coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

समयमै नबन्ने भए 'आर्क ब्रिज'

काठमाडौं- ठेकेदारको ढिलासुस्तीका कारण बिजुलीबजार र तीनकुनेमा निर्माणाधीन 'आर्क नेटवर्क ब्रिज'को प्रगति एकदमै न्यून देखिएको छ। दुवै पुल निर्माण सम्पन्न हुने समय नजिकिँदै गए पनि निर्माण प्रगति भने एकदमै सुस्त देखिएको हो। उपत्यकाका सडक विस्तारपछि साँघुरिएका पुललाई फराकिला बनाउने योजनाअन्तर्गत सरकारले यी पुल निर्माणअघि बढाएको थियो।

पुल निर्माण सम्पन्न हुने समय नजिकिँदै गए पनि निर्माण प्रगति भने एकदमै सुस्त देखिएको हो। उपत्यकाका सडक विस्तारपछि साँघुरिएका पुललाई फराकिला बनाउने योजनाअन्तर्गत सरकारले यी पुल निर्माण अघि बढाएको थियो।

बिजुली बजारस्थित धोबीखोलामा बन्न लागेको 'आर्क नेटवर्क ब्रिज'को निर्माण सम्पन्न गर्न अब चार महिना मात्र बाँकी छ। काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका अनुसार पुलको निर्माण प्रगति भने जम्मा २८ प्रतिशत मात्र छ। हालसम्मको निर्माण गतिले यो पुल तोकिएको समयमै निर्माण हुने सम्भावना देखिँदैन।

तीनकुनेेको पुल निर्माणका लागि तोकिएको समय भने १० महिना बाँकी छ। प्रगति जम्मा १५ प्रतिशत मात्र देखिन्छ।

सरकारले ०७१ पुस १३ गते ट्राफिक जाम कम गर्ने तथा सहरी सौन्दर्य बढाउने उद्देश्यले बिजुलीमा 'आर्क नेटवर्क ब्रिज'को ठेक्का प्रक्रिया अघि बढाएको थियो।

सरकारी योजनाअनुसार नै प्रक्रिया अघि बढेर ठेक्का लागे पनि निर्माण भने तोकिएको समयमा सकिने अवस्था छैन। सम्झौताअनुसार धोबीखोला पुल निर्माण ०७४ पुस १३ गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ। यो पुल निर्माणको ठेक्का जेई कन्स्ट्रक्सन प्रालिले पाएको छ।

निर्माणको जिम्मा पाएको यो कम्पनीले ढिलासुस्ती गर्दा पुल निर्माण समयमै सम्पन्न नहुने भएको सरकारी अधिकारी बताउँछन्। कुल १३ करोड १३ लाख रुपैयाँ लागतमा बन्न लागेको बिजुली बजारको पुलको लम्बाई ५० मिटर र चौडाई १२ मिटर हुनेछ। पहिलेदेखि सञ्चालनमा रहेको पुलको दायाँ र बायाँ दुवैतर्फ पुल निर्माण गर्ने योजनाअनुसार निर्माण सुरु गरिएको हो।

तीनकुनेेमा भने बाग्मती पुलको उत्तरतर्फ ८५ मिटर र दक्षिणतर्फ ८५ मिटरका दुई पुल निर्माण गर्न लागिएको हो। बाग्मती पुल निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्सनले पाएको छ। यसको लागत २१ करोड ३३ हजार रुपैयाँ हुने अनुमान छ। सरकार र  ठेकेदार कम्पनीबीच ०७५ असार ५ गतेभित्र सो पुल निर्माण सम्पन्न गर्ने सम्झौता भएको हो।

दुवै पुल निर्माणको ठेक्का सम्झौताअनुसार ठेकेदारले नै डिजाइन समेत तयार पार्नुपर्छ। तर, दुवै कम्पनीले पुलको डिजाइन तयार पार्न ढिलो गरेकाले लक्ष्यअनुसार निर्माण अघि बढ्न नसकेको हो।

काठमाडौं उपत्यका सडक विस्तार आयोजना प्रमुख दीपक केसी डिजाइनकै कारण निर्माण ढिलो भएको स्विकार्छन्। 'बाग्मती र धोबीखोलामा नयाँ प्रविधिको पुल बनाउन लागेकाले ठेकेदार कम्पनीलाई डिजाइन तयार पार्नै लामो समय लाग्यो,' उनले भने, 'निर्धारित समयमै पुल निर्माण सम्पन्न गर्न धेरै मुस्किल छ।'

केसीका अनुसार धोबीखोला र बाग्मतीमा खानेपानी तथा विद्युतीय उपकरणको समयमै उचित व्यवस्थापन नहुँदा पनि पुल निर्माणले गति लिन नसकेको हो। आयोजनाका इन्जिनियर विश्वविजयलाल श्रेष्ठका अनुसार धोबीखोला पुल निर्माणका लागि सरकारले ठेकेदारलाई हालसम्म पाँच करोड ६१ लाख ६५ हजार रुपैयाँ भुक्तानी गरिसकेको छ। बाग्मती पुलका लागि भने सरकारले पाँच करोड ७७ लाख ५५ हजार रुपैयाँ रकम भुक्तानी गरिसकेको छ।

ट्राफिक व्यवस्थापनमा समस्या

निर्धारित समयमा पुल निर्माण नहुँदा ट्राफिक व्यवस्थापनमा समस्या हुँदै आएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी  नायब उपरीक्षक मधुसुदन सिलवालले  माइतीघर–तीनकुने सडकमा लेन अनुसारको पुल निर्माण नहुँदा अत्यधिक जाम भइरहेको बताए। 'माइतीघर–तीनकुनेेमा सबैतिर आठ लेनको सडक छ, जब पुल आउँछ, त्यहाँ चार लेनको हुन्छ,' उनले भने, 'आठ लेनमा गुडेका सवारी एक्कासि चार लेनमा  खुम्चिँदा सवारी जाम बढेको हो।'

उनका अनुसार 'पिक आवर'मा अन्य समयको तुलनामा झन्डै पाँच ट्राफिक प्रहरी खटाउनुपरेको छ। 'तीनकुनेेमा पुरानो पुल भत्किएर सवारी आवागमनमा प्रत्यक्ष असर पारिरहेको छ,' उनले भने।

कस्तो हुन्छ 'आर्क नेटवर्क ब्रिज'?

आयोजनाका इन्जिनियर विश्वविजयलाल श्रेष्ठका अनुसार बाग्मती र धोबीखोलामा नेपालकै पहिलो 'आर्क नेटवर्क ब्रिज' बन्न लागेको बताए। 'आर्क नेटवर्क ब्रिज नयाँ प्रविधिमा आधारित पुल हो, यसको डिजाइन निर्माण गर्ने ठेकेदारले नै तयार गर्नेछन्,' उनले भने, 'नयाँ खालको पुल भएकाले बंगलादेशी कम्पनीले प्रमाणित गरेसँगै निर्माणको जिम्मा दिइएको हो।''आर्क नेटवर्क ब्रिज'को माथिल्लो तहमा अर्धवृत्ताकार संरचना निर्माण गरिनेछ। बीचमा बलिया तार जडान गरिन्छ। बीचमा गार्डर (दलिन) पनि राखिनेछ। नेटवर्क तारले पुलको भारवहन क्षमता तल र माथि गरेर सन्तुलन ल्याउनेछ।

प्रकाशित: १२ भाद्र २०७४ ०६:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App