भोजपुर- हतुवागढि गाउँपालिका–०५ होम्ताङ्गका एक व्यक्तिलाई साउदी अरब बाट उद्धार गरिएको छ। आठ वर्ष अघि वैदेशिक रोजगारको क्रममा साउदी अरब पुगेका प्रदीप राई डेढ वर्षदेखि बेपत्ता भएका थिए। उनको परिवारले खोजि गर्दा समेत पत्ता लाग्न सकेको थिएन। कम्पनिमा काम गरिरहेका राई केहि समय पछि ग्रैहकानूनीरुपमा बसोवास गर्न थालेपछि वेपत्ता भएका थिए ।
मानसिक सन्तुलन गुमाएका अवस्थामा उनलाई साउदी अरबमा नै कार्यरत खोटाङ ऐसेलुखर्क गाउँपालिकाका खड्गबहादुर राईले भेटेका थिए। खड्गबहादुरले साउदी अरबको रियाद अलखराज रोड आरमको इसारा नजीक अलपत्र रहेको अवस्थामा प्रदीप राईलाई फेला पारेका थिए। खड्गबहादुर राईले बाटोमा वेसहरा अवस्थामा प्रदीप राईलाई भेटेपछि सामाजिक सञ्जालमा तस्बिर सहित विवरण प्रकाशित गरेका थिए। फेसबुकमा पोष्ट भएको तस्बिर र विवरणको आधारमा पारिवारिक सम्पर्क र उनको उद्धार भएको हो । साउदिमा नै वेपत्ता भई मानसिक सन्तुलन समेत गुमाएका राईको अवस्था सुधार भैरहेको छ । प्रदीप लाई परिवारको जिम्मा लगाइएको छ ।
होम्ताङ्ग सेवा समाज नेपालले प्रदीपलाई स्वा्देश फर्काउन पहल गरेवापत खड्गबहादुर राईलाई सम्मान समेत गरेको छ। प्रदीप राईको लागि त्यहाँ चाहिने सम्पूर्ण कागजी कारबाहीका प्रक्रियाहरु पूरा गर्ने काम साथै प्रदीपईलाई संरक्षण दिदै सकुशल स्वदेश फिर्ती ल्याएर परिवारको जिम्मा लाइदिने खड्गबहादुर राईलाई सम्मान गरिएको होम्ताङ्ग सरोकार समाज ले जनाएको छ ।
प्रकाशित: १३ भाद्र २०७४ १४:११ मंगलबार