coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

विकासको खाका ल्याउनेलाई भोट

राजविराज- सामान्य वर्षामा पनि राजविराजका मुख्य सडक हिँडन लायक हुँदैनन्। खाल्डैखाल्डाले भरिभराउ सडकमा वर्षाको पानी जमेपछि आवतजावत गर्न कठिन हुन्छ। राजविराज सप्तरी जिल्लाको सदरमुकाम मात्रै हैन, यो मुलुककै पहिलो प्लानिङ सिटी (व्यवस्थित योजनासहित बसाइएको¬) सहर हो।

 प्रत्येक चार घरपछाडि सानो गल्ली, सहायक तथा मेन रोड मिल्ने ठाउँमा चोक र व्यवस्थित ढल निकास। कुनै बेला राजविराजको 'विकासीय सिम्बल' का रूपमा रहेको यहाँका अधिकांश सहायक सडक तथा गल्लीहरू हाल अतिक्रमित छन्।

'राजनीतिक द्वन्द्वले यहाँबाट पुँजी मात्रै पलायन भएन, यहाँको पहिचान पनि धुमिलियो, नगरको विकाससँगसँगै पुरानो पहिचान कसरी फर्काउन सक्ने व्यक्तिलाई  भोट हाल्छौं।'

अतिक्रमण, अव्यवस्थित ढल निकास र फोहरमैलाका कारण 'व्यवस्थित नगरी'  राजविराजा अहिले कुरूप बन्दै गएको छ। नगर क्षेत्रका प्रायः जसो गल्लीहरू डम्पिङ साइट तथा सार्वजनिक शौचालयमा परिणत भएका छन्।

बर्सेनि करोडौं बजेट लगानी भए पनि अतिक्रमण, ढल निकास तथा फोहरमैला व्यवस्थापन गर्न नसक्दा राजविराज नगरपालिकाको स्वरुप बिग्रंदै गएको छ।

सप्तरीलगायत तराई/मधेसका जिल्लामा यतिखेर देखिएको चुनावी चटारोबाट राजविराज पनि अछुतो छैन। 'चुनावमा कस्तालाई जिताउने' भन्ने चर्चाले चोकचोकदेखि चियापसलसम्ममा व्यापकता पाएका छन्। 'कम्तीमा राजविराजको  परिचय फर्काउन सक्ने' उम्मेदवार बहुसंख्यक नगरवासीको प्राथमिकता बन्न पुगेको छ।

'स्मार्ट सिटी, हरित सिटी, स्वच्छ र सुन्दर नगरी जस्ता थुप्रै नारा दिइँदैछन्', स्थानीय फोटो स्टुडियो सञ्चालक पंकज भगत भन्छन्, 'मन लोभ्याउने चुनावी नारा हैन, विकासको स्पष्ट खाका चाहियो। एक दशकअघि राजविराज जुन अवस्थामा थियो, कम्तीमा त्यतिसम्म गर्न सक्ने योजना र क्षमता भएका उम्मेदवार हाम्रो प्राथमिकता हो।'

 दोस्रो जनआन्दोलनपछिका विभिन्न सडक तथा भूमिगत आन्दोलन, बन्दहडताल र नाकाबन्दीले तराई/मधेसका सबैभन्दा बढी प्रभावित भएको ठाउँमध्ये राजविराज अग्रस्थानमा पर्छ। 'राजनीतिक द्वन्द्वले यहाँबाट पुँजी मात्रै पलायन भएन, यहाँको पहिचान पनि धुमिलियो', भगतले भने, 'नगरको विकाससँगसँगै पुरानो पहिचान  फर्काउन सक्ने व्यक्तिलाई भोट हाल्छौं।'

१९८६ सालमा सप्तरीको पुरानो सदरमुकाम हनुमाननगर कोसी कटानका कारण क्षतविक्षत हुन थालेपछि राजविराज नगरपालिकाको परिकल्पना भएको हो।

पूर्वी नेपालका तत्कालीन कमान्डिङ अफिसर जनरल बबरशमशेर र उनका सहयोगी प्रकाशशमशेर जबराको परिकल्पनामा इन्जिनियर डिल्लीजंग राणाले यसको नक्सांकन गरे। त्यतिबेला ६० बिघा क्षेत्रफलमा नक्सांकन गरिएको राजविराजलाई मुलुककै पहिलो प्लानिङ सिटी पनि भनिन्छ। १९९८ सालमा राजविराजमा सदरमुकाम सारियो। २०१६ सालमा यसलाई नगरपालिका घोषणा गरिएको हो।

तर राजनीतिक व्यवस्थामा परिवर्तन भएसँगै राजविराजको पहिचान बिस्तारै खस्किँदै गएको स्थानीय थानसिंह भन्साली बताउँछन्। पाँच दशकअघिदेखि राजविराजमा बस्दै आएका भन्सालीका अनुसार राणा शासन र पञ्चायती व्यवस्थाको अन्त्य भएदेखि नै राजविराजमा अतिक्रमण हुन थालेको हो।

