चाहियो ?’

– झरना

सुनिलले पुरानो रोकिएको फिल्ममा काम गर्न स्वीकृति दिए पनि झरनालाई निरन्तर फिल्म गराउनेबारे सोचेका थिएनन् तर उनी तयार भए । नभन्दै झरनाले नाचेको ‘मलाई नेपाली माया चाहिन्छ’ गीत असाध्यै हिट भयो । त्यसपछि सुनिलले आफ्नो अर्को फिल्म ‘गोर्खाली’मा झरनालाई एकल हिरोइनका रुपमा डेब्यु गराए । त्यो पनि सुपरहिट । ‘त्यसपछि त उसले मार्केटमा हिरोइनको छाप छोडिहाल्यो नि,’ सुनिलले भने, ‘घरबाहिरको फिल्मचाहिँ नखेल्ने भन्ने कुरा थियो तर साथी उज्ज्वलले ‘जीवनसाथी’का लागि प्रस्ताव गर्यो । ओके गरियो । त्यो पनि हिट भयो ।’ त्यसपछि रिलिज भएका झरनाका ‘ए मेरो हजुर’, ‘हामी तीन भाइ’, ‘सुखदुःख’, ‘मुग्लान’ लगायत थुप्रै फिल्म लगातार हिट भए । फिल्म इन्डस्ट्री झरनाले लोकप्रिय हिरोइनको छाप बनाइन् भने सुनिलले सफल निर्माताको । दुवैको सहकार्य अहिलेसम्म जारी छ । सुनिलकै पहलमा झरना अहिले अभिनेत्रीबाट निर्देशक बनेकी छन् । सुनिलको निर्माण र झरनाको निर्देशनमा तयार भएको ‘ए मेरो हजुर २’ अहिले प्रदर्शनको क्रममा छ । ‘केही वर्षअघिसम्म साथीहरु मलाई तेरी बूढी अरुसँग नाचेको देख्दा ईष्र्या लाग्दैन भन्दै जिस्काउँथे,’ सुनिल भन्छन्, ‘म उनीहरुलाई फिल्म बन्ने प्रक्रियाबारे सम्झाउँथे । खासमा झरना र मेरो यहाँसम्मको यात्रा सहकार्य भएरै आइपुगेको हो ।’ सुनिलले यसो भनिरहँदा झरनाले उनको कुरामा सहमति जनाउँदै थपिन्, ‘मलाई उहाँले सधैँ राम्रो फिल्म गर्न सुझाव दिइरहनुभयो । तैँले छोटो लुगा किन लगाएको ? सुटिङबाट राति किन ढिलो आएको भनेर कहिल्यै गाली गर्नुभएन । मैले पनि उहाँलाई आफ्नो कामबाट निरुत्साहित नहुन सधैँ हौसला दिइरहेँ । श्रीमान–श्रीमतीमा यति भएपछि अरु के चाहियो ?’

केयरिङ सुनिल, बुझ्झकी झरना
सुनिल र झरनालाई एक–अर्काको मनपर्ने बानीबारे सोध्दा सुरुमा दुवैले एक–अर्काले हेरे । त्यसपछि झरना बोल्न थालिन्, ‘एकदमै लभिङ र केयरिङ हुनुहुन्छ । घरको सरसफाईदेखि हरेक व्यवहारमा अघि बढ्नुहुन्छ, एकदमै जिम्मेवार हुनुहुन्छ । सधैँ हौसला दिइरहनुहुन्छ । प्रेम पनि अन्डस्टेन्डिङ वाला गर्नुहुन्छ जसले मलाई लोभ्याउँछ ।’ अनि सुनिललाई चाहिँ झरनाको के कुराले प्रभावित गर्छ त ? ‘एकदम सरल स्वभाव छ, बुझ्झकी छन् । हिरोइन भए पनि घरव्यवहार चलाउँछिन्, चुलाचौका गर्छिन् । परिवारमा सबैलाई प्रेम गर्छिन् । यति भएपछि त भइगो नि ।’
त्यसो त उनीहरुबीच कहिलेकाहीँ झगडा नपर्ने पनि होइन । ‘उहाँलाई एकदमै धेरै सरसफाई र सजिसजावट चाहिन्छ,’ झरनाले भनिन्, ‘कहीँकतै थोरै फोहोर अथवा केही नमिलेको पाउनुभयो भने रिसाइहाल्नुहुन्छ अनि झगडा भइहाल्छ । त्यो बानी त राम्रै होला तैपनि कहिलेकाहीँ अलि बढी नै सफा खोजेको हो कि जस्तो लाग्छ ।’ उता सुनिलले आफूलाई झरनाको सामान लथालिङ्ग छाड्ने र केयरलेस गर्ने बानी मन नपर्ने बताए ।

समझदारी र विश्वास महत्वपूर्ण
२२ वर्षदेखि सहयात्रा गरिरहेको यस जोडीको एउटा १९ वर्षीया छोरी छन्, जो हाल अमेरिकामा अध्ययनरत छिन् । यस जोडीको अनुभवमा सम्बन्धलाई बलियो बनाउने सबैभन्दा ठूलो हतियार भनेको एर्काबीच समझदारी र विश्वास नै हो । ‘एकअर्कालाई बुझ्नुपर्छ, साथसाथ हिँड्न सक्नुपर्छ, अनि सम्बन्ध राम्रो हुन्छ,’ सुनिलले भने । ‘सायद हामी सफल हुनुको कारण पनि यही हो,’ सुनिलकै कुरामा झरनाले थपिन् ।
कुराकानीको अन्त्यमा झरनाले अन्य जोडीहरुलाई सुझाव पनि दिइन्, ‘एकअर्कामा ‘कम्प्रोमाइज’ पनि गर्न सक्नुपर्छ । एकअर्काको नराम्रो बानी र कमी–कमजोरीलाई पनि माया गर्न जान्नुपर्छ, माफी दिन सक्नुपर्छ अनि मात्र सम्बन्ध टिकिरहन्छ ।’

तस्विर : रुकेश श्रेष्ठ

(नागरिक परिवारबाट साभार)

प्रकाशित: १४ भाद्र २०७४ ०७:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App