नेताको परिवार

मेयर चिरिबाबु महर्जनको परिवार: फेसबुकको कमेन्ट सुनाउने काम श्रीमतीको

मङ्गलबार, १३ भदौ २०७४, १२ : ५७ विश्वमणि पोखरेल | Kathmandu

किसान परिवारमा हुर्किएका ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन व्यवस्थापनका विद्यार्थी हुन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा एमएम गरेका महर्जन अहिले महानगरको कुर्सीमा छन् । राजनीतिमा नलागेको भए कुशल प्रशासक बन्ने बताउने महर्जनको विचारमा राजनीति र व्यवस्थापन फरक–फरक विद्या हुन् । उनको आँकलनको राजनीतिमा २ र २ जोडदा ५ हुन्छ भने व्यवस्थापनमा २ र २ को योगफल ४ मात्र हुन्छ । उनी यसलाई सिनरजेस्टिक भन्न चाहन्छन्, जसको अर्थ हुन्छ धेरै मानिससँग समन्वय राख्दै सहकार्यमा जुट्दा त्यसको परिणाम एक्लाएक्लैले गरेको भन्दा धेरै हुन्छ । ललितपुर महानगरको पेचिलो राजनीतिक समीकरण जहाँ ३९ सदस्यीय नगरपालिका कार्यकारिणीमा २३ प्रतिपक्षी एमाले, मेयर–उपमेयरसहित १२ कांग्रेस र माओवादी केन्द्रका ४ जना प्रतिनिधि छन् ।  अहिले तिनै चिरिबाबुको अग्निपरीक्षा भैरहेको छ ।

‘मेरो नराम्रो बानी छ । म कसैको घरमा जान्नँ, कसैको चाकडी पनि गर्दिनँ ।’
– चिरिबाबु


