coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

वीरगन्जमा लाग्यो चुनाव, यस्ता छन् मेयरका दाबेदार

वीरगन्ज- तेस्रो चरणमा हुन लागेको प्रदेश नं. २  को स्थानीय तह चुनाव नजिकिँदै गर्दा वीरगन्ज महानगरको वातावरण तात्न थालेको छ। केही दिनअघि तराईमा आएको बाढी र त्यसबाट निम्तिएको डुबान समस्याबाट वीरगन्ज पनि अछुतो रहेन। तर, बाढी र डुबानले वीरगन्जमा स्थानीय तह चुनाव उत्साह गलाउन सकेन। बरु बाढीपीडितलाई राहतको नाममा चुनावी राजनीति झनै बढ्यो।

वीरगन्ज महानगरलाई रणनीतिक रुपमा महत्वपूर्णरुपमा मूल्यांकन गर्दैै दलहरु बलिया उम्मेदवार खोज्दै छन्। यस क्रममा संगठनमा आबद्धता र भूमिकाको पृष्ठभूमि छायामा पर्ने अवस्थासमेत देखिएको छ।

यति बेला राजनीतिक दल पर्साका १० गाउँपालिका, ३ नगरपालिका र वीरगन्ज माहानगरपालिकाका लाग उम्मेदवार टुंगो लगाउन गृहकार्यमा व्यस्त छन्।  वीरगन्ज महानगरलाई रणनीतिक रुपमा महŒवपूर्णरुपमा मूल्यांकन गर्दैै दलहरु बलिया उम्मेदवार खोज्दै छन्। यस क्रममा संगठनमा आबद्धता र भूमिकाको पृष्ठभूमि छायामा पर्ने अवस्थासमेत देखिएको छ।

कांग्रेसबाट द्विवेदी भिड्दै

नेपाली कांग्रेसले वीरगन्जको मेयरका लागि पर्सा जिल्ला सभापति अजयकुमार द्विवेदीलाई मैदानमा उतारेको छ। सो पार्टीबाट १३ जना दाबेदार रहेकोमा दह्रो उम्मेदवारको खाजीमा कांग्रेसले उनलाई अगाडि सारेको जिल्ला सचिव श्याम पटेलले बताए।

द्विवेदीले पनि महानगरका विभिन्न वडामा दौडाहा बढाएका छन् भने कार्यकर्ता उनका लागि भोट माग्दै सामाजिक सञ्जालका भित्तामा सक्रिय बनेका छन्। विगतमा द्विवेदी वीरगन्जको उपमेयर र पहिलो संविधानसभामा पर्सा क्षेत्र नं. २ बाट सभासद् थिए। दोस्रोपटकको संविधानसभा निर्वाचनमा सोही क्षेत्रमा उनी पराजित भएका थिए। उनी सालिन नेताका रुपमा चिनिन्छन्। अरु दलका नेताको भनाइमा वीरगन्जमा कांग्रेसबाट द्विवेदी लडेपछि अरु जोकोहीको पनि उनैसँग मुख्य प्रतिस्पर्धा हुनेछ। बलियो उम्मेदवारकै खोजीमा कांग्रेस केन्द्रीय नेताले अन्य दर्जन आकांक्षीलाई किनारा लगाउँदै द्विवेदीलाई मैदानमा उतारेका हुन्।

एमालेले महमद अन्सारीलाई अघि सार्‍यो

बलियो उम्मेदवारको खोजीमै नेकपा एमालेले आर्थिक रुपमा निकै सम्पन्न मुस्लिम उम्मेदवारलाई मैदानमा उतारेको छ। मधेस आन्दोलनमा अपजस खेपेको एमालेले यहाँको नेसनल मेडिकल कलेजका प्रबन्धनिर्देशक महमद बसरुद्दिन अन्सारीलाई मेयर उम्मेदवारका रुपमा अघि सारेको छ। पार्टीबाहिरबाट खोजेर ल्याइएका अन्सारीले दैनिक महानगरका विभिन्न टोलमा चुनावी कार्यक्रम तीव्र पारेको पार्टीका पर्सा संयोजक प्रभु हजराले बताए। गत संविधानसभा चुनावमा अन्सारी पर्सा क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रका उम्मेदवार थिए। पार्टी जिल्ला कमिटीको सिफारिस सूचीमा समेत अन्सारी परेका थिएनन्। मिठो बोली भएका अन्सारी ठट्यौली व्यवहारका लागि पनि चिनिन्छन्।

