७ वैशाख २०८१ शुक्रबार
समाज

मेलम्ची पाइपलाइन विस्तारको ठेक्का तोड्ने तयारी

काठमाडौं- काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्ची खानेपानीको मुख्य प्रसारण पाइपलाइन विस्तार गर्ने जिम्मा पाएको भारतीय कम्पनी जेआइटिएफसँगको ठेक्का रद्द गर्ने भएको छ। ठेकेदार कम्पनीको काम सन्तोषजनक नभएको भन्दै ठेक्का रद्द गर्ने तयारी थालिएको हो। जेआइटिएफले महांकाल–चुच्चेपाटी, चाबहिल–महाराजगन्ज हुँदै बाँसबारीसम्म मुख्य प्रसारण लाइन र दुइटा रिजर्भ्वायर ट्यांकी बनाउने ठेक्का पाएको थियो।

विदेशी परामर्शदाता दोहा इन्जिनियरिङ कन्सल्ट्यान्टले जेआइटिएफको काम सन्तोषजनक नभएको भन्दै ठेक्का रद्द गर्न सिफारिस गरेको निर्देशनालयका एक अधिकारीले बताए। 'ठेक्काअनुसार काम नभएको भन्दै कन्सल्ट्यान्टले  सम्झौता रद्द गर्न सिफारिस गरेको छ,' ती अधिकारीले भने, 'निर्देशनालयले तत्कालै रद्द गर्छ कि गर्र्दैन त्यो अहिले नै भन्न सकिँदैन।'

खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले निर्धारित समयमा काम नगरेकाले ठेकेदार कम्पनीलाई चेतावनी दिइएको बताए। 'ठेक्का अनुसार कार्यसम्पादन नभएकाले ठेकेदारलाई समयमै काम गर्न चेतावनी दिएका  छौं,' उनले भने, 'ठेक्का नै रद्द गर्ने कुरा अहिलेसम्म भएको छैन।' उनका अनुसार ठेकेदार कम्पनीले सम्झौताबमोजिम काम नगरे निर्देशनालयलाई ठेक्का तोड्ने अधिकार छ। ठेक्का रद्द गर्ने तयारीसँगै आगामी पुस मध्यसम्म काठमाडौं उपत्यकामा खानेपानी ल्याउने लक्ष्य पुनः प्रभावित हुने संकेत देखिएको छ।

निर्देशनालयले करिब डेढ अर्ब रुपैयाँमा भारतीय ठेकेदार कम्पनी जेआइटिएफलाई करिब १२ किलोमिटर खानेपानीको मुख्य प्रसारणलाइन तथा महाकांल र आरुबारीमा गरी दुइटा रिजर्भ्वायर ट्यांकी बनाउने ठेक्का दिएको थियो। निर्देशनालयका उपकार्यकारी निर्देशक सूर्यराज कँडेलले ठेकेदार कम्पनीले खानेपानी प्रसारण लाइन र भल्व जडानको कार्य अझै  नसकेको बताए। 'ठेकेदार  कम्पनीले काम नियमित गरेको छैन। जसका कारण पाइपलाइन विस्तारमा ढिलाइ भइरहेको छ,' उनले भने, 'ठेकेदारसँग तुरुन्तै सम्झौता रद्द गर्नेभन्दा पनि काम अगाडि बढाउनेतर्फ अग्रसर भइरहेका छौं।' ठेकेदार कम्पनीले  काममा आलटाल गरे निर्देशनालय चुप लागेर नबस्ने उनको भनाइ छ।

 निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले ठेकेदार कम्पनीले खानेपानीको मुख्य प्रसारणलाइन विस्तार सम्पन्न गर्न अझै एक किलोमिटर बाँकी छ। ठेकेदार कम्पनीले महांकालमा रिजर्भ्वायर ट्यांकी निर्माण सम्पन्न गरिसकेको छ। निर्देशानलयका अनुसार आरुबारीको रिजर्भ्वायर ट्यांकीको काम पनि ७० प्रतिशत सकिएको छ।

महाकांल–चुच्चेपाटी, चाबहिल–महाराजगन्जलगायत स्थानमा खानेपानीको भल्व जडान, प्रेसर चेकिङलगायत काम गर्न भने बाँकी छ। प्रवक्ता ढकालले तत्कालै भारतीय ठेकेदारसँग ठेक्का रद्द गर्ने पक्षमा नरहेको दाबी गरे। 'ठेकेदार कम्पनीले काम सन्तोषजनक नगरे जुनसुकै बेला सम्झौता रद्द गर्न सकिन्छ,' उनले भने, 'तत्कालै अप्रिय निर्णय लिनुपर्छ जस्तो लाग्दैन। ठेकेदार कम्पनीलाई  काम छिटो गर्न दबाब दिन सकिन्छ।'

प्रकाशित: १२ भाद्र २०७४ ०२:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App