८ वैशाख २०८१ शनिबार
अर्थ

जिएसटीको प्रभाव: छोटी भन्सारबाट चोरी तस्करी बढ्यो

झापा- भारत सरकारले वस्तु तथा सेवा कर (जिएसटी) लागू गरेलगत्तैदेखि व्यापारीले कर छल्न थालेपछि प्रमुख भन्सार नाकाको राजस्व असुली दर घटेको छ । जिएसटी लागू नभएसम्म  काँकडभिट्टा नाकाबाट सधैं उच्च दरमा भइरहेको आयात जुलाई १ यता स्वाट्टै घटेको छ  । यसले भन्सारको आम्दानीमा धक्का लागेको छ ।

जुलाई १ देखि भारतमा जिएसटी लागू भएको हो । राजस्व छल्ने सवालमा नेपाल र भारतका व्यापारीको स्वार्थ मिलेपछि मुख्य नाकाबाट आयात घटेको हो । चोरबाटोबाट हुने आयात चाहिँ बढिरहेको छ । मेची भन्सार स्रोतका अनुसार अहिले अवैध बाटोबाट मालसामान छिराउने धन्दा फेरि मौलाएको छ । पूर्वका विभिन्न नाकाबाट अवैध आयात बढेको व्यापारी नै बताउँछन् ।

जिएसटी लागू भएपछि  भारतीय बजारबाट पूर्वी नाका हुँदै नेपाल आयात हुने मालसामानको परिमाण  पहिलेको तुलनामा निकै  कम भएको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ । उक्त कार्यालय मातहत रहेको भद्रपुरस्थित छोटी भन्सारका प्रमुख  गणपति कँडेलका  अनुसार जिएसटीले आयात पूरै प्रभावित भएको छ ।

भन्सार अधिकारीहरु  सार्वजनिक रुपमा भने राजस्व छली बढेको स्वीकार गर्दैनन् । कँडेलका अनुसार  नयाँ कर प्रणालीले उत्पन्न गरेको अन्योल तथा नेपालतिर आयात भइरहेका वस्तुमा थपिएको करको मात्राले आयातकर्ता हच्किएका छन् । नेपाली पक्षले पनि आयात तथा निर्यातकर्तालाई एक्जिम कोड अनिवार्य गरेको छ । दुवै पक्षको नयाँ प्रावधानले व्यापारमा प्रारम्भिक असर देखापरेको उनको भनाइ छ ।

तर, बजारमा भन्सार अधिकारीहरुको दाबी गलत साबित हुने गरी  कारोबार भइरहेको छ । व्यापारीका अनुसार जिएसटी लागू नहुँदासम्म ‘अर्डर गरेको’ सामान साताभित्र आइपुग्थ्यो । अचेल त्योभन्दा छिटो आफ्नो हातमा पर्ने उनीहरुको भनाइ छ । ‘जिएसटी लागू भएपछि आयातकर्ताले राजस्व छल्न अवैध बाटोबाट कारोबार थालेका छन्,’ भद्रपुरकै एक कपडा व्यवसायीले भने, ‘यसमा भारतीय व्यापारीको पनि साथ छ ।’ उनका अनुसार जिएसटीमा आवद्ध हुँदा भारतका व्यापारीको सम्पूर्ण कारोबार पारदर्शी हुन पुग्छ । त्यसैले कर छल्न उनीहरुले पनि अवैध बाटो समातेका छन् । यसमा नेपाल र भारतका व्यापारीको स्वार्थ मिलेको छ ।

व्यापारीका अनुसार भारतबाट हुने आयात दर अहिले पनि उच्च छ । अझ ठूला चाडपर्व नजिकै आएका कारण यो सिजन नै भारतबाट हरेक वस्तुको आयात बढ्ने बेला हो । तर, मेची भन्सारको तथ्यांकले यस्तो चित्र देखाउँदैन । जिएसटी लागू भएपछि आयात ओरालो लागेको तथ्यांक भन्सारमा छ । यसले उसको राजस्व असुली दर पनि घटेको छ ।

