coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मानवरहित बन्यो तातोपानी-खासा

काठमाडौं- झन्डै २७ महिनाअघि विनाशकारी भूकम्पको चपेटामा परेको मुलुकको प्रमुख उत्तरी नाका तातोपानी–खासा बजार अहिले मानवरहित बन्न पुगेको छ । नेपाल–चीन जोड्ने सबैभन्दा चल्तीको यो नाकामा विगतमा बाह्रै महिना चहलपहल हुन्थ्यो । दसैं–तिहार, जाडोजस्ता सिजन आउनुअघि चीनबाट सामान ल्याउने व्यापारीको भीडले यहाँको रौनक बेग्लै हुन्थ्यो । २०७२ वैशाख १२ को भूकम्पपछि मुलुकका धेरै स्थानमा थोरै भए पनि फेरि चहलपहल सुरु भएको छ । पीडितले पक्की घर बनाउन नसके पनि जन्मथलो छाडेका छैनन् ।

तर दुर्भाग्य तातोपानी नाकामा बस्नेहरु भने सधैंका लागि व्यापार–व्यवसाय र घरबार छोडेर हिँडेका छन् । भूकम्पको चपेटामा परेको तातोपानी नाकाका बासिन्दाका लागि गत वर्ष आएको बाढी पहिरोले बस्नै नसक्ने गराएको हो । खोंचमा रहेको तातोपानी नाकामा भूकम्पका कारण माथिबाट अनगिन्ति पहिरो आएका छन् । गत वर्ष भोटेकोसी नदीमा आएको बाढीले तलबाट बस्तीलाई तानेर बस्नलायक बाँकी छाडेको छैन ।

भूकम्प र बाढी–पहिरोले बस्ती जोखिममा परेपछि तातोपानीमा बस्ने हजारौं बासिन्दा अहिले विस्थापित भएका छन् । बजार मानवरहित हुँदा त्यहाँ दैनिक हुने लाखौंको व्यवसाय पनि गुमेको छ । भूकम्प आएको अर्को दिन नै चीनले खासाको बस्ती उठाएर लगेका कारण अहिले नाकाको दुवै क्षेत्र मानवरहित बन्न पुगेको हो ।

मुलुककै एक प्रमुख आयात–निर्यात तथा पर्यटकीय क्षेत्र बनेको यो नाकामा बस्ने हजारौं स्थानीयले व्यापारिक कारोबार गर्थे । दैनिक करोडौंको व्यापार गुम्नुका साथै यस क्षेत्रमा बनाइएका करोडौंका भौतिक संरचना समेत भूकम्प र त्यसपछिको बाढीले लपेटेर लगेको छ । वार्षिक लाखौं पर्यटकको गन्तव्य बनेको उक्त क्षेत्र अहिले सुनसान छ ।

‘हाल खास बजार र त्यहाँ वरपरको क्षेत्र निर्जन र सुनसान छ,’ सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कमल श्रेष्ठले आइतबार नागरिकसँग भने, ‘त्यहाँको सम्पूर्ण चमक गुमेको छ ।’ उनका अनुसार खासा बजारलाई पहिलो धक्का भूकम्पले दियो, जसले जनधनको क्षति सहित भौतिक संरचना ध्वस्त भए ।

भूकम्पको केही समयपछि बचेका घरमा फेरि बसोबास बढ्न थालेको थियो । तर, प्रकृतिले मानव बस्तीलाई फेरि थिच्यो । भूकम्पको पीडा नसेलाउँदै ठूला बाढीपहिरो आयो । त्यसले त्यहाँ बचेका घरहरू बगायो । खासा बजार र चीन जोड्ने पुल समेत लपेटेर लग्यो । प्रकृतिको यो हर्कतपछि स्थानीयले हारे र त्यहाँबाट बिस्तापित भए । अझै पनि बसिरहेका दुई–चार व्यक्ति यो बर्खामा बस्न नसकेर हिँडिसकेका छन् ।

तातोपानी नाका बन्द भएपछि खासा बजारमात्र होइन यसले बाह्रबिसे र खाडीचौरको चलहपललाई समेत असर गरेको छ । ‘यो क्षेत्रमा दैनिक झन्डै १५ लाखभन्दा धेरैको व्यवसाय हुन्थ्यो,’ श्रेष्ठले भने, ‘अहिले त्यो सबै गुमेको छ । त्यहाँका भौतिक संरचना नष्ट भएका छन् ।’

भूकम्प गएको दुई वर्ष नाघिसक्दा पनि तातोपानी नाका खोल्ने संकेत समेत आएको छैन । भूकम्पको प्रभावले नाका बन्द गर्नुपरेको चीनले जनाउँदै आएको छ । उक्त नाकालाई छिटो खोल्न आग्रह भइरहेको श्रेष्ठले बताए । ‘हाम्रो पहिलो प्राथमिकता नै नाका पुनः सुचारु गर्नुपर्छ भन्ने छ,’ श्रेष्ठले भने, ‘नाका खोल्नु–नखोल्नु चीनकै हातमा छ । हामीले त भन्ने मात्र हो ।’

२०२७ सालमा खुलेको यो नाका नेपाल र चीनबीच सबैभन्दा महŒवको व्यापारिक मार्ग हो । यो नाकाबाट मात्र सरकारले वार्षिक ६ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गर्दै आएको थियो । यही नाका भएर नेपाली र भारतीय तिर्थालु तिब्बतको मान सरोवर जाने गर्छन् । पछिल्ला वर्षमा एक लाखभन्दा बढी पर्यटक यही नाका भएर तिब्बत गएको व्यापारी बताउँछन् । तातोपानी नाकामा ४५ वटा पर्यटकीयसहित तीन सय ५० वटा होटल खोलिएका थिए ।

नेपाल–चीन व्यापारमा संलग्न संघ–संस्थाका प्रतिनिधि र स्थानीय बासिन्दाले नाका खोल्ने विषयमा चीनले सुरुदेखि नै विभिन्न बहाना गर्दै आएको बताउँछन् । सुरुमा खासाको बजारमा भूकम्पका कारण क्षति पुगेको र पुनर्निर्माण गरेपछि भन्सार सञ्चालन हुने भनिएको थियो । तर, अहिलेसम्म कुनै संकेत छैन ।

चीनले पछिल्लोपटक खासाबाट १८ किलोमिटर टाढामा पर्ने न्यालम भन्ने स्थानबाट भन्सारको काम गर्ने बताएको थियो । भूकम्प गएको बेलामा त्यहाँ करिब तीन सय कन्टेनर अड्केका थिए । उक्त कन्टेरमा रहेका तीन अर्ब रुपैयाँभन्दा बढीको सामानलाई भूकम्प गएको १० महिनापछि मात्र ल्याइएको थियो । नाका र खासा बजार बन्द भएपछि त्यहाँ कार्यरत हजारौं मजदुर बेरोजगार बनेका छन् । बाह्रबिसेदेखि माथिको १५ किलोमिटर लामो सडकका धेरै स्थानमा भूकम्पपछि गएको पहिरोले असर गरेको थियो ।

प्रकाशित: १३ भाद्र २०७४ ०४:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App