coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

आफ्नै प्रतिबद्धताको बचाउ गरे देउवाले

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनबारे भारतीय नेतासँग गरेको प्रतिबद्धताको बचाउ गरेका छन्। भारतको पाँचदिने राजकीय भ्रमण सम्पन्न गरेर आइतबार साँझ स्वदेश फर्किएका देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेताहरुले के बोल्ने के नबोल्ने भन्ने विषयमा पहिल्यै नीति बनाउनुपर्ने बताए।

'पहिलो नीति बनाऊ, विदेश गएर नबोल्ने भन्या छ र?' देउवाले भने, 'नत्र कसलाई सोधेर जाने?' उनले नेताहरूले के बोल्ने र नबोल्ने भन्ने विषयमा 'कोड अफ कन्डक्ट' निर्माण हुनुपर्ने बताए। 

'मैले नेपालीको शिर ठाडो बनाउने काम गरेको छु', प्रधानमन्त्री देउवाले भने। भारतका भ्रमणका क्रममा बिहीबार हैदराबाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटमा प्रधानमन्त्री देउवाले सरकारले संविधान संशोधनका प्रस्तावका पक्षमा दुई तिहाइ पुर्‍याउन नसकेर असफल भएको बताएका थिए। उनले फेरि संसद्मा सो प्रस्ताव लैजाने र पारित हुने विश्वास भारतीय प्रधानमन्त्रीलाई दिलाएका थिए।

प्रधानमन्त्री देउवाले सरकारले अघि सारेको संविधान संशोधन प्रस्ताव ठिक भएको तर्क गरेका छन्। उनले आफूले भारतीय नेतृत्वसमक्ष संविधान संशोधनका लागि सरकारले फेरि प्रयास गर्ने भनेको बताए।

'संविधान संशोधन व्यक्तिगत नभई सरकारको प्रस्ताव हो। त्यो प्रस्ताव फेल भयो। तर यो प्रस्ताव ठिक छैन भन्ने होइन। ठिक थियो ठिक छ। यो भोलि पनि आउन सक्छ?' उनले भने, 'मधेसी जनताको भावनाअनुसार त्यो ल्याइएको हो। यसले भोलि पनि यसलाई पारित गराउने प्रयास गर्छ।'

उनले प्रमुख प्रतिपक्षी एमालेलाई पनि सहमतिमा ल्याएर संविधान संशोधन गर्ने पक्षमा आफू रहेको बताए। 'संसद्मा पनि यही कुरा राख्छु,' देउवाले भने।

प्रधानमन्त्री देउवा भारत भ्रमणमा जानुअघि संसद्मा मतदान हँुँदा संविधान संशोधन प्रस्ताव असफल भएको थियो।

देउवाले संविधान संशोधनबारे भारतीय समकक्षीसँगको पत्रकार सम्मेलनमा बोलेपछि देशभित्र आलोचना भएको थियो। प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओली मात्रै भएर सत्तारूढ घटकै शीर्ष नेताहरूले प्रधानमन्त्री देउवाको अभिव्यक्तिको आलोचना गरेका थिए। ओलीले प्रधानमन्त्री देउवाका अभिव्यक्तिले देशको शिर निहुर्‍याएको बताएका थिए।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि संसद्ले टुंग्याइसकेको विषयमा भारतमा प्रधानमन्त्रीले नबोलेको भए राम्रो हुने बताएका थिए।

नयाँदिल्लीबाट नेपाल वायुसेवा निगमको नियमित उडानबाट स्वदेश फर्किएका प्रधानमन्त्री देउवालाई विमानस्थलमा उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छेदार र गोपालमान श्रेष्ठले स्वागत गरेका थिए।

पत्रकार सम्मेलनमा देउवाले भारतीय तटबन्ध निर्माणले बनाएको डुबानको दीर्घकालीन समाधान खोज्ने,  नेपाली नम्बर प्लेटका ग्यास बुलेट सञ्चालन गर्नेसहितका विषयमा छलफल भएको बताए। 'पचेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) एक महिनाभित्र पारित हुनेछ,' देउवाले भने।

विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा भएका सम्झौता र भेटघाटबारे पनि जानकारी गराएका थिए।

प्रकाशित: १२ भाद्र २०७४ ०२:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App