१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

बाल मनोरोग

वर्षा शर्मा
मैले एक जना चिनेका साथी छन्, दीपक शर्मा । उनको ११ वर्षीय छोरा दिप्लम विद्यालय जान मान्दैन । ऊ खाली टाउको मात्र दुख्यो भनिरहन्छ । दीपकले छोराको उपचारका लागि काठमाडौँका अधिकांश अस्पतालमा देखाइसके । डाक्टरहरु हैरान छन्, यो बाबुको रोग के हो ? किनभने कैयौँ महँगा परीक्षणबाट पनि दिप्लमको रोग पहिचान हुन सकेको छैन ।
कैयौँ परीक्षणपछि चिकित्सकहरुले दीपकलाई भने, ‘यो बाबुलाई चाइल्ड डिप्रेसन भएको छ । अरु कुनै रोग लागेको छैन ।’ दीपक छाँगाबाट खसेसरी भए किनभने यति सानो उमेरमा छोरालाई किन डिप्रेसन भयो, उनले कुनै भेउ पाउन सकेका छैनन् । उनले बल्ल छोराको उपचारका लागि विभिन्न उपाय लगाइरहेका छन् ।
यो कथा बनावटी लाग्न सक्छ । एउटा सानो बच्चालाई कसरी डिप्रेसन हुनसक्छ भन्ने तपाईंले सोच्नु भएको हुनसक्छ । हुन सक्छ किनभने पछिल्लो समय बालबालिकाहरुमा डिप्रेसनको समस्या डरलाग्दो गरी बढिरहेको छ ।
यस समस्याको मुख्य जड फेरि अरु कोही होइन । हामी आमाबाबु नै हौँ । हामीले उनीहरुलाई पर्याप्त समय नदिँदा, उनीहरुको भावना बुझ्न नसक्दा, उपयुक्त किसिमको प्यारेन्टिङ (अभिभावकत्व र लालनपालन) नहुँदा यो समस्या क्रमशः बढिरहेको छ । हामी आमाबाबु सच्चिन सकेनौँ, हामीले हाम्रो जीवनशैली परिवर्तन गर्न सकेनौँ र हाम्रा लालाबालाहरुलाई उचित समय दिन सकेनौँ भने यो डरलाग्दो गरी बढ्ने देखिन्छ ।
पहिला हामी संयुक्त परिवारमा पनि बस्थ्यौँ । बालबालिकाका लागि खेल्ने दाजुभाइको कमी थिएन । माया गर्ने अभिभावक प्रशस्त हुन्थे किनभने संयुक्त परिवारमा काका–काकी, ठूलो बुवा–ठूली आमा, हजुरबा–हजुरआमाको भिड नै हुन्थ्यो । त्यसैले आफ्ना बुवा–आमा व्यस्त हुँदा पनि मायाको अभाव महसुस हुँदैनथ्यो । बदमासीमा ख्याल गरिदिने र समस्या पर्दा सहयोग गर्ने अभिभावक हुन्थे । अहिले संयुक्त परिवार दुर्लभ बनिसक्यो । एकल परिवार भएका कारण व्यस्त अभिभावकबाट आफूहरु उपेक्षित भएको महसुस बालबालिकाले गर्नु स्वाभाविक नै हो । आफ्नो करियर, व्यापार र सामाजिक कार्यमा व्यस्त हुँदा कतै आफ्ना सन्तान प्रतिको उत्तरदायित्व र माया, रेखदेख आदिमा कमी त भएको छैन भन्ने प्रश्न चिकित्सकहरुले उठाउन थालेका छन् । आमाको वात्सल्य र बुबाको न्यानो मायाबाट आफ्ना सन्तान वञ्चित त भएका छैनन् ? हामीले ख्याल गर्नुपर्ने बेला आएको छ । समयको परिवर्तनसँगै नयाँ पिँढीले मानसिक पीडा भोग्नुपरेको छ । त्यसैले त बालबालिकाहरुमा डिप्रेसन देखिन थालेको छ ।
