coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

खाद्य संस्थानको सिमी र फापरमा ढुंगामाटो

काठमाडौं- नेपाल खाद्य संस्थानले बाढीपीडितलाई वितरण गर्न र बिक्रीका लागि राखेको साढे दुई करोड रुपैयाँ मूल्यको खाद्य वस्तु गुणस्तरहीन भेटिएको छ। उपभोक्तालाई सस्तो मूल्यमा गुणस्तरीय सामान उपलब्ध गराउने जिम्मेवारी पाएको संस्थानको थापाथली गोदाममा राखेको गेडागुडी (सिमी), फापरमा ढुंगा, माटो, बालुवा मिसिएको पाइएको हो।

ठेकेदार र संस्थानका तत्कालीन महाप्रबन्धक शिवहरि श्रेष्ठको मिलेमतोमा संस्थानलाई घाटा पुग्ने गरी तौल बढाउन ढुंगा र माटो मिसावट गरेको अनुगमन टोलीको ठहर।

संस्थानले कर्णालीबाट ल्याएको गेडागुडीमा ठूला–ठूला ढुंगासहित माटो, बालुवा मिश्रण गरेर राखेको अनुगमनको क्रममा भेटिएको छ। आपूर्तिमन्त्री शिवकुमार मण्डल नेतृत्वमा आइतबार संस्थानको अनुगमनमा पुगेको टोलीले भण्डारण गरेर राखेका बोरा खोल्दा तौल बढाउन ढुंगा, माटो मिसावट गरेको फेला पारेको थियो।

ठेकेदार र संस्थानका तत्कालीन महाप्रबन्धक शिवहरि श्रेष्ठको मिलेमतोमा संस्थानलाई घाटा पुग्ने गरी तौल बढाउन ढुंगा र माटो मिसावट गरेको अनुगमन टोलीको ठहर छ।  कर्णालीबाट ल्याएको सिमीमा ठेकेदारले ढुंगा, बालुवा र धुलो मिसाएको भेटिएको छ। सो सिमी बाढी प्रभावित क्षेत्रमा पठाउने तयारी थियो। उक्त सिमी खाद्य संस्थानका तत्कालीन प्रमुख शिवहरि श्रेष्ठ र थापाथली गोदाम प्रमुख मोहनप्रकाश चन्दले खरिद गरेका थिए।

संस्थानको गोदाममा रहेको नौ सय ६३ क्विन्टल सिमीमा मिसावट भेटिएको संस्थानको अञ्चल कार्यालय थापाथलीका प्रमुख भेषनाथ न्यौपानेले स्वीकारे। 'दुई वर्षदेखि गोदाममा राखिएको गेडागुडी र फापरमा माटो–ढुंगा मिसाएको भेटियो,' न्यौपानेले भने, 'गुणस्तरहीन सामानको विषयमा अनुसन्धान भइरहेको छ।' न्यौपानेका अनुसार कर्णालीबाट खरिद गरेर ल्याएको गेडागुडी र फापरको बिक्री मूल्य किलोको एक सय ५० रुपैयाँ छ। नौ सय ६३ क्विन्टल सिमीको मूल्य एक करोड ४४ लाख ४५ हजार रुपैयाँ र सात सय क्विन्टल फापरको मूल्य एक करोड पाँच लाख रुपैयाँ हुन्छ। फापर पनि माटो मिसिएको र बिग्रिएको अवस्थामा भेटिएको थियो।

संस्थानले करिब ४० क्विन्टल गेडागुडी बाढीपीडितलाई पठाइसकेको छ। पाँच सय क्विन्टल तराईका बाढीपीडितलाई पठाउने तयारी गरेको अवस्थामा यस्तो कैफियत भेटिएको न्यौपानेले बताए।  गेडागुडी र फापर खरिद प्रक्रियामा अनियमितता देखिएको छ। न्यौपानेले खरिद मूल्यको बारेमा जानकारी गराउन सकेनन्। 'के कति मूल्यमा कुन प्रक्रियाबाट खरिद गरियो भन्ने विषयमा खोज्दैछु,' तीन महिनाअघि संस्थान प्रमुख भएर आएका न्यौपानेले भने, 'यो विषयमा छानबिन भइरहेको छ।'

खाद्य संस्थानकै गोदाममा गुणस्तरहीन सामान भेटिनुले संस्थान नै बदनाम भएको आपूर्तिमन्त्री मण्डलले बताए। 'खरिद प्रक्रियामै त्रुटि देखिएको छ,' मण्डलले भने, 'यसमा संलग्नलाई हदैसम्मको कारबाही हुन्छ।' आगामी दिनमा हुने खरिद व्यवस्थित गर्ने बताए। मण्डलले संस्थाको डिपोमा रहेको खाद्यान्नको अवलोकन गरेका थिए। संस्थानको अस्तव्यस्ता देखेर तत्काल सुधार गर्न मन्त्रीले निर्देशन दिएका थिए। 'खाद्य संस्थानमा निकै कमजोरी देखियो,' मण्डलले भने, 'सुधार गर्नुपर्ने देखियो।'

मण्डलले कुहेको र फोहर मिसिएको खाद्यपदार्थ जनताकहाँ नपठाउन निर्देशन दिएका छन्। गुणस्तर र परिणाममा कैफियत देखिएकोले छानबिन गरी कारबाही गर्ने बताए। संस्थानको पूर्वाधार निकै जीर्ण भएको, गोदाम परिसरमा झाडी र फोहर जम्मा भएको लामो समयसम्म पनि सफा नगरिएको भेटिएकोले तुरुन्त सरसफाइ र मर्मत गर्न पनि निर्देशन दिएका थिए। चुहिएर चामल, सिमी र फापर बिग्रन सक्ने भएकोले तत्कालै मर्मत र सरसफाइको व्यवस्था मिलाउन मन्त्रीले निर्देशन दिए।

संस्थानले आफैंले किनेको र खरिद गरेर राखेको वस्तु लामो समयसम्म बिक्री नगरी गोदाममा राख्दा बिग्रिने अवस्थामा पुगेका छन्। दुई वर्षअघि बंगलादेश सरकारले भूकम्प पीडितलाई दिएको करिब १० हजार क्विन्टल चामल अहिले पनि गोदाममा थन्किएर बसेको छ।

संस्थानको उक्त सदर गोदाममा झण्डै ४१ हजार क्विन्टल खाद्य बस्तु सञ्चय छ। संस्थानले मौज्दातमा रहेका ती खाद्य बस्तु सुपथ मूल्य पसल, कर्णाली लगायत जिल्ला र खाद्य संकट परेका बेला आवश्यकीय ठाउँमा पठाउने गर्छ।

प्रकाशित: १२ भाद्र २०७४ ०६:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App