सामाजिक काम राजनीतिक यात्रा
चिरिबाबुको यो राजनीतिक यात्रा नेपाली कांग्रेस, एमाले, माओवादीजस्ता पार्टीमा लागेका त्यागी, तपस्वी, जेलनेल र यातनाका कथाव्यथाहरूले भरिएकाहरूको जस्तो छैन । उनी जेल पनि परेनन्, नारा जुलुसमा खासै सहभागी भएनन् । उनीसँग पार्टीका लागि गरिएका त्याग र तपस्याको कहानी पनि छैन । अरुहरु किशोरावस्थामा राजनीतिमा आकर्षित हुन्छन्, उनी भने सामाजिक काममा तानिए । २०३० सालताकाको सामाजिक अभियान सम्झँदै चिरिबाबु भन्छन्, ‘सुरुमा ढुङ्गेधारा सफा गर्ने, मठमन्दिर, टोलहरू सफा गर्ने अभियान चलायौँ ।’
वि.सं. २०३१ सालमा एसएलसीपछि पब्लिक युथ क्याम्पसमा आइकम, पाटन क्याम्पसबाट बिकम र २०४२ सालमा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट एमकम पास गरे । पढाइसँगै उनले सामाजिक काम निरन्तरता दिए । त्यसबेलाको राजनीतिक माहौलमा राजनीतिबारे चासो नहुने कुरै भएन !  सामाजिक  अभियान, राजनीति, पढाइ र त्रिभुवन विमानस्थल निर्माण गर्ने क्यानडाको एउटा कम्पनीमा जागिरे चिरिबाबुको व्यस्त दैनिकीमा छिमेककी मिश्री महर्जनसँग प्रेमालाप गर्न पनि भ्याउँथे ।
२०३६ सालमा सुधारिएको पञ्चायती व्यवस्थाको पक्षमा जनमत आएपछि उनी २०३८ सालको नगर पञ्चायतको चुनावमा वडा नं ३ बाट वडा अध्यक्षमा चयन भए । उनको सामाजिक अभियान रुचाइएकाले पनि त्यो बेला उनलाई चुनिएको थियो भन्ने लाग्छ । त्यसबेलाको चुनावी गणितबारे उनी भन्छन्, ‘म किसानको नेता थिएँ, मेरा ७÷८ जना विपक्षी मैदानमा थिए । सबैको मत जोड्दा पनि मेरै बढी थियो ।’
वडा अध्यक्ष रहँदै पनि उनी विभानस्थल निर्माणको ठेकेदार कम्पनी एएनएल कन्र्सोटियममा म्यानेजर थिए । २०४३ मा नगर पञ्चायत चुनावमा उनी वडा अध्यक्षको उम्मेदबार बने र पुनः विजयी भए । २०४६ सालको आन्दोलनमा वडा अध्यक्ष पदबाट राजिनामा गरेर आन्दोलमै होमिए । जनआन्दोलनपछि उनी किसान नेताबाट कांग्रेस नेता बन्न पुगे । उनलाई पार्टी राजनीतितर्फ आकर्षित गर्ने व्यक्ति नर्सिङ व्यञ्जनकार थिए । २०४७ सालमा ओमकार श्रेष्ठले उनलाई कांग्रेसको केन्द्रीय सदस्यता दिएपछि उनी विधिवत कांग्रेस भएका हुन् । २०४९ सालको चुनावमा उनी कांग्रेसका तर्फबाट ३ नम्बर वडाको अध्यक्षमा जित हात पारे । बहुदल आएपछिको यस चुनावमा भने पार्टीका बागीको सामना गर्नुपरेको उनी सुनाउँछन् । ललितपुर उपमहानगरपालिकाका कांग्रेसकै मेयर बेखारत्न शाक्यको टिममा बसेर काम गरेका चिरिबाबुलाई २०५४ को स्थानीय चुनावमा भने पार्टीले टिकट दिएन । ‘त्यसबेला पार्टीमा आन्तरिक कलह थियो,’ महर्जनले भने, ‘मैले पार्टीका उम्मेदवारलाई सहयोग गरेको हो, तै पनि उहाँले जित्नसक्नु भएन ।’
चर्चामा आउन नरुचाउने चिरिबाबुले यस पटक ललितपुर महानगरको मेयरमा जित्नुका पछाडि कांग्रेसको भोटका साथै ज्यापु समुदायको उल्लेख्य भूमिका रहेको बताउँछन् ।
महानगरमा बाजी
