५ वैशाख २०८१ बुधबार
अन्य

थरिथरिका पिता, थरिथरिका पुत्र

कुशे औँसी हिन्दू धर्मावलम्बीले मनाउने पर्व हो । यो पर्व भदौको औँसीमा मनाइन्छ । यस पर्वमा बुबा नहुनेहरुले गोकर्ण, रसुवाको वेत्रावती आदि स्थानमा श्राद्ध, तर्पण, दान आदि कार्य गर्ने चलन छ । यस्ता कार्यले पितृहरुलाई तार्ने विश्वास गरिन्छ । विशेष गरी आफ्ना पितृहरुको श्राद्धको तिथि थाहा नहुनेहरुले यस दिनमा श्राद्ध गर्ने चलन छ । यसरी तर्पण आदि कार्य गरेमा आफ्नो कुल स्थिर हुने धर्मग्रन्थहरुमा उल्लेख छ ।
यसै दिनमा घरमा कुश राख्दा शुभ हुने मान्यता छ । कुशलाई धार्मिक कार्यमा अनिवार्य मानिन्छ । यसको औँठी धारण गरेर मात्रै कुनै पनि धार्मिक कार्य सम्पन्न गर्ने गरिन्छ । ब्राह्मणहरुद्वारा पूजा गरिएको कुश घरमा राख्दा मात्रै पनि घर पवित्र हुने र परिवारको कल्याण हुने धार्मिक विश्वास रहिआएको छ । पुरोहितहरुले यजमानका घरघरै कुश पु¥याउने गर्छन् । बदलामा उनीहरुलाई यजमानले दक्षिणा आदि दिन्छन् । कुश, तुलसी, पीपल आदिलाई भगवान विष्णुको प्रतीक मानिन्छ ।
कुशे औँसीकै दिनमा बुबाको मुख हेर्ने चलन पनि चलिआएको पाइन्छ । यो चलन भने नेपालमा पछि मात्रै भित्रिएको हो ।
परापूर्वकालमा हरेक दिन बिहान उठेपछि सानाले ठूला मानिसलाई ढोग्ने चलन थियो । पत्नीले पतिलाई, छोराछोरीले आमाबुबालाई, शिष्यले गुरुलाई सम्मानका साथ ढोग्थे ।
त्यसबेला यस पर्वलाई छुट्टै मनाउनुपर्ने आवश्यकता नै थिएन । त्यसैले पनि बुबाको मुख हेर्ने दिन पछि मात्रै चलेको हो भन्न सकिन्छ ।
हाल बुबाको मुख हेर्ने दिनलाई ‘फादर्स डे’ पनि भन्ने गरेको पाइन्छ । नेपालमा मात्रै नभई विश्वका प्रायः सबै देशमा फादर्स डे मनाउने गरिन्छ । पर्व मनाउने दिन भने भिन्नाभिन्नै छ ।  
यही चलनलाई नेपालमा पितृ औँसीको दिनमा लगेर जोडिएको हुन सक्छ ।
एउटा प्रसङ्गअनुसार फादर्स डेको सुरmवात बीसौँ शताब्दीको सुरmमा भएको थियो । बुबालाई सम्मान गर्न आमालाई सम्मान गर्ने उत्सवको पूरकको रुपमा यसको सुरुवात भएको हो ।
फादर्स डे सबैभन्दा पहिला सन् १९०८ जुलाई ६ मा मनाइएको थियो । पश्चिम भर्जिनियाको फेयरमोन्टमा । यसको सुरुवात गरेकी थिइन्, श्रीमती ग्रेस गोल्डन क्लेटनले ।
त्यसभन्दा करिब ६ महिना पहिला पश्चिम भर्जिनियामा एउटा दुर्घटनामा दुई सय दस जना मानिसको ज्यान गएको थियो । उनीहरुकै सम्झनामा यो पर्व मनाइएको थियो ।
कसैकसैले वाशिङ्गटनका सोनोरा स्मार्ट डोडको प्रयासले दुई वर्षपछि सन् १९१० मा यो पर्व मनाइएको पनि उल्लेख गरेका छन् ।
एउटा रोचक कहानी छ सोनेरा डोडकोः
