८ वैशाख २०८१ शनिबार
खेल

मैत्रीपूर्ण खेल बदला लिने अवसर

काठमाडौं- नेपाल र बंगलादेशले पछिल्लो ७ वर्षमा तीन खेल खेलेका छन् । तिनमा नेपालले दुई खेल आफ्नो पक्षमा पारेको छ भने एउटामा हारको सामना गरेको छ । नेपाल र बंगलादेशलाई दक्षिण एसियाली भलिबलमा समान स्तरको टोलीका रूपमा लिइन्छ ।

तिनै समान स्तरको टोलीले लगनखेलस्थित आर्मी कभर्ड हलमा मंगलबार चौथो र बुधबार पाँचौं खेल खेल्दै छन् । विगतमा नेपाललाई बंगलादेशभन्दा कमजोर टोलीका रूपमा लिइन्थ्यो । सन् २०१० मा नेपालले पहिलो पटक बंगलादेशलाई हराउँदै नेपालको स्तर माथि उठ्न लागेको संकेत दिएको थियो । त्यसयता नेपाली भलिबलले केही महŒवपूर्ण सफलता हासिल गरेको छ ।

४० वर्षे भलिबल इतिहासमा पहिलो आधिकारिक पदक जित्नु, भलिबलले राष्ट्रिय खेलको मान्यता पाउनु र दुई विदेशी प्रशिक्षकको निगरानीमा प्रशिक्षण गर्नु भलिबलका उपलब्धि हुन् । त्यसले नेपालीको मनोबल र स्तर दुवै उच्च हँुदै गएको छ ।

नेपाली टोलीका प्रशिक्षक जगदीश भट्ट पनि नेपालको स्तर बढ्दै गएकाले बंगलादेशविरुद्ध जित हासिल गर्ने बताउँछन् । उनले भने, ‘हामीले पछिल्ला तीन सातामा कमजोर पक्षलाई सुधार गर्ने प्रयास गरेका छौं । त्यसमा सफल पनि हुँदै गएका छौं । टोलीको स्तर कस्तो भएको छ भन्ने पत्ता लगाउनमा मैत्रीपूर्ण खेलले सहयोग गर्नेछ ।’

नेपाली खेलाडीले करिब तीन साता नेदरल्यान्डका प्रशिक्षक भान पिटरबाट विशेष प्रशिक्षण लिएको थियो । पिटर एक साताअघि मात्र स्वदेश फर्किए ।

नेपालले ११औं सागमा जित हासिल गरेपछि २०१५ मा भएको पहिलो एभिसी सेन्ट्रल जोन भलिबलमा पनि बंगलादेशलाई पाँच सेटर खेलेर जितेको थियो । तर पछिल्लो खेलमा भने नेपाल बंगलादेशसँग पराजित भएको छ । गत वर्ष भएको सेन्ट्रल जोनकै दोस्रो संस्करणमा नेपाल पराजित भएर फर्किएको थियो ।

कप्तान इम नेपाली टोलीका अनुभव खेलाडी हुन् । इम बंगलादेशविरुद्ध खेलेका तीनै खेल खेल्ने खेलाडी पनि हुन् । कप्तान इमले मैत्रीपूर्ण खेल भए पनि बंगलादेशसँग भोगेको हारको बदला लिने अवसर भएको बताए । ‘घरेलु मैदानमा हामीले जित्नुपर्छ । सेन्ट्रल जोनमा हामी बंगलादेशसँग डिफेन्स कमजोर भएर हारेका थियौं । अहिले डिफेन्ससँगै अन्य पोजिसन बलियो भएको छ,’ इमले भने, ‘बंगलादेश हामीभन्दा माथिल्लो स्तरको टोली होइन । तर दुई मैत्रीपूर्ण खेल्न पाउनु हाम्रा लागि खुसीको कुरा हो । भलिबल राम्रो गतिमा अगाडि बढिरहेको छ । हामी अहिले पाएका सफलतामा थप अर्को सफलता थप्ने कोसिस गर्छाैं ।’

नेपालले मैत्रीपूर्ण खेलअघि डेनिस क्लबलाई ३–१ को सेटमा आइतबार हराएको थियो । तर नेपाल पहिलो मैत्रीपूर्ण खेलमा डेनिस क्लब भिलवोभासँग डेनमार्कमा पराजित भएर फर्किएको थियो । मैत्रीपूर्ण खेलले टोलीको कमजोरलाई सुधार गर्न सहयोग गर्ने कप्तान इमले बताए । उनले भने, ‘हामी डेनिस क्लबसँग सुरुको खेलमा हारेको थियौं । तर दोस्रो खेल जित्यौ । केही साताको प्रशिक्षणले टोलीको स्किल र स्पिड पनि बढेको छ ।’

भलिबल नेपालको राष्ट्रिय खेल भएको खुसीमा नेपाल भलिबल संघले बंगलादेशसँग मैत्रीपूर्ण खेलका लागि प्रस्ताव गरेको थियो । नेपालको प्रस्ताव स्वीकार गर्दै काठमाडौं आएको बंगलादेश टोलीका प्रशिक्षक अली पोउर एरोजी नेपालसँग मैत्रीपूर्ण खेलबाट उत्साही छन् । र अली भन्छन, ‘नेपाल सुन्दर देश हो । हामी यहाँबाट केही राम्रो कुरा सिकेर जाने प्रयास गर्छौं । विगतमा हामीले नेपाललाई हराएको छौं । तर अहिले त्यो अवस्था छैन । नेपालले पछिल्लो समय राम्रो प्रगति गरिरहेको छ । उनीहरू विगतभन्दा राम्रो टोलीका भएका छन् । दुई टिमको स्तर समान छ । तर केही भिन्नता पनि छन् । हामी दुवै खेल जित्ने प्रयास गछौैं ।’

अली इरानी प्रशिक्षक हुन् । उनले विगत ८ महिनादेखि बंगलादेश टोलीको मुख्य प्रशिक्षकको रूपमा जिम्मेवारी सम्हाल्दै आएका छन् ।

फिटनेसमा कमजोर हुनु मैत्रीपूर्ण शृंखलामा बंगलादेश टोलीका लागि कमजोर पक्ष बन्न सक्छ । केही सातासम्म भाइरल ज्वरोका कारण खेलाडीको स्वास्थ्यमा असर गरेको बंगलादेशका कप्तान सैयद अल जाबिरले बताए । जाबिरले भने, ‘ज्वरोका कारण केही खेलाडीको स्वास्थ्यमा असर गरेको थियो । शारीरिक रूपमा खेलाडीले केही कमजोर महसुस गरिरहेका छन् । तर हामी बंगलादेश भलिबलको स्तरलाई बढाउने लक्ष्यमा छौं । नेपालसँग खेलेको अनुभव छ । हामी राम्रो खेल खेल्ने कोसिस गछौं ।’

प्रकाशित: १३ भाद्र २०७४ ०३:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App