मेची भन्सार कार्यालय, काँकडभिट्टाको साउन महिनाको राजस्व असुली दर हेरेमात्रै पनि यो तथ्य प्रमाणित हुन्छ । हरेक महिना लक्ष्यभन्दा धेरै बढी राजस्व संकलन गर्दै आएको मेची भन्सारले आर्थिक वर्ष ०७४÷७५ को पहिलो महिना साउनमा भने  लक्ष्य नै पूरा गर्न सकेन ।  कार्यालयले साउनमा ६४ करोड ४६ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको  थियो । तर,  ५६ करोड रुपैयाँ मात्रै असुली गर्न सक्यो ।

आयातकर्ता व्यापारीले मुख्य नाकाबाट भन्दा छोटी भन्सारबाट कारोबार बढाएको भन्सारको दाबी पनि झापाको हकमा भने लागू भएको छैन । किनभने, झापाका विभिन्न छोटी भन्सारमध्ये सधैं सबैभन्दा धेरै कारोबार गर्ने भद्रपुर छोटी भन्सारमा पनि साउन महिनाभर आयात पूरै घटेको छ । ‘असारको तुलनामा साउनमा आयात पूरै घटेको थियो,’ छोटी भन्सार प्रमुख कँडेलले भने, ‘साउनमा बाढीका कारण आयात घटेको हुन सक्छ । त्यसबाहेक जिएसटीले पनि भारतीय व्यापारीले प्रक्रिया पूरा गरेर पठाउन नचाहेका हुन सक्छन् ।’

उनकै भनाइले पनि अवैध आयात बढेको प्रस्ट संकेत गर्छ । भारतीय व्यापारीले प्रक्रिया मिचेर पठाउने सामान नेपालमा पनि प्रक्रिया मिचेरै भित्रिने निश्चित छ । किनभने, आयात–निर्यात कोड लिएकाले वैधानिक रुपमा ल्याएको सामान मात्रै भन्सार प्रक्रियामा जाने गरेको छ ।

भारतीय व्यापारी जिएसटी प्रक्रियाबाट भाग्न खोज्ने, नेपाली व्यापारी सकेसम्म नाका छलेर सामान भिœयाउन खोज्ने भएपछि नाकाका मुख्य भन्सार कार्यालयको राजस्व असुली दर प्रभावित हुने खतरा बढेको छ । मेची भन्सार कार्यालयलाई भन्सार विभागले चालु आर्थिक वर्ष ०७४÷७५ का लागि नौ अर्ब २० करोड रुपैयाँ वार्षिक लक्ष्य दिएको छ । विभागले बढी लक्ष्य दिएको, भारत सरकारले वस्तु तथा बिक्री कर (जिएसटी) लागू गरेका कारण राजस्व संकलनमा शुरुमै समस्या देखिएको भन्सार कार्यालयको भनाइ छ ।

मेची भन्सारमा सामान्यतः  दैनिक कम्तीमा डेढ करोड रुपैयाँ राजस्व संकलन हुने गरेको थियो । यसमा आयात र निर्यात दुवैबाट प्राप्त हुने राजस्व जोडिएको हुन्छ । तर, जिएसटी लागू भएपछि आयात घटेको छ । निर्यात पनि बाध्यताका कारण मात्रै भइरहेको छ । खासगरी अदुवाको निर्यातमा पाँच प्रतिशत कर लाग्न थालेपछि निर्यातकर्ताहरु घाटा भइरहेको बताइरहेका छन् ।

जिएसटी लागू भएपछि  ठूला आयातकर्ता मात्रै होइन, साइकल वा बाइकमा सामान ओसार्ने अनि सस्तो मूल्य देखाएर थोरै भन्सार तिर्नेहरु पनि अवैध कारोबारतिरै धकेलिएका छन् । ‘सीमावर्ती पानीट्यांकी बजारबाट दैनिक डेढ सयभन्दा बढी साइकल त्यत्तिकै संख्यामा मोटरसाइकलमा व्यवसायीले मालसामान ल्याउने गर्थे,’ नाकामा चेकजाँचका लागि खटिएका एक भन्सार कर्मचारीले भने, ‘अहिले त्यो क्रम निक्कै घटेको छ, साइकल र मोटरसाइकलमा आयात गरिने मालसामान नाकाबाट आउन ठप्प छ । चोरबाटोबाट गइरहेको छ ।’

 

प्रकाशित: १४ भाद्र २०७४ ०४:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App