उनी सानै हुँदा उनकी आमाको मृत्यु भयो । बुबा विलियम स्मार्टले सोनेरोको जीवनमा आमाको कमी महसुस हुन दिएनन् । एकपटक सोनेराको मनमा आखिर एक दिन बुबाका लागि किन नराख्ने भन्ने विचार आयो । यही विचारको फलस्वरुपमा १९ जून १९१० मा पहिलो पटक फादर्स डे मनाइयो ।
त्यसबेला यस दिनमा आधिकारिक छुट्टी दिने चलन थिएन । त्यहाँ मदर्स डे उत्साहका साथ मनाइन्थ्यो तर फादर्स डे मनाउँदा हाँसोमा उडाइन्थ्यो । बिस्तारै यो चलन बलियो बन्दै गयो ।
सन् १९६६ मा राष्ट्रपति लिन्डन जोन्सनले जून महिनाको तेस्रो आइतबार बुबाहरुको सम्मानमा फादर्स डे मनाउने औपचारिक घोषणा गरे । त्यसको छ वर्षपछि सन् १९७२ मा राष्ट्रपति रिचर्ड निक्सनले यस अवसरमा सरकारी बिदा दिन थाले । अझै पनि धेरै देशहरुमा यो दिन सार्वजनिक बिदा दिने चलन छैन ।
हाल संसारभरि यो पर्व मनाउने गरिन्छ । विभिन्न देशहरुमा यो पर्व मनाउने दिन प्रायः फरक छ ।
यही पर्व हिन्दू धर्म मान्नेहरुले विशेष गरी भारत र नेपालमा भाद्र औँसीका दिन मान्ने गर्छन् । सायद पहिल्यैदेखि चलिआएको पितृ औँसीलाई ध्यानमा राखेर यसै दिनलाई फादर्स डे भनिएको हुन सक्छ ।
जापान, फिलिपिन्स, सिंगापुर, अमेरिका लगायतका धेरै देशहरुमा  फादर्स डे जून महिनाको तेस्रो आइतबार मनाइन्छ । न्युजिल्यान्डमा सेप्टेम्बरको पहिलो आइतबार मनाइन्छ भने ताइवानमा ८ अगस्ट र थाइल्यान्डमा हालका राजाको जन्मदिन (६ डिसेम्बर) मा मनाइन्छ ।
यस दिनमा छोराछोरीले आफ्नो बुबालाई विभिन्न उपहार र खानेकुरा दिएर मुख हेर्ने चलन छ ।
चितवन र नवलपुर क्षेत्रका थारुहरुले यस दिनमा दिवङ्गत पितृहरुको सम्झनामा तर्पण दिन्छन् । भोजको कार्यक्रम आयोजना गर्छन् र विभिन्न पाहुनाहरुलाई बोलाएर खुवाउँछन् ।
हिन्दू शास्त्रहरुमा आमाबुबालाई देवतासमान मानिएको छ । पितृको श्राद्ध प्रायः छोराहरुले गर्ने चलन छ ।
शास्त्रहरुमा बुबा र सन्तानहरुबीचको सम्बन्धका बारेमा कैयौँ रोचक वर्णन पाइन्छ ।  
शिव र गणेश
शिव पुराणका अनुसार एक पटक शिव कतै गएका थिए । पार्वतीले आफ्नो शरीरको मैलोबाट एउटा बालकको पुत्ला तयार गरिन् । आफ्नो योगशक्तिद्वारा त्यसमा प्राण हालिदिइन् । आफूले नुहाएर नआउञ्जेल कसैलाई पनि भित्र पस्न नदिनू भनेर निर्देशन दिइन् ।
केही समयपछि त्यहाँ शिव आइपुगे । बालकले उनलाई भित्र जान दिएनन् । आफ्नो परिचय दिँदा पनि बच्चा नमानेपछि शिवले कुपित हुँदै बच्चाको टाउको काटिदिए ।
आफ्नो बच्चाको अवस्था देखेपछि पार्वती अति दुःखी बनिन् । उनले बालकको जन्मका बारेमा बताउँदै उसलाई फेरि ब्युँताउन शिवसँग आग्रह गरिन् ।
शिवले हात्तीको बच्चाको शिर बच्चाको घाँटीमा लगेर जोडिदिए र बच्चालाई जीवित गरिदिए । बच्चाको नाम गणेश राखियो । पछि शिवले उनलाई देवताहरुमा पहिलो पूजा उनकै हुने वरदान दिए ।

