५ वैशाख २०८१ बुधबार
समाज

तीन महिनामै भत्कियो सेना निर्मित संरचना

चिमडी (सुनसरी)- तीन करोड ६६ लाख रुपैयाँमा तीन महिनाअघि नेपाली सेनाले संरक्षण र विकाससम्बन्धी काम गरेको चिमडीको ‘बर्जु’ ताल भत्किएको छ । सेनाले करिब साढे १८ करोड रुपैयाँमा निर्माण गरेका ११ वटामध्येको यो एउटा ताल हो।

तत्कालीन वनमन्त्री शंकर भण्डारीले वैशाख १७ गते सेनाकै हेलिकोप्टरमा गएर यसको उद्घाटन गरेका थिए ।

सेनाले विगत तीन वर्षमा राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिको १८ करोड ५० लाख रुपैयाँमा ११ वटा तालको संरक्षण र विकासका काम गरेको छ । भूमाफियाले दर्ता गर्न खोजेका यस्ता पुराना ताल र सिमसार क्षेत्रको संरक्षण गरिएको हो।

यीमध्ये केही तालमा राम्रो काम भए तापनि केहीमा कमजोर काम गरेको पाइएको छ । कतिपय काम अधुरै छ । पछिल्लो समयमा सेनाले ‘फास्ट ट्र्याक’ निर्माणको जिम्मेवारी पनि पाएको छ ।

स्थलगत अवलोकनका क्रममा नेपाली सेनाले चुरे समितिमार्फत स्थानीयलाई हस्तान्तरण गरेको तालको ‘आउटलेट’ र ‘इनलेट’ भत्किएका छन् । ‘तालको डिलमा बनाइएका दुवै संरचना भत्किएका छन्’, चिमडी बर्जुताल सिमसार विकास तथा संरक्षण समितिका सचिव बिलटसिंह श्रेष्ठले नागरिकस“ग भने ।

‘इनलेट’ फुटेर पानी बाहिर बगिरहेको छ । आउटलेटका भित्री र बाहिरी दुवै संरचना भत्किएका छन् । पानी नियन्त्रण गर्न बनाइएको ढोकासमेत काम नलाग्ने अवस्थामा छन् ।

समितिका कोषाध्यक्ष शिवलाल मेहताले गुणस्तरीय सामग्री प्रयोग नगरिएकाले यो समस्या आएको बताए । ‘इनलेट र आउटलेट बनाउँदा ढुंगाको जग त हालियो । तर, त्यसमा प्लास्टर गरिएन । त्यसैले पानी बाहिरियो,’ उनले भने ।

नागरिककर्मी ताल अवलोकनमा पुग्दा स्थानीयले पानीको इनलेटबाट बाहिरिँदै गरेको पानी नियन्त्रणको प्रयास गरिरहेका थिए । तर, इनलेट संरचनाको भित्री र बाहिरी भाग फुटिसकेका थिए । इनलेटको ढोकामुनिबाट पानी बाहिर बगिरहेको थियो । आउटलेट पनि बिग्रिएकाले पानी नियन्त्रण भएको थिएन । दुवै संरचनाका लागि बनाइएको ढोका र त्यसको नियन्त्रण गर्ने चक्का बिग्रिएर जाम भइसकेको छ । बाहिरी र भित्री संरचनासँगै डिल भत्किएको छ ।

‘यी दुवै संरचना फुटिसकेका छन् । कुनै पनि बेला तालको पानीले बगाउन सक्छ’, मेहताले भने । सेनाले तालको माटो निकालेर बनाएको डिलको पूर्वोत्तर मोहोडा साउन २७ र २८ गतेको बाढीले फुटाइदिएको छ । डिल बिग्रिएको देखिन्छ ।

चिमडी बर्जुताल सिमसार विकास तथा संरक्षण समितिका उपाध्यक्ष हरिनारायण यादवले संरचना भत्किएको गुनासो गर्दै भने, ‘यतिमात्र होइन, तालबाट निकाल्नुपर्ने जति माटो पनि निकालिएन ।’

उनका अनुसार माटो तालको सतह मिलाएर पनि निकालिएको छैन । ‘माटो राम्ररी नफालेका कारण तालको अधिकांश भागमा झार उम्रिएको छ र कतिपय स्थानमा जलकुम्भी फैलिन थालेका छन्’, उनले भने ।

करिब एक सय ५२ बिघा जमिन तीन भागमा विभाजित गरेर तीनवटा ताल बनाइएको छ । यीमध्ये बीचमा रहेको सबैभन्दा ठूलो तालमा नेपाली सेनाले काम गरेको थियो ।

सेनाले त्यही बजेटबाट पर्यटकका लागि भनेर १६ वटा प्लास्टिकका पाइडल मार्ने डुंगा पनि दिएको छ । तीमध्ये ५ वटा डुंगा बिग्रिसकेका छन् । ‘हामीले चलाउन नजानेर हो कि नक्कली भएर हो चार महिनामै पा“चवटा डुंगा बिग्रिसके’, यादवले भने । यतिमात्र नभई पर्यटकका लागि बस्न तालको डिलमाथि हतारहतारमा बनाइएका सिमेन्ट बेन्चकुर्सी पनि ढल्ने अवस्थामा देखिन्थे ।