'त्यति बेलाका प्रतिनिधिले पनि खासै चासो देखाएनन्', नागरिक समाज सप्तरीका अध्यक्षसमेत रहेका उनले भने, 'लामो समय जनप्रतिनिधिविहीन हुँदा राजविराज थप अव्यवस्थित भएको हो।'

आगामी निर्वाचनमा विभिन्न राजनीतिक आवरण र स्वार्थभन्दा माथि उठेर क्षमतावान् उम्मेदवारलाई मतदान गर्ने भन्सालीले बताए।

'यतिखेर चुक्यांै भने हामी अझै पछाडि धकेलिनेछौं', उनले भने, 'सुन्दर र व्यवस्थित राजविराज नगरको परिकल्पना जादुको छडीले पूरा हुँदैन, क्षमतावान् नेतृत्वले मात्रै सम्भव हुन्छ।'

मुख्य सडक तथा गल्ली जीर्णाेद्धार, अतिक्रमण नियन्त्रण, छाडा सुँगुर तथा पशुचौपाया नियन्त्रण, व्यवस्थित पार्किङ, बसपार्क निर्माण तथा सञ्चालन, सार्वजनिक शौचालयको व्यवस्थापनलगायतका मुद्दा राजविराजका साझा समस्या हुन्। यस्ता समस्या समाधान गर्ने उम्मेदवारलाई मतदमान गर्ने उनीहरू बताउँछन्।

'राजनीतिक अजेन्डाले स्थानीय तह चल्ने हैन, स्थानीय तह त विकासको अजेन्डाले चल्ने हो', स्थानीय युवा सन्तोष देवले भने, 'अधिकार र पहिचानको कुरा, अस्तित्वको लडाइँजस्ता अजेन्डा प्रदेश र केन्द्रको चुनावका लागि छाडेर स्थानीय मुद्दाका आधारमा मैदानमा उत्रिन उम्मेदवारलाई आग्रह छ। यस पटक भोट तिनै मुद्दाका आधारमा हाल्ने हो।'

उनले भने, 'अतिक्रमण कसरी हटाउनु हुन्छ? छाडा सुँगुर नियन्त्रण गर्ने कस्तो योजना छ? फोहोरमैला कसरी व्यवस्थित गर्नुहुन्छ? पार्किङको समस्या समाधान गर्ने योजना छ वा छैन? हामी यस्ता समस्या समाधानका निम्ति योजनासहित आउने उम्मेदवारलाई जिताउन चाहन्छौं।'

पूर्वमेयरदेखि ठेकेदारसम्म आकांक्षी

मतदातामाझ चुनावी चर्चापरिचर्चाले तीव्रता पाए पनि ठूला दलहरूले राजविराजमा उम्मेदवार घोषणा गर्न सकेका छैनन्। आकांक्षीहरु पार्टीभित्र टिकटका लागि लबिङमा व्यस्त छन्। केही आकांक्षी भित्रभित्रै प्रचारप्रसार अभियानमा समेत जुटेका छन्।

फोरम नेपाल, फोरम लोकतान्त्रिक र एमालेले मात्र राजविराज नगरपालिकाका लागि मेयर पदका उम्मेदवारको नाम सार्वजनिक गरेका छन्। फोरम लोकतान्त्रिकका तर्फबाट जिल्ला अध्यक्ष एवम् राजविराज नगरपालिकाका पूर्वमेयर शैलेश चौधरीको नाम अघि सारिएको छ।

संघीय समाजवादी फोरम नेपालले राजपा छाडेर फोरम नेपालमा प्रवेश गरेका इँटा भट्टा सञ्चालक एवम् निर्माण व्यवसायी भीमराज यादवलाई अघि सारेको छ। सदभावना पार्टीसँग आबद्ध भएर लामो समयदेखि मधेसको राजनीतिमा सक्रिय यादवलाई राजपाले टिकट दिने सम्भावना नदेखिएपछि उनी फोरम प्रवेश गरेका हुन्।

फोरम नेपालले टिकट नदिने देखेर एमाले प्रवेश गरेका सुखराम यादव पहिलो चरणकै निर्वाचनका बेलादेखि चुनाव प्रचारमा छन्।

 नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी नेपालले उम्मेदवारको नाम  सार्वजनिक गर्न सकेका छैनन्। कांग्रेस सप्तरीका सभापति दिनेश यादवले २/३ दिन भित्रै उम्मेदवारको टुंगो लगाउने बताए। कांग्रेसबाट शशिकुमार माझी, इर्साद अन्सारी, ध्रुव देव, शम्भुलाल देवलगायत मेयर पदमा आकांक्षी छन्।

टिकटको टुंगो लगाउन अझै एक/दुई दिन लाग्न सक्ने राजपा सप्तरीले जनाएको छ।

 माओवादी केन्द्रका सप्तरी इन्चार्ज एवम् सांसद सदस्य अशोककुमार मण्डलले भने, 'हामी अन्तिम तयारीमा छौं। सोमबार बिहानसम्म उम्मेदवारको टुंगो लाग्छ।'

प्रकाशित: १२ भाद्र २०७४ ०३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App