राजा ययाति र पुरु
दैत्यहरुका गुरु शुक्राचार्यकी छोरी देवयानीसँग राजा ययातिको विवाह भयो । दैत्यहरुका राजा वृषपर्वाकी छोरी शर्मिष्ठा देवयानीकी दासी बनेर उनीसँगै गइन् ।
पछि ययाति र शर्मिष्ठाबीच शारीरिक सम्बन्ध भयो र तीन जना बच्चा जन्मिए । यी दुई बीचको सम्बन्ध थाहा पाएपछि देवयानीलाई अति दुःख लाग्यो । उनले बुबा शुक्राचार्यसँग यसबारे गुनासो गरिन् । शुक्राचार्यले ययातिलाई तत्कालै बूढो हुने श्राप दिए । पछि ययातिको अनुरोधमा उनका छोराहरुमध्ये कसैले उनको बूढो उमेर लिन सक्ने तर उमेर लिने व्यक्ति त्यसको बदलामा बूढो हुने शुक्राचार्यले बताए ।
राजा ययातिले आफ्नो बूढो उमेर लिइदिन सबै छोराहरुलाई अनुरोध गरे । चार जना छोराहरुले उनको प्रस्ताव स्वीकार गरेनन् । कान्छो छोरा पुरुले उनको प्रस्ताव स्वीकार गरे र बुबाको बूढेसकाल आफूले लिए भने ययाति जवान बने ।
जवानीको रहर पूरा गरेपछि ययातिले आफ्नो बूढेसकाल फिर्ता लिए र छोरालाई जवानी फिर्ता दिए । आफूलाई सहयोग गरेको भन्दै उनले पुरुलाई आफ्नो उत्तराधिकारी बनाए । यदु लगायतलाई राजा बन्न नपाउने नियम बनाइदिए ।
यही पुरु वंशबाट पछि पाण्डवको जन्म भयो । देवयानीका तर्फबाट जन्मिएका यदुको वंशबाट श्रीकृष्ण जन्मिए । ययातिको पालादेखि चलेको चलनलाई श्रीकृष्णले माने र आफू राजा बन्ने अवसर आउँदा पनि बनेनन् ।   

राम र दशरथ
राजा दशरथको जेठा छोरा भएको नाताले अयोध्याको राजसिंहासनका उत्तराधिकारी थिए राम । बुबा दशरथले कैकयीलाई दिएको वचन पूरा गर्न उनलाई वनवास जान भनेर आदेश दिँदा उनले प्रतिकार पनि गर्न सक्थे तर उनले त्यस्तो गरेनन् । बुबाको आज्ञालाई कुनै पनि प्रश्न नगरी माने ।
यस मनाइमा उनमा कुनै ग्लानि उत्पन्न भएन । कुनै अहंकार भाव जागेन । उनका लागि बुबाको आज्ञा राज्यसुखभन्दा धेरै प्यारो भयो ।
यता दशरथ पनि छोराप्रतिको प्रेममा थिए । उनले छोरालाई वनवास जान आदेश त दिए तर आफू सधैँ पीडित रहे । उनले छोरासँगको वियोग र छोराप्रति भएको अन्याय सहन सकेनन् । यही चिन्ताले उनलाई चितासम्म पु¥यायो । रामकै नाम लिँदै उनले संसार छाडे ।

देवव्रत र शान्तनु
बुबा र छोराबीचको घनिष्ठ सम्बन्ध राजा शान्तनु र देवव्रतका बीचमा पनि पाइन्छ ।
हस्तिनापुरका राजा शान्तनुका छोरा थिए देवव्रत । शान्तनुपछि उनैको राजा हुने पालो थियो । उनी हरेक दृष्टिले यसका लागि योग्य थिए ।
राजा शान्तनुले निषादकी छोरी सत्यवतीलाई मन पराएपछि त्यस देशको अवस्थामा एकाएक बदलाव आउन थाल्यो । शान्तनुले सत्यवतीसँग विवाह गर्न चाहे । सत्यवतीका बुबाले यदि आफ्नी छोरीबाट जन्मेको सन्तानलाई राजा बनाउने वचन दिने हो भने मात्रै बिहे गरिदिने बताए ।
शान्तनुलाई आपत पर्यो । एकातिर उनी सत्यवतीप्रति मोहित थिए भने अर्कोतिर देवव्रत राजा बनून् भन्ने चाहन्थे ।
देवव्रतले बुबाको अवस्था बुझे र सत्यवतीको घरमा गएर आफ्नो बुबाका लागि सत्यवतीलाई मागे । उनले सत्यवतीकै छोरा राजा बन्ने र आफू कहिल्यै राजा नबन्ने वचन दिए । भविष्यमा देवव्रतको सन्तान जन्मिएपछि समस्या उत्पन्न हुन सक्छ भन्ने निषादराजको आशङ्कालाई सम्बोधन गर्दै देवव्रतले आजीवन विवाह नगर्ने घोषणासमेत गरे ।
शान्तनुले आफ्नो छोराको प्रतिज्ञाा थाहा पाए । उनले छोरालाई इच्छामृत्युको वरदान दिए । त्यहीबेलादेखि देवव्रतको नाम भीष्म रहन गयो ।