सबै तालको निर्माण उदयपुरको बेलसोतस्थित राष्ट्रिय विकास तथा सुरक्षा महानिर्देशनालयले गरेको हो । महानिर्देशनालयका प्रमुख तथा कर्नेल कमल बानिया“ले ताल संरक्षण र विकास योजनामा उल्लेख भएका सबै काम गरेर ताल हस्तान्तरण गरेको बताए । ‘हामीले तालभरि पानी भरेर त्यसमा डुंगा चलाएपछि मात्र उद्घाटन गरेका हौं,’ बानिया“ले भने, ‘चुरे र हाम्रो प्राविधिक समितिले सबै काम हेरेर सही ठहर गरेपछि ताल स्थानयीलाई हस्तान्तरण गरिएको हो ।’

साउन अन्तिम साता आएको बाढीले तालका संरचना भत्काएको हुन सक्ने अनुमान गरे । तर, स्थानीय भने बाढीअघि नै संरचना भत्किएकाले पानी बाहिर गइरहेको बताउ“छन् ।

‘बाढी आउनुभन्दा पहिले नै संरचना भत्किएको थियो । यसले हामीलाई थप समस्यामा पारेको छ’, बर्जु गाउँपालिका ६ का इन्द्रजित चौधरीले भने, ‘कमसल निर्माणले गर्दा पनि यी संरचनालाई कमजोर बनाएको हो ।’

कर्नेल बानिया“ले क्षतिको वास्तविकता बुभ्mन ताल भएको ठाउँमा प्राविधिक टोली पठाउने प्रतिबद्घता पनि जनाए ।

निर्माणका कार्यको नेतृत्व गरेको सिभिल इन्जिनियर मेजर पूर्णचन्द्र ढकालले भने, ‘हस्तान्तरण गर्दा त ठिकै थियो । बाढीमा पानीको बहाव थेग्न नसकेर समस्या आएको हुनसक्छ,’ उनले भने । ढकालले ताल व्यवस्थापनको जिम्मेवारी लिएको समितिका पदाधिकारीले बाढी आएका बेला समयमै आउटलेट र इनलेटको ढोका खोल्न नसकेकाले क्षति भएको आशंका गरे ।

स्थानीयवासी र समितिका पदाधिकारीले चुरे विकास समितिले प्रभावकारी अनुगमन नगरेका कारण काम कमसल भएको बताए । तर, राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका सदस्यसचिव हेमलाल अर्याल यो कुरा मान्न तयार छैनन् । ‘म यहा“ पदस्थापित भएको दुई महिनाभित्र त्यो तालमा दुईपटक पुगेको छु । हाम्रा प्राविधिकले त्यहा“को संरचना हेरेपछि मात्र हस्तान्तरण भएको हो’, उनले भने । अर्यालले स्थानीय समितिले प्रभावकारी काम नगरेकाले पनि क्षति भएको हुन सक्ने बताए ।

उनले सेनाले थोरै बजेटमा काम गरेकाले त्यसको मर्मतसम्भार गर्ने प्रावधान सहमतिपत्रमा नराखेको उल्लेख गरे । ‘त्यही पनि धेरै क्षति देखियो भने हामीले केही आर्थिक सहयोग गरेर सेनालाई सहयोगका लागि आग्रह गर्छौं,’ अर्यालले भने ।

राष्ट्रिपति चुरे–तराई मधेस संरक्षण विकास समितिका संरक्षण अधिकृत सुजितकुमार झाले मधेसमा पानीको हाहाकार सुरु भएकाले यस्ता तालको संरक्षणलाई प्राथमिकता दिइएको बताए । ‘यो कार्यक्रमको उद्देश्य मधेसलाई पानीको हाहाकारबाट जोगाउनु नै हो’, उनले भने । झाका अनुसार बर्खाको पानी संकलन गरेर जोगाउँदा त्यसले जमिनको रिचार्ज (पुनर्जलीयकरण) हुन्छ  । जमिनमा पानीको सतह माथि आउँछ ।

सेनाले आर्थिक वर्ष ०७१/७२ देखि ०७३/७४ सम्म चुरे विकास समितिको करिब साढे १८ करोड रुपैयाँ खर्च गरेर ११ वटा तालको संरक्षण र विकासको काम गरेको हो । सेनाले पहिलो वर्ष सप्तरीको लोहजरा, बाबा र देवी तालको संरक्षण र विकासको काम गरेको थियो । यसैगरी दोस्रो र तेस्रो वर्षमा बर्जु ताल सुनसरी, कुम्भीखा“डी सिरहा, राजारानी मोरङ, धनुषाधाम धनुषा, नाडिमन सर्लाही, बडेया रौतहट, कोहिलही कैलाली र गजेडी ताल रूपन्देहीमा काम गरेको छ । सबै तालमा कामका प्रकृति उस्तै छन् ।

तर, यो तालमा समितिको पन्ध्र दिनको प्रयासपछि सेनाले कोसी नहरबाट पानी ल्याएर भरेको थियो । ‘पानी भरेपछि संरचना बिग्रन्छन् कि बिगं्रदैनन् भनेर पानी भरेका थियौं, त्यतिबेला केही पनि भएको थिएन’, उनले भने।

पुराना ताल निर्माणका क्रममा त्यसको सतहको माटो निकालेर त्यसबाट वरिपरि डिल बनाउने, बीचमा त्यहीभित्रको माटोबाट टापु बनाउने, पर्यटकका लागि बस्ने कुर्सी, तालको वरिपरि तारबार, वृक्षरोपण, भौतिक पूर्वाधारमा शौचालय, बारबिक्यु स्टेन्ड, ढुंगा र केटाकेटीका लागि पार्कलागयतका काम भएका छन् ।

प्रकाशित: १४ भाद्र २०७४ ०१:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App