कांग्रेस पार्टीबाट ललितपुर महानगरको मेयरमा उनको नाम कांग्रेसजनकै निम्ति नयाँ थियो । केन्द्रीय सभापति शेरबहादुर देउवा लगायतका नेताले उनलाई राम्रोसँग चिन्दैनथे । उनी सम्झन्छन्, ‘कोही चिनीबाबु भन्थे, कोही चिरबाबु भन्थे । धेरै कमले मात्र मेरो नाम शुद्धसँग उच्चारण गर्छन् ।’ त्यस्तो अवस्थामा ललितपुर कांग्रेस सभापति मदनबहादुर अमात्यले उनको नाम मेयर पदका लागि अघि सारेका थिए ।
पार्टी सभापति शेरबहादुर देउवासमेत उनका बारेमा दोधारमा थिए । टेलिफोनमा वार्ता हुँदा चिरिबाबुले देउवालाई भने, ‘मैले सभापतिसँग हारेँ भने एक लाख दिन्छु, जितेँ भने तपाईंले मलाई १०० रुपैयाँ दिनुहोला ।’ पछि देउवाले उनको उम्मेदवारी स्वीकार गरे ।
चिरिबाबुको उम्मेदवारी स्वीकृत त भयो तर नयाँ किसिमको राजनीतिक अवस्था सिर्जना भयो । कांग्रेस–माओवादी तालमेलका कारण चिरिबाबुले उम्मेदवारी फिर्ता लिनुपर्ने अवस्था आयो । यस्तोमा जिल्ला सभापति अमात्यले सुझाव दिए, ‘चिरिबाबु र उपमेयर उम्मेदवार गीता सत्याल लगायत ३÷४ जना जिम्मेवार नेताहरू उम्मेदवारी फिर्ता लिने दिन गुप्तबास बसौँ । त्यसपछि देखाजाएगा !’ त्यसपछि सबै जिम्मेवार नेताले मोबाइल स्विचअफ गरेर कीर्तिपुरमा भूमिगत भए । ‘उम्मेदवारी फिर्ता गर्ने समय घड्किएपछि हामी ललितपुर फर्कियौँ,’ उनले बेली बिस्तार लगाए ।
काम गर्ने आफ्नै शैली
लामो समयदेखि राजनीतिमा संलग्न चिरिबाबु कामसँग मतलब राख्छन् । उनी चाकडीको भाषा बुझ्दैनन् । ‘मेरो नराम्रो बानी छ,’ महर्जनले भने, ‘म कसैको घरमा जान्नँ, कसैको चाकडी पनि गर्दिनँ ।’
मेयरमा जितिसकेपछि मात्र उनले पार्टीको केन्द्रीय कार्यालय टेकेका थिए । मेयरमा विजयी भएपछि सभापति देउवाले पार्टी कार्यालयमा बोलाए । त्यसैबेला बाजी हारेका देउवाले महर्जनलाई एक हजारको नोट दिए । ‘तपाईंले बाजी जित्नुभयो,’ देउवाले भने, ‘त्यसैले यो राख्नूस् ।’ हुन त चिरिबाबुले तपाईंले बाजी हार्नुभयो भने एक सय दिए पुग्छ भनेका थिए तर देउवा यति खुसी भए कि सयको सट्टा हजार नै जरिवाना तिर्न तयार भए । ‘मैले एक सय मात्र जितेकाले बाँकी नौ सय फर्काउन खोजेको थिएँ,’ महर्जन सम्झन्छन्, ‘बाँकी नौ सय रुपैयाँ फिर्ता दिने रकम नै रहेनछ । सभापतिले पनि राख्नुस्, राख्नुस् भन्नुभयो, मैले पनि हजारको नोट खल्तीमा हालेँ ।’
उनलाई रमाइलो लाग्यो किनभने सय रुपैयाँ जितेका थिए तर हजार पाए । राजनीतिमा नलागेको भए ? चिरिबाबु भन्छन्, ‘म प्रशासक हुन्थेँ होला ।’
पारिवारिक जीवन
चिरिबाबुको जन्म २०१४ मंसिर १६ गते भएको हो । उनका  बाबु न्हुच्छेलाल महर्जन उनी चार वर्षका हुँदै बिते । उनलाई आमा हरिमायाले हुर्काइन् । भन्छन्, ‘म आमसँग हुर्किएँ र आमालाई सेवा गर्ने मौका पनि पाएँ । आमा ८७ वर्षको उमेरमा बित्नुभयो ।’ पुल्चोकस्थित उनको पुख्र्यौली घरनजिकै उनको ससुराली पनि छ । २०३८ सालमा मन्दिरमा मिश्री महर्जनसँग सामान्य विवाह गरेका चिरिबाबुका १ छोरा, २ छोरी छन् । छोरा तर्फबाट एउटी नातिनी पनि छन् । ३६ वर्षअघिको वैवाहिक सम्बन्धबारे चिरिबाबु र मिश्रीका फरक बुझाइ छन् । मिश्री चिरिबाबुको सामाजिक, राजनीतिक व्यक्तित्वबाट प्रभावित भएकी थिइन् भने चिरिबाबु नजिकै घर भएकाले प्रेमपाशमा परेको जानकारी दिन्छन् ।

