coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

अघिल्लोको नक्कल होइन ‘छक्का पञ्जा २’

काठमाडौं– झन्डै एक महिनापछि सार्वजनिक हुने फिल्म ‘छक्का पञ्जा २’को गीत ‘नाइलनको साडी’ सुरुमै विवादित भयो । यो गीतबाट खास गरी संगीतकार अल्मोडा राना उप्रेती र निर्माता तथा कलाकार दीपकराज गिरी विवादमा तानिए । संगीतकार अल्मोडाले गीतको वास्तविक संगीतकारको नाम नदिँदा विवाद भयो भने दीपकमाथि गीतलाई परिमार्जन गरेको आरोप लाग्यो।

यही पृष्ठभूमिमा फिल्मको दोस्रो गीत ‘झ्याम्म झ्याम्म’सोमबार सार्वजनिक गर्दा निर्माता दीपकले गीतबारे स्पष्टीकरण दिँदै भने, ‘नाइलनको साडीमा गीत सार्वजनिक भएपछि निकै आरोप खेप्नु प¥यो तर यो नयाँ गीत झ्याम्म झ्याम्म भने विशुद्ध छ, न संगीत चोरिएको छ न त गीत नै,’ दीपकराजले भने, ‘छक्का पञ्जा दोस्रोको कथा पनि अघिल्लोको भन्दा पूर्णतः फरक छ । गीतहरू पनि आफ्नै किसिमका छन् । यो फिल्म अघिल्लोको नक्कल होइन ।’ दीपकले गीत मौलिक भएको दाबी गरिरहँदा सामाजिक सञ्जालमा गीतको केही भाग फिल्म ‘देबरबाबु’ सँग मिलेको चर्चा व्याप्त छ ।

गीतका गायक हरिवंश आचार्यले फिल्म रेकर्ड गर्दाको अनुभव सुनाए । ‘उत्तम सञ्जेलले निकै राम्रो गीत लेख्नुभएको थियो । गीत राम्रो लागेपछि यो गीतमा काम गर्नका लागि मैले नायिका प्रियंका कार्कीलाई प्रस्ताव गरेँ,’ हरिवंशले सम्झे, ‘प्रियंका लन्डन गएर फर्किएपछि गीतको काम गर्ने योजना थियो । तर, उनी नेपाल नआइपुग्दै यो गीत ‘छक्का पञ्जा २’ फिल्मका लागि फाइनल भयो । तर, संयोग फिल्ममा पनि यो गीत गाउँदै प्रियंका नै नाचिन् ।’

निर्देशक दीपाश्री निरौलाले फिल्ममा दुई गीत रहेको जनाउँदै ‘नाइलनको साडी’मा जस्तै नयाँ गीतलाई पनि दर्शकले रुचाउने बताइन् । ‘यो फिल्मको संगीत र शब्द पनि अलिक फरक छ,’ दीपाश्रीले भनिन्, ‘लगातार पाँच दिन पानी झरी केही नभनी गीतको सुटिङ गर्दा निकै दुःख पाइयो ।’

अभिनेत्री प्रियंकाले छायांकनका बेला दुःख पाएको स्मरण गर्दै गीत हेर्दा ती सबै मेहनत बिर्सिएको बताइन् । ‘झरी नभनीकन निकै कष्ट सहेर गीत खिच्यौं । अहिले गीत हेर्दा म त हेरेको हेरेकै भएँ,’ प्रियंकाले भनिन् ।

सार्वजनिक भएको उक्त गीतमा हरिवंश आचार्य र आस्था राउतको स्वर छ भने उत्तमको शब्द र किरण कँडेलको संगीत छ । गीतमा अतिथि कलाकारका रूपमा विल्सनविक्रम राईले नृत्य गरेका छन् भने प्रियंका कार्की, दीपकराज गिरी र बुद्धि तामाङलाई पनि देख्न सकिन्छ । गीतमा कविराज गहतराजको कोरियोग्राफी र पुरुषोत्तम प्रधानको छायांकन छ । आगामी असोज ११ गते फूलपातीको दिन रिलिज हुने फिल्ममा दीपकराज गिरी, प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, केदार घिमिरे, जितु नेपाल र स्वरूपपुरुष ढकालको अभिनय छ । विकास आचार्य कार्यकारी निर्माता रहेको फिल्मको कथा विकास आचार्य र सामीप्यराज तिमल्सेनाको हो । फिल्मको पटकथा दीपकराज गिरीले अभिमन्यू निरवी, जितु नेपाल र केदार घिमिरेसँग मिलेर लेखेका हुन् । फिल्ममा दीर्घ गुरुङको छायांकन रहेको छ ।

प्रकाशित: १४ भाद्र २०७४ ०६:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App