८ वैशाख २०८१ शनिबार
समाज

पहिरोले भक्तपुरका भूकम्पपीडितको उठिबास

भक्तपुर-चारदेखि परिरहेको अविरल वर्षाले पहिरो आउँदा भक्तपुरको नगरकोट सडक छेउछाउका बस्ती पहिरोको जोखिममा परेका छन्। भूकम्पले घर भत्केपछि सडक छेउछाउ टहरा बनाएर बसेका पीडित चार दिनयताको अविरल वर्षासँगै पहिरो जान थालेपछि टहराबाट पनि उठिबास भएका छन्।

पहिरोकै कारण नगरकोट नगरपालिका–११ तेलकोटका दुई परिवार विस्थापित भएका छन् । भूकम्पपछि टहरामा बसिरहेका नवराज लामिछाने र ईश्वर लामिछानेको परिवार विस्थापित भएका हुन् । वर्षासँगै पहिरो जान थालेपछि पहिरोमा परेपछि टहराबाट सामान मंगलबार बिहान निकाली अन्यत्र सारिएको छ । पहिरोबाट मानवीय क्षति भने हुन पाएन ।

नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष दीपक लामिछानेले अविरल वर्षाले सोमबार रातभरि उद्धारमा लागेको बताए । निरन्तरको वर्षाले सोमबारदेखि नै पहिरो जान थालेपछि हामी मानविय क्षति नहोस् भनी रातभर उद्धारमा खटियौं, अध्यक्ष लामिछानेले नागरिकसँंग सुनाए, हाम्रै प्रयासले कुनै मानविय क्षति हुन पाएन ।

पीडित नवराज लामिछानेले भूकम्पपछि टहरामा वसिरहेको चार जनाको परिवारलाई वर्षाले उठिबास लगाइदिएको भन्दै दुख व्यक्त गरे । पहिरोले क्षतिग्रस्त घरबाट प्रहरी र स्थानीयले सामान निकाल्दै विहान अन्यत्र सारेका थिए ।

महानगरीय प्रहरी प्रभाग खरिपाटीका प्रमुख सई सुरेश केसीले अविरल वर्षाले तेलकोट मात्रै नभई विभिन्न ठाउँंका बासिन्दा पहिरोको जोखिममा परेको जनाए ।  उनका अनुसार अहिले तेलकोटसहित नगरकोट नगरपालिका वडा नं ११ मुहानपोखरीका तीन, चाँगुनारायण नगरपालिका वडा नं ४ भद्रकालीका एक परिवार पहिरोको खतरामा रहेको सूचना आएको जनाए । ठाउँंठाउँंबाट पहिरोले जोखिम भयो भनेर विशेष गरी पहाडी क्षेत्रका पीडितबाट खवर आइरहेका छन्, उनले नागरिकसँंग जनाए । उनका अनुसार अधिकांश पीडित भूकम्पबाट विस्थापित भई टहरामा वसिरहेकाहरु हुन् ।

निरन्तरको पहिरोका कारण मंगलबार विहान नगरकोट सडक पनि अवरुद्ध भएको थियो । भक्तपुर कमलविनायकदेखि नगरकोट जाने सडकको ठाउँठाउँंमा पहिरो आउँंदा सडक अवरुद्ध भएको थियो । सडक फराकिलो बनाउने काम भइरहेकाले पनि सडकमा वढी पहिरो आउने गरेको जनाइएको छ । सडकको मुहानपोखरी नजिकै काम भइरहेकोले मगलबार विहान त्यहाँं पहिरो गई विहानभर सडक अवरुद्ध भएको थियो ।

भक्तपुर जलमग्न

चारदिनदेखि अविरल भइरहेको बर्षाले भक्तपुर जिल्लाका ठाउँंठाउँंका क्षेत्र जलमग्न भएका छन् । हनुमन्ते खोलामा आएको बाढीले यहाँंका स्कुल, हस्पिटललगायतका महत्वपूर्ण संस्थाहरु डुवानमा परेका छन् । भक्तपुर नगरपालिका वडा नं ११ भेलुखेलस्थित सिद्धि स्मृति महिला तथा बालबालिका अस्पताल डुवानमा परेका छन् । साथै भक्तपुर नगरकै राममन्दिरस्थित श्री शान्ति निकेतन माध्यामिक विद्यालय डुवानमा परेका छन् । टहरामा रहेका विद्यालयका कक्षाकोठा डुवानमा परेकाले मंगलबार कक्षा ८, ९ र १० कक्षाको पढाई मात्रै गर्न सकेको प्रिन्सिपल रामगोपाल कर्माचार्यले बताए । कक्षाकोठाको अभाबमा त्यो भन्दा तल्लो तहका कक्षा सञ्चालन गर्न नसकिएको उनले बताए । भूकम्पपछि यो स्कुलका केही कक्षा टहरा त केही कक्षा पुरानो भबनको पहिलो र दोश्रो तल्लामा चलिरहेको छ । माथिल्ला तल्ला खतरामा रहेकोले त्यहाँं कक्षा सञ्चालन गरिएको छैन ।

वर्षाले भक्तपुर नगरपालिका वडा नं ६ हनुमानघाटस्थित श्री वालसेवक निम्न माध्यामिक विद्यालय पनि डुवानमा परेको छ । साथै भक्तपुरको बाराहीस्थान पनि डुवानमा परेको छ ।

यता भक्तपुर र मध्यपुर थिमिको सिमाना रहेका विभिन्न ठाउँंहरु पनि डुवानमा परे । हनुमन्ते खोलामा आएको बाढीकै कारण अरनिकारे राजमार्ग ठिमी क्षेत्रका दायाँंबायाँंका क्षेत्र डुवानमा परेका हुन् । श्यामाश्यामा धामलगायतका आसपासका क्षेत्र डुवानमा परेका हुन् । साथै शशश्त्र प्रहरीको पेटोल पम्पमा पनि पेटोल भर्न जान नमिल्ने गरी विहान डुवानमा परेको थियो ।

 

 

प्रकाशित: १२ श्रावण २०७३ ०३:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App