७ वैशाख २०८१ शुक्रबार
राजनीति

भृकुटीमण्डपको जग्गा दुरुपपोग, कौडीको भाउमा भाडामा

काठमाडौं- राजधानीको केन्द्रस्थित भृकुटीमण्डपभित्र रहेको सार्वजनिक जग्गा एक सांसदले कौडीको भाउमा ठेक्कामा लिएर करोडौं आर्जन गरिरहेका छन् । 
समाजकल्याण परिषद्को नाममा प्रदर्शनीमार्गमा रहेको फनपार्कको ६० रोपनी जग्गा र सँगैको २५ रोपनी जग्गा सस्तो दरमा भाडामा लिएर सांसद टेकबहादुर गुरुङले व्यवसाय सञ्चालन गरिरहेका हुन् । 
मनाङ धारापानीका रवीन्द्र गुरुङ (हाल लन्डन) को वारेसमा पूर्वराज्यमन्त्री भइसकेका सांसद गुरुङले विगत पाँच वर्षदेखि सस्तो भाउमा ६० रोपनी जग्गा भाडामा लिएर फनपार्क चलाइरहेका छन् । गुरुङले ६० रोपनी जग्गालाई मासिक पाँच लाख ५५ हजार रुपैयाँमा ठेक्कामा लिएका हुन् । उक्त जग्गा २०६० सालदेखि मासिक ५ लाख ५० हजार रुपैयाँ भाडामा दिइएको थियो । गुरुङले मासिक ५ हजार रुपैयाँ बढाएर भाडामा लिएका थिए । 
उक्त जग्गामा बालबालिका खेल्ने, घुम्ने, रोटे पिङ, पसल, हर्स राइडिङ, रेस्टुरेन्ट, साना चलचित्र घरलगायत छन् । गुरुङले ती संरचनाको थप भाडा तिर्नुपर्दैन । शनिबार र बिदाका दिनमा यहाँ हजारौं व्यक्तिहरु बालबालिकालाई मनोरञ्जन गर्न लैजान्छन् । त्यहाँभित्रका विभिन्न खेल खेल्दा निकै महँगो शुल्क तिर्नुपर्छ ।
उक्त जग्गा पाँच वर्षअघि रवीन्द्र गुरुङका नाममा समाजकल्याण परिषद्ले सार्वजनिक रूपमा टेन्डर र सूचना प्रकाशन नगरी सस्तो भाडादरमा दिएको थियो । ठेकेदार बलिया भएका कारण समयअनुसार जग्गाभाडा बढाउन नसकिएको समाजकल्याण परिषद्ले स्वीकारेको छ ।
परिषद् स्रोतका अनुसार जग्गाको कुनै विज्ञापन नगरी मिलेमतोमा ‘करारनामा’ गरिएको छ । 
सांसद गुरुङ र समाजकल्याण परिषद्का तत्कालीन सदस्यसचिव रवीन्द्र कुमारले २०६९ साल असोज १ मा करारनामामा हस्ताक्षर गरेका थिए । जग्गा १५ वर्षका लागि भाडामा दिइएको छ । त्यसअघि २०६० सालमा हीरादेवी खड्गीले सोही फनपार्क क्षेत्रलाई मासिक ५ लाख ५० हजार रुपैयाँ भाडा तिरेका थिइन् । खड्गीले जग्गा लिएको १० वर्षपछि मासिक ५ हजार रुपैयाँ थपेर  गुरुङले भाडामा लिएका हुन् । 
 

