coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

जलविद्युत् आयोजनाले फेरियो जीवनशैली

रसुवा- रसुवामा सञ्चालित तथा निर्माणाधीन जलविद्युत् आयोजनाले जिल्लाबासीको जीवनशैली परिवर्तन गरेको छ। जिल्लामा रहेका जलविद्युत् आयोजनाले पूर्वाधारको विकास गर्नुका साथै स्थानीयलाई रोजगारीको अवसरसमेत दिन थालेपछि रसुवाबासीको जीवनशैली परिवर्तन हुँदै जान थालेको हो।

आयोजना निर्माण गर्दा प्रभावित क्षेत्रमा आवश्यकता अनुसार विकास निर्माणको काम पनि हुने गरेको छ। आयोजनाले शिक्षण संस्था, स्वास्थ्य संस्था, ग्रामीण सडक निर्माण गरेपछि स्थानीयबासीलाई सहयोग पुगेको छ।

गाउँमा विकासका पूर्वाधार निर्माण भएपछि आर्थिक जीविकोपार्जनमा समेत सहयोग पुगेको छ। संघसंस्थाहरु सहरकेन्द्रित हुने भएपनि जलविद्युत् आयोजना भने ग्रामीण क्षेत्रमा निर्माण हुने भएकाले गाउँलाई प्रत्यक्ष सहयोग पुग्ने नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए।

'संघसंस्था गाउँमा पुग्दैनन् जलविद्युत् गाउँको भिरपाखा छेउमा निर्माण हुन्छ यसले स्थानीयलाई प्रत्यक्ष फाइदा पुर्‍याउछन् उनले भने। आयोजनाले जिल्लाबासीका लागि प्रदान गर्ने १० प्रतिशत सेयरका कारण विभिन्न व्यवसाय सञ्चालन गरेर स्वरोजगार बनेका छन्।

गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्र्रुका नोर्चेल तामाङले हल्लैहल्लामा चिलिमे जलविद्युत् आयोजनाको सेयर खरिद गरेका थिए। सुरु के फाइदा होला र भन्ने सोचेर एकजना वरावर ५० कित्ता सेयर भरेका तामाङ अहिले सेयरका कारण ऋण तिर्नेदेखि छोराछोरी समेत पढाउन सहज भएको बताउँछन्।

पहिलो गाउँघरमा परम्परागत रुपमा कृषि पेसामा संलग्न भएर ६ जनाको परिवारको पालनपोषण गरिरहेका तामाङले ऋण काढेर होटल व्यवसाय सुरु गरेका थिए।

होटल सञ्चालन गरेको केही समय ब्याज तिर्नसमेत धौधौ परेका तामाङलाई अहिले महिना महिनामा ब्याज घटाउन अनि छोराछोरीलाई विद्यालयमा पढाउन सजिलो भएको छ। 'ऋण तिरेर सकिन लाग्यो सेयरबाट आएको बोनसले अन्य क्षेत्रमा समेत लगानी गर्न थालेको छु,' होटल व्यवसायी तामाङले भने।

सेयरबाट केहीले होटल, सवारीसाधन र घरजग्गा लगानी गरेका छन् भने केहीले सेयर किनबेच गरिरहेका छन्। स्याफ्रुका छेवाङ तामाङले सेयर खरिद बिक्री गर्ने गरेका छन्। सेयरको भाउ बढेको बेला बेच्ने र भाउ घटेका बेला किन्ने गरेका तामाङसँग अहिले नौ सय कित्ता सेयर रहेका छन्। 'अहिलेसम्म अन्य क्षेेत्रमा लगानी गरेको छैन सेयर किनबेच गरिरहेको छु भविष्यमा सेयरमा फाइदा पुग्ने देखेको छु,' तामाङले सुनाए।

रोजगारीको अवसर

रसुवामा सञ्चालित तथा निर्माणाधीन जलविद्युत् आयोजनामा दुई हजारभन्दा बढी रसुवाबासीले रोजगारीको अवसर पाएका छन्।

जिल्लामा निर्माण सम्पन्न भएको दुईवटा र निर्माण भइरहेका सातवटा आयोजनाबाट प्रत्यक्ष–अप्रत्यक्ष रुपमा करिब दुई हजार पाँच सयले रोजगारी पाएका छन्।

आफ्नो सीप र शैक्षिक योग्यताको आधारमा लेबर, ओभरसियर, सब–ओभरसियर, इन्जिनियर, सिभिल इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियर लगायत क्षेत्रमा कार्यरत रहेका छन्। त्यस्तै वैदेशिक रोजगारीमा जान खोज्नेहरु पनि जिल्लामा नै रोजगार पाउने भएपछि उनीहरु आयोजनामा आकर्षित भएका छन्।

एउटा जलविद्युत् आयोजनामा न्यूनतम ६० देखि चार सय जनासम्मले रोजगारीका अवसर पाएका छन्। स्थानीयको सीप र शिक्षाको आधारमा आयोजनाले रोजगारी दिएको साङ्जेन जलविद्युत् आयोजना रसुवाका प्रशासकीय अधिकृत सुनिल रेग्मीले बताए। 'हाम्रो आयोजनामा प्रत्यक्ष रुपमा एकसय २० जनाले रोजगार पाएका छन् भने चारसय भन्दा बढी अप्रत्यक्ष रुपमा लाभान्वित भएका छन्,' रेग्मीले भने।

२७ मेगावट विद्युत् उत्पादन

जिल्लामा निर्माण सम्पन्न भएका दुईवटा जलविद्युत् आयोजनाबाट उत्पादन भएको २७ मेगावट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। स्वदेशी लगानीमा निर्माण भएको २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजना र पाँच मेगावाटको मैलुङखोला जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो। 

त्यस्तै जिल्लामा अहिले सातवटा जलविद्युत् आयोजना निर्माण भइरहेका छन्। दुईसय १६ मेगावाटको माथिल्लो त्रिशुली एक, एकसय ११ मेगावाटको रसुवागढी, ६० मेगावाटको त्रिसुली थ्री ए, ४२.५ मेगावाट क्षमताको सान्जेन, १४.८ मेगावाट क्षमताको माथिल्लो सान्जेन, १० मेगावटको लाङटाङखोला ६.५ मेगावटको अपर मैलुङ निर्माण भइरहेका छन्।

त्यसैगरी ७८ मेगावटको साङ्जेन खोला र एकसय २० मेगावाटको रसुवा भोटेकोसी प्रस्ताव गरिएको छ। अहिले निर्माण भइरहेका आयोजना दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी कार्य भइरहेको छ।

प्रकाशित: १२ भाद्र २०७४ ०५:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App