६ वैशाख २०८१ बिहीबार
खेल

नेपाल उपाधि विमुख

काठमाडौं- छिमेकी प्रतिद्वन्द्वी भारतसँग आइतबार घरेलु मैदानमा २–१ ले निराश भएपछि पहिलो साफ यु–१५ च्याम्पियनसिपमा उपाधि जित्ने नेपालको लक्ष्य असफल भएको छ। सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सुरुमा अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा नेपाल उपाधिबाट विमुख हुनुपरेको थियो। मध्यान्तर हुन चार मिनेट बाँकी रहँदा ब्रिजेश चौधरीको पेनाल्टी गोलमा अग्रता लिए पनि नेपालले दोस्रो हाफमा नतिजा सुम्पिएको थियो। भारतका लागि ५९औं मिनेटमा लालरोकिमाले बराबरी गोल गरे भने समय सकिन १५ मिनेट बाँकी रहँदा कप्तान विक्रमप्रताप सिंहले विजयी गोल गरेका थिए।

नेपालका प्रशिक्षक सुनीलकुमार श्रेष्ठले भारत कठिन प्रतिद्वन्द्वी भए पनि नेपाली खेलाडीले बलियो चुनौती पेस गरेको भन्दै चित्त बुझाए। ‘अनुभवको कमी भए पनि खेलाडीहरूले राम्रो प्रदर्शन गरे। हामीले राम्रो खेलेर पनि नतिजा ल्याउन सकेनौं,’ श्रेष्ठले भने, ‘सुरुमा अग्रता लिए पनि दोस्रो हाफमा प्रदर्शन सन्तोषजनक भएन। टोली अनावश्यक दबाबमा आयो। रक्षापक्तिको तालमेलमा समस्या हुँदा भारतले त्यसको फाइदा उठायो। हामी कमजोर टोली होइनौं। खेलाडीले प्रत्येक खेलमा आफूलाई प्रमाणित गर्र्दै लगे। तर दुर्भाग्यवश भारतविरुद्ध पहिलो हाफमा देखिएको ‘टिम स्पिरिट’ दोस्रो हाफमा देखिएन।’

श्रेष्ठले प्रतियोगिता एएफसी यु–१६ च्याम्पियनसिप छनोट चरणको तयारीका लागि राम्रो अवसर भएको बताउँदै यसले खेलाडीहरूको मनोबल बढाउने बताए।

घरेलु मैदानमा हुने छनोट चरणको समूहमा नेपालले भारतसँगै साबिक विजेता इराक र प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्नेछ। 'नेपाल र भारतको स्तर समान भए पनि अन्य दुई टोली धेरै माथि छन्। त्यसैले हामीले राम्रो तयारी गर्नुपर्छ,’ प्रशिक्षक श्रेष्ठले भने।

मियोराङथेम थोइबा सिंहले स्ट्राइकर रञ्जन पुनलाई लडाएपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो। जसमा ब्रिजेशको प्रहार क्रसबारमा लाग्दै गोलमा परिणत भएपछि नेपालले खेलमा अग्रता लिएको थियो। नेपालको अग्रता धेरैबेर टिक्न सकेन। नेपाली रक्षकहरूले राम्ररी क्लियर गर्न नसकेको बललाई अगाडि बढाउँदै लालरोकिमाले भारतका लागि बराबरी गोल गरेका थिए। भ्रमणकारी टोलीका कप्तान विक्रमले गिभ्सन सिंह मियोराङथेमबाट आएको क्रसलाई नियन्त्रणमा लिँदै तीन नेपाली रक्षक छलाएर विजयी गोल गरे।

भाारतका प्रशिक्षक बालियानो फर्नान्डेजले उपाधिबाट एएफसी छनोट चरणका लागि टोलीको मनोबल उच्च भएको बताए।

‘पहिलो हाफमा आफ्नै गल्तीले हामी अनावश्यक दबाबमा पर्‍यौं,’ पहिलो हाफको अन्त्यमा बलले गोललाइन पार गरे पनि रेफ्रीले गोल नदिएकोमा गुनासो गर्दै उनले भने, ‘दोस्रो हाफमा हामीले कम गल्ती गर्‍यौं। आफ्नो रणनीतिमा खेल्यौं। त्यसमा हामी सफल पनि भयौं।'

दोस्रो मिनेटमा रक्षक रन्दिप पौडेलको प्रहार पोस्ट नजिकैबाट बाहिरिँदा नेपालले अग्रता लिने मौका गुमाएको थियो। त्यस्तै सातंांै मिनेटमा दर्शन गुरुङले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार अकासिएको थियो। दोस्रो हाफको सुरुमै नेपालले अग्रता दोब्बर पार्ने सुनौलो अवसर पाएको थियो। ४६औं मिनेटमा रन्जनको पासमा ब्रिजेसले गरेको प्रहार बाहिरिएको थियो। ८८औं मिनेटमा रन्दिपको पासमा रञ्जनले गरेको प्रहार भारतका गोलकिपर लालबैखुला जोङटीले रोक्दा नेपालले खेलमा फर्कने अवसर खेर फालेको थियो।

यता नवौं मिनेटमा गिभ्सन सिंहको पासमा मियोराङथेमलले गरेको प्रहार नेपालका गोलकिपर विशाल सुनारले बचाएपछि भारत अग्रता लिने मौकामा चुकेको थियो। पहिलो हाफको इन्जुरी समयमा विक्रमको प्रहार रक्षक सञ्जीव अर्यालले विपल पारेपछि भारत निराश बनेको थियो। ५७औं मिनेटमा गिभ्सन सिंहले गरेको फ्रिकक क्रसबारमा लागेर फर्कंदा भारतले खेलमा फर्कने अवसर गुमाएको थियो। यसै गरी तेस्रो स्थानका लागि भएको खेलमा बंगलादेशले भुटानलाई ८–० ले पराजित गर्‍यो।

प्रतियोगितामा भारतका विक्रम सर्वोत्कृष्ट खेलाडी भए भने ६ गोल गरेका बंगलादेशका मोहम्मद फौसल फाहिमले उच्च गोलकर्ताको पुरस्कार जिते। त्यस्तै बंगलादेशले फ्लेयर प्लेको अवार्ड जित्यो।

प्रकाशित: १२ भाद्र २०७४ ०५:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App