‘तलब बाहेकको अरू पैसा लिनुहुन्न भन्ने मेरो भनाइ हो । आफ्नो मिहिनेतबाहेकको पैसा लिनुहुन्न, त्यो राम्रो काम होइन ।’  
– चिरिबाबुकी श्रीमती


छोरीहरू गैरसरकारी संस्थामा आबद्ध छन् भने छोराबुहारी र नातिनी अमेरिकाको एटलान्टामा स्थायी बसोबास गर्छन् । छोरा विवेक त्यहाँको रेल्वे कम्पनीमा र बुहारी सरस्वती गुरुङ महर्जन माइक्रोसप्ट कम्पनीमा इन्जिनीयर छन् । चिरिबाबु र मिश्री महानगर चुनावको केही महिनाअघि मात्र अमेरिकामा रहेका छोरा–बुहारी र नातिनी सचीसँग भेटी फर्किएका थिए ।  
उनीहरूको पुर्खोली घर पुल्चोक हो । अंशवण्डाको क्रममा कान्छो भाइको भागमा प¥यो । चिरिबाबुले बखुन्डोलको मोहियानीबाट प्राप्त जग्गामा घर बनाएका छन् । मिश्री भन्छिन्, ‘यो ठाउँमा पहिला खेतहरू थिए । मैलै धान रोपेको यस ठाउँमा अहिले घरैघर छन् ।’
मिश्री २४ वर्षसम्म ज्ञानोदय बालवाटिका स्कुलमा प्रशासक रहिन् । हाल उनी अवकाशको जीवन बिताइरहेको बताउँछिन् । भन्छिन्, ‘राजनीतिमा लागेका मानिस एकदम व्यस्त हुने रहेछन्, घर परिवारलाई समय नै नदिने । ‘मेरो राजनीतिक, सामाजिक व्यस्त जीवनमा मिश्रीको ठूलो भूमिका छ,’ चिरिबाबु भन्छन्, ‘घरपरिवार सबै उनकै जिम्मामा छ, म आफू केही काम भ्याउँदिनँ ।’
विदेशी कम्पनीमा काम गरेकाले उनको खानपिनको आनीबानी विदेशीको जस्तो छ । बिहान ब्रेक फास्ट, दिउँसो लन्च र बेलुकी सामान्य खाना । मिश्रीले बिहान सबेरै तयार पारेको रोटी, सिजनल फलफूल, सामान्य सागपात खाएर चिरिबाबु बाहिर निस्कन्छन् र लन्च टाइममा आइपुग्छन् । मेयर चुनिएपछि भने उनको यस्तो दैनिकी बिथोलिएको छ । मिश्रीले बिहानै तयार गरेको रोटी खाएर महानगर गएका खसमलाई अपराह्न हटकेसमा खाना पुग्थ्यो । ‘सुरुका डेढ महिना महानगरमा कामको चापले घरबाटै टिफिन पठाएँ,’ उनले भनिन्, ‘केही दिनयता दिउँसो घरमै खाना खान आउनु हुन्छ ।’
ज्यापू समाजका चिरिबाबु जाँडरक्सी खाँदैनन् भने माछामासुमा पनि त्यति रुचि छैन । ‘मलाई साधारण खाना, सागपात मनपर्छ,’ चिरिबाबु भन्छन्, ‘बिहानै गहुँको रोटी खान पाए हुन्थ्यो भन्ने लाग्छ ।’ ज्यापू समाजको सदस्य रक्सीबाट कसरी अलग हुनुभयो त ? चिरिबाबु भन्छन्, ‘खानै पर्ने बाध्यतामा थोरै खान्छु तर भोलिपल्ट टाउको दुख्छ र पेनाल्टी तिर्नुपर्छ, मलाई पच्दैन ।’ रक्सी नखाएकै कारण  आफू अगाडि बढ्न सकेको उनको विश्लेषण छ । ‘क्यानडेली कम्पनीमा एयरपोर्टमा राम्रो जागिर थियो,’ चिरिबाबु भन्छन्, ‘रक्सी खाने बानी परेको भए रक्सीबाज हुने सम्भावना थियो, जोगिएँ ।’
सामाजिक सञ्जालको लेखाजोखा
सामान्य गृहिणीको भूमिकामा रहेकी मिश्रीको अर्को महत्वपूर्ण जिम्मेवारी छ । सामाजिक सञ्जालमा चिरिबाबुबारे छाएका फेसबुक कमेन्टको लेखाजोखा राखेर जानकारी दिनु । ‘सामाजिक सञ्जालमा कसले के–के भनेका छन्, त्यसको जानकारी राख्नु राम्रो हो,’ मिश्री भन्छिन्, ‘राम्रा–नराम्रा सबै कमेन्ट उहाँलाई सुनाउँछु । अहिलेसम्म नराम्रा कमेन्ट त्यत्ति आएका छैनन् ।’