२५ रोपनीको साढे १२ हजार भाडा
प्रदर्शनीमार्गभित्र रहेको अर्को २५ रोपनी जग्गा ल्याम्ह पुचः युवा समूहले लिएको छ । ल्याम्ह पुचःले मासिक साढे १२ हजार रुपैयाँ तिर्ने गरेको परिषद्ले जानकारी दियो । परिषद्ले ल्याम्ह पुचःलाई २०५३ सालदेखि जग्गा दिइरहेको छ । त्यस स्थानमा बालबालिका खेलाउने पार्कका रूपमा प्रयोग गरिरहेको छ । 
समयअनुसार जग्गाभाडा नबढाउँदा सरकारलाई घाटा र व्यक्तिले नाफा कमाइरहेको परिषद् स्रोतको भनाइ छ । ‘करारनामा १५ वर्षका लागि गरिएको छ,’ स्रेतले भन्यो, ‘ठेकेदार नाफामा छन्, संस्थालाई घाटा भएको छ ।’
विज्ञापन नगरी मिलेमतोमा गरिएको करारनामा नै गलत छ । जग्गा भाडामा लिने व्यक्तिले शक्तिको आडमा परिषद्लाई नटेरेको परिष्दका एक अधिकारीले बताए । ‘हामीले धेरै पटक पत्र पठाइसक्यौं,’ ती अधिकारीले भने, ‘समयसापेक्ष भाडा बढाउन सकिएको छैन । परिषद्भन्दा ठेकेदार बलिया भए ।’ 
परिषद् बैठकले समयसापेक्ष भाडा बढाउने निर्णय गरेको थियो । ठेकेदारले नटेर्दा भाडा बढाउन नसकेको स्रोतले जानकारी दियो । 
सांसद गुरुङले भने जग्गाको भाडा अझै महँगो भएको दाबी गरे । उनले बेवारिसे रहेको खाली जग्गालाई टेन्डरमार्फत लिएर व्यवस्थित गरिरहेको बताए । 
उनले भने, ‘खाली ठाउँलाई व्यवस्थित गरेका छौं । एउटा समाजसेवा गरेका छौं । बालबालिकाहरू कम पैसामा खेल्न र घुम्न पाएका छन् । भाडा तिनुप¥यो, स्टाफ पाल्नुप¥यो । दसबाह्र लाख तलबमै खर्च हुन्छ ।’
फनपार्क क्षेत्रमा बाटो र स्टल व्यवस्थित बनाएको उनले बताए । लगानी गरेर एक सय ५० जनालाई रोजगारी दिएको उनको भनाइ छ । 
रवीन्द्र उनका मीतबुबाका छोरा हुन् । सांसद गुरुङले भने, ‘ऊ लन्डन गएपछि मैले अख्तियारी लिएको हुँ ।’ 
आफूले धेरैे लगानी गरेर व्यवस्थित बनाएपछि रिसले भाडा कम भनिएको उनको दाबी छ । 
पुनः बोलपत्र आह्वान गर ः सतर्कता
फनपार्क बनाइएको जग्गा सस्तोमा भाडामा दिइएको भन्दै राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको थियो । उजुरी परेपछि केन्द्रले छानबिन गर्न उपसचिव परशुराम पोख्रेलको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको थियो । 
छानबिन समितिले एक सातासम्म स्थलगत अनुगमन गरेको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले बताए । 
समाजकल्याण परिषद्लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको निर्देशन पूर्ण रूपमा कार्यान्वयन नभएको प्रतिवेदनमा छ । 
सतर्कता केन्द्रले नियमअनुसार आवश्यक प्रक्रिया पु¥याएर बोलपत्र आह्वान गरी भाडामा लिनेदिन निर्देशन दिएको छ । 
‘परिषद्को मुख्य आयस्रोतका रूपमा रहेको भृकुटीमण्डपको जमिन, भवन, घर, टहरा आदि भाडामा लाउँदा परिषद्को आर्थिक प्रशासन नियमावली २०५० को नियम ६२ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनविपरीत बोलपत्र आह्वान नगरी सम्झौता गरेको देखियो’, केन्द्रको प्रतिवेदनमा उल्लेख छ ।
परिषद्ले जग्गाको भाडा असमान तरिकाले दिएको भेटिएको उल्लेख छ । फनपार्क, बालउद्यान क्षेत्रभित्र व्यापारिक प्रयोजनका लिइएका जग्गामा धेरै सस्तो, कतै कस्तो देखिएकाले सबै जग्गालाई पुनः टेन्डर आह्वान गरी भाडामा लगाउन सुझाव दिएको थियो । तर, अहिलेसम्म पुनः बोलपत्र आह्वान हुन सकेको छैन । 
 

६ रोपनीको भाडा १० लाख
भृकुटीमण्डप छेउमा रहेको तरकारीबजारको क्षेत्र समाजकल्याण परिषद्कै नाममा छ । टुकुचा तरकारी बजारको ६ रोपनी १० आना क्षेत्रफल छ । त्यसबाट मासिक ९ लाख ९० हजार रुपैयाँ भाडा परिषद्ले लिइरहेको छ । 
 

प्रकाशित: १३ भाद्र २०७४ ०२:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App