८ वैशाख २०८१ शनिबार
अर्थ

६ गन्तव्यमा नयाँ श्रम सहचारी

काठमाडौं- रोजगारीमा सबभन्दा बढी युवायुवती जाने गन्तव्यका लागि श्रम तथा रोजगार मन्त्रालयले लामो समयपछि श्रम सहचारी र कन्सुलर नियुक्त गरेको छ। दक्षिण कोरिया, मलेसिया, संयुक्त अरब इमिरेट्स, ओमान, कुबेत र साउदी अरेबियाको जेद्दाका लागि मन्त्रालयले श्रम सहचारी र कन्सुलरको टुंगो लगाएको हो।

वैदेशिक राजगारीमा जानेमध्ये करिब ९५ प्रतिशतको छनोटमा पर्दै आइरहेका ती गन्तव्यमा श्रम सहचारी र कन्सुलर रिक्त भएको ६ महिनादेखि साढे एक वर्ष हुँदासमेत मन्त्रालयले कुनै निर्णय गर्न सकेको थिएन। रिक्त संख्याभन्दा बढीले कन्सुलर र श्रम सहचारी बन्न खोजेपछि मन्त्रालयलाई निर्णय गर्न कठिन हुँदै आएको थियो।

श्रम सहचारी र कन्सुलर नियुक्तिका लागि अघिल्लो वर्षदेखि नै मन्त्रालयले कार्यविधि बनाउन थालेको थियो। ती कार्यविधिमा विवाद बढेपछि कुनै निर्णय हुन सकेको थिएन।  पछिल्लो कार्यविधिमा ज्येष्ठता तथा अनुभवका लागि २० नम्बर, अंग्रेजी भाषामा १०, विषयवस्तुको प्रस्तुतिकरणमा १० र मन्त्रालयका सचिवले ५ नम्बर दिने व्यवस्था थियो।

अहिलो सोही प्रावधानमा रहेर श्रम सहचारी र कन्सुलर नियुक्त गरिएको मन्त्रालयले जनाएको छ। तर, मन्त्रालयका कतिपय प्रतिस्पर्धीले भने अहिले पनि कार्यविधि निर्माण गर्दा चलखेल भएको गुनासो गरेका छन्। …ज्येष्ठता तथा अनुभवको नम्बर, प्रस्तुतीकरण र सचिवले दिने नम्बरमा पारदर्शी देखिँदैन,' असन्तुष्ट एक कर्मचारीले भने, …चार वर्षदेखि श्रम तथा रोजगार मन्त्रालयमा कार्यरत कर्मचारीलाई काखा र अन्यत्रबाट सरुवा भएर आएकालाई पाखा गरिएको छ।'

जुनसुकै मन्त्रालयमा कार्यरत भए पनि एउटै पदमा लामो समयदेखि कार्यरतलाई प्राथमिकता दिएको भए छनोट प्रक्रियालाई पक्षपातरहित भन्न मिल्ने उनको भनाइ छ। छनोट गरिएका कन्सुलर र श्रम सहचारीलाई मन्त्रालयले कार्यविभाजन समेत गरिसकेको छ।

उपसचिव तहका कर्मचारी रहने दक्षिण कोरियास्थित राजदूतावासको कन्सुलरमा डिल्लीराम बास्तोला र मलेसियामा बद्रीकुमार कार्कीलाई नियुक्त गरिएको छ। त्यसैगरी शाखा अधिकृत रहने श्रम सहचारीमध्ये संयुक्त अरब इमिरेट्सस्थित दूतावासमा मोतिराम भुसाल, ओमानमा कृष्णाकुमारी गौली, कुबेतमा ज्ञानेन्द्र शर्मा र साउदी अरेबियाको जेद्दामा राजु कुँवरलाई पठाइएको छ।

छनोट भएका कन्सुलर र सहचारीलाई केही समय परराष्ट्र मन्त्रालयले आवश्यक प्रशिक्षण दिएपछि सम्बन्धित गन्तव्यमा पठाइने मन्त्रालयले जनाएको छ। महिनामा दुई लाख रुपैयाँ भन्दा बढी पारिश्रमिक पाइने र दुई वर्षसम्म गन्तव्य मुलुकमा काम गर्न पाइने भएकाले निजामती सेवामा कन्सुलर र सहचारीलाई निकै आकर्षक मानिन्छ।

प्रकाशित: १२ भाद्र २०७४ ०५:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App