माओवादी केन्द्रबाट रहबर अन्सारी

माओवादी केन्द्रले युवा वर्गमा लोकप्रिय रहबर अन्सारीलाई मैदानमा उतारेको छ। विदेशमा उच्च शिक्षा हासिल गरेका रहबर वीरगन्जमा एउटा निजी अस्पतालका सञ्चालक पनि हुन्। वीरगन्ज महानगरका लागि उम्मेदवार टुंग्याउने जिम्मा पाएकी इन्चार्ज उर्मिला अर्यालसहित आफूले पनि रहबरको नाम सिफारिस गरेर पठाइसकेको जानकारी दिँदै माओवादी केन्द्रका जिल्ला संयोजक विजय महतोले उनी नै उम्मेदवार बन्नेमा सन्देह नभएको बताए।

राजनीतिक अनुभव नभए पनि मेयर उम्मेदवारको रुपमा चर्चामा आएको दुई महिनाभित्रै पहिचान विस्तार गर्न सफल भएका रहबरले युवा वर्ग, मुस्लिम र पार्टीप्रति प्रतिबद्ध मत एकत्रित गर्न सक्ने माओवादी केन्द्रका नेताको अनुमान छ। रहबरले पनि चुनावी गतिविधि अघि बढाइसकेका छन्। विगतका दुई संविधानसभा निर्वाचनमा पर्सामा निकै पछाडि देखिएको माओवादीलाई वीरगन्ज महानरगमा रहबरले प्रतिस्पर्धामा लैजाने सो पार्टीसम्बद्ध नेताहरुको विश्वास छ।

फोरम नेपालबाट सरावगी

संघीय समाजवादी फोरम नेपालबाट उद्योगपति तथा सामाजिक व्यक्तित्व विजयकुमार सरावगीलाई मेयर उम्मेदवारका रुपमा अगाडि सारिएको छ। फोरम नेपालले चुनाव जित्ने रणनीतिअनुसार सरावगीलाई टिकट दिएर मैदान उतारेको हो। वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघको दुईपटक सदस्य भइसकेका सरावगी  विभिन्न सामाजिक संघसंस्थामा आबद्ध छन्। यसअघि स्वतन्त्ररुपमा सामाजिक क्षेत्रमा सरावगीले गर्दै आएको कार्य अहिले फोरमको चुनाव चिह्नअन्तर्गत गर्न थालेका छन्। यसले कांग्रेस र एमालेलाई टक्कर दिएको छ। फोरमले प्रत्येक दिन सभा–समारोह र औपचारिक कार्यक्रम गर्दै आएको छ।

सामाजिक क्षेत्रमा योगदान गर्ने र पार्टी प्रवेश गराउने कार्यक्रमलाई फोरमले प्राथमिकतामा राखेको छ। बाढीपीडितलाई राहत वितरणमा अग्रणी देखिएको फोरमले सरावगीको व्यापारिक तथा समाजसेवी पृष्टभूमि र मधेस आन्दोलनमा श्रेय दाबी गर्दै सफलता पाउने रणनीति लिएको देखिन्छ।

राजपाले अझै टुंगो लगाएन

राष्ट्रिय जनता पार्टीले मेयरका बलिया दाबेदार दुईजना देखिएपछि नाम टुंगो लगाउन सकेको छैन। राजपा वीरगन्जमा बलियो भएको हुनाले दाबी गर्नेहरु पछि नहट्ने स्थिति देखिएको र १५ गतेसम्म नाम टुंगो लाग्ने राजपा माहासचिव शिव पटेलले बताए। राजपाका दुई मुख्य आकांक्षीमा राजेशमान सिंह र विमलप्रसाद श्रीवास्तव छन्। सिंह युवा वर्गमाझ लोकप्रिय छन्। जुझारु प्रवृत्तिका सिंह पछिल्ला आन्दोलनमा सक्रिय रहे। ठेक्कापट्टा व्यवसायको पृष्टभूमि रहेका उनी शरद्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टीबाट पर्सा क्षेत्र नम्बर १ मा दोस्रो संविधानसभा निर्वाचनमा उम्मेदवार थिए। यस्तै श्रीवास्तव पञ्चायत कालमा नगर पञ्चायतको प्रमुख र पछि पटकपटक मेयर भएर वीरगन्जको नेतृत्व गरिसकेका व्यक्ति हुन्। उनको आफ्नो निश्चित भोटबैंक भएको बताइन्छ। आफ्नो निश्चित भोट बैंकमा पक्कड राख्ने वीरगन्जका दिग्गज नेताको रुपमा श्रीवस्तवलाई गिन्ती गरिन्छ। उनी पर्सा क्षेत्र नं. १ बाट दुईपटकका संविधानसभा निर्वाचनमा उम्मेदवार थिए।

प्रकाशित: १२ भाद्र २०७४ ०४:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App