coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

भारतद्वारा शृंखला कब्जा

पाल्लेकेले- ओपनर रोहित शर्माको शतक तथा तीव्र गतिका बलर जसप्रित बुमराको ५ विकेटप्रेरित भारतले आइतबार तेस्रो एकदिवसीय खेलमा श्रीलंकालाई ६ विकेटले हराउँदै पाँच खेलको शृंखला जितेको छ ।

शर्माले १ सय ४५ बलमा अविजित १ सय २४ रन बनाएपछि २ सय १८ रनको लक्ष्य पछ्याएको भारतले ४५.१ ओभरमा पूरा गरेको थियो । तथापि दर्शकको अभद्र व्यवहारले गर्दा केही ओभर ढिला भएको थियो । भारतको जितका लागि ८ रन चाहिएका बेला रिसाएका घरेलु दर्शकले पानीको बोतल मैदानमा फाल्न थालेपछि खेल केही समय अवरुद्ध भएको थियो ।

ओपनर शर्माले पूर्वकप्तान महेन्द्रसिंह धोनीसँग पाँचौं विकेटका लागि अविजित १ सय ५७ रनको साझेदारी गर्दै भारतको जित पक्का गरेका थिए । धोनी ६७ रनमा अविजित रहे ।  जितसँगै पाँच खेलको शृंखलामा भारत ३–० ले अघि छ । करियरको उत्कृष्ट बलिङ (२७ रन दिएर ५ विकेट) गरेका बुमराले म्यान अफ दी म्याच प्रदर्शन गरेपछि श्रीलंकाले ५० ओभरमा २ सय १७ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।

‘बुमराले ३ खेलमा ११ विकेट लिइसकेका छन् । उनले साँच्चिकै राम्रो बलिङ गरेका छन् । सीमित ओभरको क्रिकेटमा हाम्रा शीर्ष बलरमध्ये बुमरा एक हुन्,’ २३ वर्षे बुमराको प्रशंसा गर्दै भारतका कप्तान विराट कोहलीले थपे, ‘उनले ठीक ठाँउमा र तीव्र गतिमा बल फ्याँक्छन् । डेथ ओभरमा उनको बलिङ पानीमा माछा पौडिएजस्तो हुन्छ ।’

श्रीलंकाका तीव्र गतिका बलरहरूले सुरुमै भारतको २ विकेट लिँदै राम्रो गर्ने संकेत गरेका थिए । लसिथ मालिङ्गाले ५ रन बनाएका शिखर धवनलाई बोल्ड गर्दा विश्वा फर्नान्डोले भारतका कप्तान कोहलीलाई दुशमान्था चमिरामार्फत क्याच गराए । कोहलीले ३ रन मात्र जोडे ।

त्यसपछि शर्मा र लोकेश राहुलले तेस्रो विकेटका लागि ४२ रनको साझेदारी गर्दै भारतको इनिङ उकास्ने प्रयास गरे । तर स्पिनर एलिका धनञ्जयले १७ रन बनाएका राहुललाई लहिरु थिरिमानेमार्फत क्याच गराउँदै दुईको साझेदारी तोडे । लगत्तैको अर्को स्पेलमा धनञ्जयले केदार जाधवलाई एलबिडब्लु आउट गरे । जाधबले रनको खाता खोल्न सकेनन् ।

दोस्रो खेलमा ५४ रनको योगदान गरेका शर्माले धोनीसँग मिलेर घरेलु बलरलाई दबाबमा राखेका थिए । १६ चौका र २ छक्का प्रहार गरेका शर्माको यो १२औं एकदिवसीय शतक हो ।

‘सानो लक्ष्य सधै चुनौतीपूर्ण हुन्छ । यस्तो विकेटमा यो झनै गह्रो हुन्छ,’ भारतका कप्तान कोहलीले भने, ‘रोहित असाधारण खेलाडी हुन्, धोनी पनि त्यस्तै छन् । मध्यक्रममा दुईले उत्कृष्ट ब्याटिङ गरे ।’

त्यसअघि थिरिमानेले १ सय ५ बलमा ८० रन बनाए पनि अको इन्डबाट निरन्तर विकेट गुमाएपछि श्रीलंकाले ठूलो योगफल बनाउन सकेन । थिरिमानेले दिनेश चण्डीमलसँग तेस्रो विकेटका लागि ७२ रनको साझेदारी गरे । चण्डीमलले ३६ रन बनाए ।  मिलिन्दा श्रीवद्र्धनेले २९, चमरा कापुगेडेराले १४ तथा निरोशन दिकवेलाले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

‘हाम्रो योजनाअनुसार खेल हुन सकेन । हामीले डटबल नखेल्ने भनेका थियौं । तर त्यो अनुसार केही भएन । २६०–२७० चुनौतीपुर्ण स्कोर हुन्थ्यो,’ नियमित कप्तान उपुल थरंगा निलम्बनमा परेपछि श्रीलंकाको कप्तानी गरेका कपुगेडेराले भने, ‘केही दबाब त छ तर कप्तानीको भूमिका मलाई रमाइलो लाग्यो ।’

प्रकाशित: १३ भाद्र २०७४ ०३:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App