coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

'सानो ठाउँ भए पनि उपत्यकामै धेरैथोक छ'

इन्दिरा जोशी, गायिका

नेपालभित्र तपाईंलाई मनपर्ने सहर कुन हो?

मेरो सबैभन्दा प्यारो सहर पोखरा हो। त्यहाँको प्राकृतिक सुन्दरता, फेवाताल, गुफा र एकैनाश मिलेका भवनलगायत चिजलाई नियाल्दा पोखरा राम्रो लाग्छ। त्यहाँ काठमाडौंमा जस्तो भीडभाड र प्रदूषण पनि छैन। मनोरञ्जनदेखि ज्ञान प्राप्त गर्ने धेरै ठाउँ पोखरामा छन्। यी कारणले पनि मलाई पोखरा अरु सहरभन्दा भिन्न लागेको हो।

हामीले सहर भन्नेबित्तिकै सफा र सुविधायुक्त भन्ने सम्झन्छौँ, मेरो सपनाको सहर पनि यस्तै होस् भन्ने लाग्छ। हाम्रा सहरमा भने सबैतिर समस्या छ। यहाँको ट्राफिक जाम, अव्यवस्थित पार्किङ, जथाभावी भवन निर्माण, फुटपाथलाई व्यवस्थित गर्ने हो भने सहर राम्रो बन्थ्यो होला। त्यस्तै सडक फराकिलो पारियो भने सहर केही व्यवस्थित बन्छ।

नेपालबाहिर कुन कुन देशका सहर घुम्नुभएको छ?

मैले झन्डै ३० देशका सहर घुमेकी छु। अस्ट्रेलिया, अमेरिका, जापान, जर्मन, सिंगापुर, बेलायत, चीन, कोरिया, दुबई, कतार, इटाली, क्यानडा, स्विट्जरल्यान्ड, फ्रान्सलगायत देश पुगेकी छु। यी देशका सहर हाम्राभन्दा धेरै व्यवस्थित र सफा छन्।

ती देश घुम्दा अत्यन्तै राम्रो लागेको सहर?

मलाई इटालीको भेनिस सहर एकदमै राम्रो लाग्यो। भेनिस समुद्री किनारमा रहेको सहर भएकाले पनि राम्रो र रमाइलो लाग्यो, समय मिल्यो भने फेरि एकपटक त्यहाँ पुग्ने धोको छ। 

हाम्रो देशका सहर र आफू घुमेको विदेशी सहरबीच कस्तो भिन्नता पाउनुहुन्छ?

नेपालको एयरपोर्टबाट बाहिरिनासाथ हामीले प्रदूषण धुलो देख्नुपर्दैन। तर, बाहिर घुमेर नेपाल छिर्दा आफ्नो देशप्रति दया लाग्छ। जताततै फोहोर र प्रदूषण मात्रै देखिन्छ। नेपालमा जस्तो हावापानी र हरियाली भने अन्तका सहरमा पाइँदैन।

के कारणले हाम्रा सहरको विकास हुन नसकेको होलाजस्तो लाग्छ?

सहर अव्यवस्थित हुनुमा सरकार नै दोषी देखिन्छ। सरकारी पक्ष नै फितलो भएका कारण सहरको विकास लागि ल्याइएका योजना असफल भएका छन्। सहर विकासका निम्ति छुट्याइएको बजेट पनि फ्रिज हुँदै जानुले सरकार नै असफल छ भन्ने देखाउँछ।

सहर व्यवस्थित बनाउन नीति निर्माण तहमा रहनेले कसरी काम गर्नुपर्लाजस्तो लाग्छ?

विकास निर्माणमा सबै सरकारी निकाय एकजुट हुने र त्यसमा नागरिकले पनि साथ दिने हो भने सहरको विकास हुन्छ जस्तो लाग्छ। सरकारी निकायबीच समन्वय नहुँदा अहिले सहरभित्र भइरहेका विकास निर्माणका कामले गति लिन सकेका छैनन्। एक पक्षले सडक बनाउने अर्कोले त्यही सडक खन्नेजस्ता प्रवृत्तिका कारण सहर अव्यवस्थित भएको हो। यी सबै पक्ष समन्वय गरेर काम गरेको भए सहर धेरै व्यवस्थित हुन्थ्यो होला।

तपाईंको सपनाको सहर कस्तो होस् भन्ने लाग्छ?

हामीले सहर भन्नेबित्तिकै सफा र सुविधायुक्त भन्ने सम्झन्छौँ, मेरो सपनाको सहर पनि यस्तै होस् भन्ने लाग्छ। हाम्रा सहरमा भने सबैतिर समस्या छ। यहाँको ट्राफिक जाम, अव्यवस्थित पार्किङ, जथाभावी भवन निर्माण, फुटपाथलाई व्यवस्थित गर्ने हो भने सहर राम्रो बन्थ्यो होला। त्यस्तै सडक फराकिलो पारियो भने पनि सहर केही व्यवस्थित बन्छ।

उपत्यकाको सबैभन्दा राम्रो लाग्ने पक्ष के हो?

उपत्यका सानो ठाउँ भए पनि यहाँ धेरैथोक पाइन्छ। जस्तै :  खानेकुरा, घुम्ने र मनोरञ्जन गर्ने ठाउँ, सबैखाले सरकारी सेवा–सुविधा। यहाँको मौसम पनि राम्रो लाग्छ। यी कुरा सम्झँदा उपत्यकामा बस्न मन लाग्छ।

यहाँको सबैभन्दा मननपर्ने पक्ष?

यहाँको ट्राफिक जाम र प्रदूषण हो। यी समस्यालाई केन्द्रमा राखेर काम गर्ने हो भने उपत्यका राम्रो बन्छ होला।

सहर सफा राख्न के गर्नुपर्छ जस्तो लाग्छ?

जथाभावी फोहोर फ्याँक्नेलाई जरिवाना तिराउने, फोहोर उठाउने समय तोकिदिने, कालो धुँवा निस्कने सवारीसाधन बन्देज गर्ने, अहिले भइरहेको विकास निर्माणका कामलाई चुस्तता दिने हो भने सहर राम्रो बन्छ होला।

उपत्यकाभित्र तपाईं घुम्न गइरहने ठाउँ कुन हो?

म घुम्न त्यति निस्कन्नँ। कहिलेकाहीँ न्युरोड, असन, पाटन र वसन्तपुर दरबार क्षेत्रमा निस्कन्छु। पहिले–पहिले यी ठाउँ पनि केही खुकुला थिए, तर अहिले उकुसमुकुस भइसकेका छन्।

उपत्यकाको मनपर्ने खानेकुरा के हो?

मलाई यहाँको नेवारी खाजा मनपर्छ। फुर्सदका बेला नेवारी खाजा खान निस्कन्छु।

प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: १२ भाद्र २०७४ ०७:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App