धृतराष्ट्रको पुत्रमोह
दुर्योधनले गलत काम गरिरहेका छन् भनेर थाहा हुँदाहुँदै पनि धृतराष्ट्र युद्धमा होमिए । दुर्योधनले जे–जे भन्छन् त्यही मान्दै गए । दुर्योधनद्वारा पाण्डवमाथि गरिएको हरेक अन्याय र अपमानलाई धृतराष्ट्रले मौन स्वीकृति दिँदै रहे । पुत्रमोहकै कारण उनले भीष्म र विदुरजस्ता उचित सल्लाहकारहरुको सल्लाह मानेनन् । राज्य विभाजन गर्नैपर्ने अवस्था आएपछि पाण्डवलाई बाँझो भूमि दिए ।
दुर्योधनको आदेशमा द्रौपदीको अपमान भइरहँदा चुपचाप सहिरहे । महाभारत युद्ध हुने भएपछि उनी आफ्ना छोराहरुलाई लिएर सधैँ दुःखी रहे । अन्तिममा यही मोहकै कारण उनले आफ्ना लगभग सबै छोराहरु गुमाउनुप¥यो ।  

राम र लवकुश
लव र कुश बुबा रामको लालनपालनमा हुर्कन पाएनन् । उनीहरु वाल्मीकिको आश्रममा हुर्किए ।
केही वर्षपछि रामले अश्वमेध यज्ञ गरे । घोडालाई छाडेर पूरै परिक्रमा गराई उक्त घोडा आफ्नो देशमा फर्केपछि अश्वमेध यज्ञ पूरा हुन्थ्यो । यस्तो यज्ञ असफल बनाउन बाटोमा घोडालाई विभिन्न अवरोध पुर्याइने गरिन्थ्यो ।
रामको घोडालाई लव र कुशले बाँधिदिए । थाहै नपाई बुबाको सत्तालाई लवकुशले चुनौती दिए र रामका शक्तिशाली सेनालाई हराइदिए ।
यही बहानामा बुबा र छोराहरु एकअर्काको सामुन्ने पुगे ।

प्रह्लाद र हिरण्यकशिपु  
हिरण्यकशिपु आफू भगवान हुँ भन्ने ठान्थे । उनका छोरा प्रह्लादले उनलाई भगवान मान्न अस्वीकार गरे । उनी सधैँ भगवान विष्णुको पूजा आराधना गर्ने गर्थे । हरेक चीजमा भगवान छन् भनेर विश्वास गर्थे ।
हिरण्यकशिपुलाई छोराको यस्तो बानी मन परेन । छोरालाई मार्नका लागि उनले विभिन्न तरिका अपनाए । हरेक पटक उनी असफल भए ।
पछि विष्णुको नृसिंह अवतारद्वारा उनको वध भयो ।
यी कथाहरुबाट बुबा र सन्तानका बीच विशेष सम्बन्ध रहन्छ भन्ने तथ्य पुष्टि हुन्छ ।
पहिलाको जस्तो हरेक दिन आफूभन्दा ठूलालाई ढोग्ने चलन लगभग हराइसकेको अवस्था छ । कतिपय वृद्ध बुबाहरु छोराछोरीले नहेरेकाले वृद्धाश्रममा बस्नुपरेको उदाहरण पनि छन् । त्यसैले एक दिन मात्रै नभई हरेक दिन आफ्ना अभिभावकलाई सम्मान गर्नु आजको आवश्यकता हो ।  

प्रकाशित: १२ भाद्र २०७४ १०:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App