कन्तुरको साँचो मिश्रीसँगै
चिरिबाबुले जागिर खाँदादेखि एउटा नियम बनाएका छन्– कमाएको तलब जति ल्याएर मिश्रीको हातमा दिने । श्रीमान्को कमाई श्रीमतीको हातमा पर्नु स्वाभाविक हो तर तलब कम–बेसी भयो भने उनले स्पष्टीकरण लिन्छिन् । तलब बाहेकको अरु पैसा हो कि भन्ने चासो मात्र मिश्रीलाई छ । मेयर भएपछिको तलब पनि पत्नीको हातमा दिनुभयो कि ? चिरिबाबुले भने, ‘हाम्रो तलब नै आएको छैन । आएपछि सबै ल्याएर दिन्छु । पहिला दिन्छु अनि चाहिने जति लिन्छु ।’
‘तलब बाहेकको अरू पैसा लिनुहुन्न भन्ने मेरो भनाइ हो,’ मिश्रीले भनिन्, ‘आफ्नो मिहिनेतबाहेकको पैसा लिनुहुन्न, त्यो राम्रो काम होइन ।’
मितव्यायी महर्जन
जाँडरक्सी नखाने, होटल रेस्टुराँ नधाउने भएकाले थोरै खर्चले जीवनयापन चलिरहेको चिरिबाबु बताउँछन् । कतिसम्म भने तीन पटक वडा अध्यक्ष चुनाव लड्दा एक हजार पनि खर्च नभएको उनको दाबी छ । मेयरको चुनावमा पनि उनको सामान्य खर्च मात्र भएकाले अरुको लाखौँ–करोडौँ खर्च भएको कुरा सुन्दा उनलाई अचम्म लाग्ने बताउँछन् । मितव्ययी चिरिबाबु भन्छन्, ‘नचाहिने ठाउँमा कौडा पनि झिक्दिनँ, आवश्यक पर्दा हिरा फोर्न पनि पछि पर्दिनँ ।’
ललितपुरमा फ्लाई ओभर
थापाथलीदेखि पुल्चोकसम्म फ्लाइओभर निर्माण गर्ने निर्णयसँगै ललितपुर महानगरपालिका चर्चामा छ । महानगरका मेयरलाई फ्लाइओभरबारे जिज्ञासा राख्दा उनले जाइकासँगको प्रारम्भिक कुराकानीपछि महानगर आफैँले सम्भाव्यता अध्ययनमा जुटेको जानकारी दिए । ‘फ्लाइओभर बनाउने कुरामा कुनै अन्योल छैन, महानगरको परिषद्ले निर्णय गरिसकेको छ,’ चिरिबाबु भन्छन्, ‘हामीले आफैँ सम्भाव्यता अध्ययन गर्ने काम अघि बढाएका छौँ, त्यो काम सम्पन्न भएपछि आर्थिक स्रोत जुटाउने काम हुन्छ र निर्माण पनि सुरू हुन्छ ।’
फ्लाइओभर निर्माणसँग काठमाडौँ महानगरपालिकाको पनि सरोकार छ । त्यसैले काठमाडौँसँग कुराकानी भएको होला ? चिरिबाबु गम्भीर हुँदै भन्छन्, ‘जापानी सहयोग निकाय जाइकाले तयार गरेको एउटा डिजाइनमा थापाथलीबाट ललितपुरतर्फ फर्काइएको एउटा पाटो छ । हामी त्यहीँबाट ललितपुरतिर अगाडि बढाउँछौँ ।’ फ्लाइओभर निर्माणबारे काठमाडौँसँग समन्वय राखेरै कामअघि बढ्ने उनी बताउँछन् । तपाईंहरूको कार्यकालमै ललितपुरमा फ्लाइओभर निर्माण होला त ? प्रश्न झर्न नपाउँदै चिरिबाबुले भने, ‘हाम्रो कार्यकालमा निर्माण हुने मात्र होइन, हामीले डेढ दुई वर्ष त्यसको उपयोग पनि गर्छौं ।’

तस्विर :रुकेश श्रेष्ठ

(नागरिक परिवारबाट साभार)








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad