६ वैशाख २०८१ बिहीबार
समाज

दुई जना थारु पत्रकारलाई ‘पत्रकारिता पुरस्कार’ दिइने

काठमाडौं- थारु पत्रकार संघ नेपालले उत्कृष्ट दुई जना थारु पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । कात्तिक १८ गते सुनसरीमा हुने थारु पत्रकार संघको केन्द्रीय अधिवेशनमा पुरस्कार वितरण गर्ने संघले जनाएको छ ।

पत्रकारिता पुरस्कार लागि संघले असोज मसान्तभित्र आवेदन दिन आह्वान गरेको छ । ‘देशभरि सञ्चारका विभिन्न माध्यममा काम गर्ने थारु पत्रकारहरुले यो पुरस्कारको दाबी गर्न सक्नेछन्,’ संघका महासचिव मदन चौधरीले भने, ‘त्यसका लागि २०७३ साउनदेखि २०७४ साउनभित्र थारु समुदायका विषयवस्तुमा आधारित रिपोर्ट प्रकाशन÷प्रसारण भएको हुनुपर्छ ।’ संघले दुइटा रिपोर्टसँगै आफ्नो बायोडाटा पठाउन पनि आह्वान गरेको छ ।

थारु पत्रकारहरुलाई प्रोत्साहनस्वरुप प्रदान गर्न संघले गत वर्षदेखि उत्कृष्ट थारु पत्रकारिता पुरस्कारको घोषणा गरेको थियो । गत वर्ष कैलालीका पत्रकार गणेश चौधरीलाई सो पुरस्कार प्रदान गरिएको थियो । 

पुरस्कारको प्रायोजन सतौन स्मृति ट्रस्टले गरेको छ । जसको राशि ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । ट्रस्टका अध्यक्ष युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरीले संघको नाममा अक्षयकोषको स्थापना गरिदिने बताएका छन् । मंगलबार संघका पदाधिकारीसँगको भेटमा उनले पुरस्कार राशि पनि बढाउने वाचा गरेका छन् । ‘थारु पत्रकारहरुलाई प्रोत्साहन गर्न म सधैं तत्पर रहन्छु । यस वर्षदेखि पुरस्कारको राशिमा वृद्धि हुनेछ,’ भेटमा उनले भने । 

जोखन-जगत रत्गैँया पत्रकारिता पुरस्कार घोषणा
संघले यसै वर्षदेखि जोखन-जगत रत्गैँया पत्रकारिता पुरस्कार पनि घोषणा गरेको छ ।  माओवादी जनयुद्धमा होमिएका कैलाली, राना मुडाका जोखन रत्गैँयाको तत्कालीन शाही सेनाले २०५७ जेठ २९ गते हत्या गरेको थियो । उनले त्यहीबेला आफ्नै सम्पादकत्वमा मुक्तिक डगर नामक पत्रिका प्रकाशन गरेका थिए । जोखनकी छोरी इन्दु थारुले थारु पत्रकारलाई प्रोत्साहन गर्नकै लागि यो पुरस्कारको स्थापना गर्न लागेको बताइन् । ‘पत्रकारिता यस्तो पेसा हो, जसले कुनै पनि विषयवस्तुलाई शसक्त बनाउन मद्दत गर्छ । त्यसैले म चाहन्छु थारु पत्रकारहरु यो पेसामा आबद्ध होऊन्,’ उनले भनिन् । पुरस्कारको राशि ५ हजार १ रुपैयाँ रहनेछ । 

तीन सदस्यीय छनौट समिति गठन
संघले पुरस्कारका लागि तीन सदस्यीय छनौट समिति गठन गरेको छ । सतौन स्मृति ट्रस्टले प्रदान गर्ने उत्कृष्ट थारु पत्रकारिता पुरस्कार छनौट समितिमा संघका अध्यक्ष कृष्णराज सर्वहारी, सल्लाहकारद्वय लक्की चौधरी र महेश्वर चौधरी छन् । त्यस्तै जोखन रत्गैँया पत्रकारिता पुरस्कारका लागि छनौट समितिमा अध्यक्ष कृष्णराज सर्वहारी, सल्लाहकार लक्की चौधरी र जोखनकी छोरी इन्दु थारु छन् । 

थारु पत्रकार संघको केन्द्रीय अधिवेशन यसअघि मंसिरको पहिलो साता सुनसरीको झुम्कामा गर्ने निर्णय भएकोमा प्रदेश र संसदको चुनावले कात्तिक १८ गते सोही स्थानमा गर्ने निर्णय गरिएको छ ।
 

प्रकाशित: १३ भाद्र २०७४ ०८:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App