आफ्ना सन्तानका अगाडि आमाबुबा बाझ्नु, झगडा गर्नु, ठूलो स्वरमा छलफल गर्नु, कुटपिटको शृंखला चल्नु साथै बच्चाहरुलाई आमाबुबामध्ये को ठीक भनी खुट्याउन नसक्नु डिप्रेसनको प्रमुख कारण हो । यसका अतिरिक्त आमाबुबाको पारपाचुके हुनुले त उनीहरुलाई ठूलै आघात पुर्याउँछ ।
पारपाचुके नभएका अभिभावकको व्यस्तताले पनि बालबालिकामा असर पु¥याउँछ । अझ हुर्कंदो उमेरमा रहेका बालबालिकालाई उमेरसँगै भइरहेका परिवर्तनको जानकारी दिन नसक्दा पनि तिनीहरु डिप्रेसनमा जाने खतरा हुन्छ ।
एक्लो सन्तान मात्र होइन, धेरै वर्षको अन्तरालपछि दोस्रो बच्चा जन्मिदा पहिलो सन्तानले आफूले पहिला पाएको माया नपाएको महसुस गर्न थाल्यो भने पनि तिनीहरुमा टाउको दुख्ने, पेट दुख्ने आदि नराम्रो मनोवैज्ञानिक पीडा भएको देखिएको छ । गरिबीका कारण साथीभाइको आर्थिक अवस्था राम्रो र आफ्नो नराम्रो हँुदा पनि कतिपय मनोरोग देखिन सक्छ ।
बालबालिका हुर्कंदै जाँदा आफ्नो इच्छाबमोजिमका अध्ययन विषय छनोट गर्न नपाउनुले पनि बालबालिकालाई डिप्रेसनमा लैजान सक्छ । त्यसैले हामीले थोरै मात्र पनि यस किसिमका समस्यालाई व्यवस्थापन गर्न जानेनौँ बालबालिकालाई डिप्रेसन हुने बाटो खुलाउन सक्छौँ । यस्तो अवस्थामा हामीले चाँडै बालबालिकाको अवस्थालाई ध्यान दिन सक्यौँ भने उनीहरुको डिप्रेसनलाई हामी चाँडै उपचार गर्न सक्छौँ । तर ध्यान दिन सकेनौँ भने उनीहरुको डिप्रेसन गहिरिने मात्र होइन, उपचार गर्नै कठीन हुने अवस्थामा पुग्नेछ ।
डिप्रेसन भनेको समुद्रमा आएको छालजस्तो हो । पहिलो चरणको छाल उति सशक्त हुँदैन अर्थात् बालबालिकाको डिप्रेसनको छाललाई नियन्त्रण गर्न सकिन्छ तर जसै यो छाललाई हामी ध्यान दिँदैनौँ र यसको प्रहार बढ्दै जान्छ, हामीले डिप्रेसनको उपचार गर्नु कठीन बन्दै जान्छ । त्यसैले डिप्रेसनको छाल सुरुवाती अवस्थामै ख्याल गर्नु अभिभावकको कर्तव्य पनि हो ।
बालबालिकाको डिप्रेसन नियन्त्रण गर्न हामीले थोरै मात्र मिहिनेत गर्दा पुग्छ । आफ्नो सन्तानको अवस्था कस्तो  छ ? उसको रुचि केमा छ ? उसको स्वास्थ्य कस्तो छ ? साथी सर्कल कस्तो छ ? बानीव्यहोरा कस्तो छ ? उसको पढाइ कस्तो छ ? शिक्षकसँगको व्यवहार कस्तो छ आदि कुराबारे आफ्ना सन्तानसँग साँझ÷बिहान एकडेढ घण्टा बसेर कुराकानी ग¥यौँ भने धेरै कुरा थाहा पाउन सक्छौँ । जीवन, समाज, दुःखसुख साथै पढाइका बारेमा अहिले चलिरहेको विविध आयाम बारेमा उनीहरुसँग छलफल गर्ने, उनीहरुका राय बुझ्ने, उनीहरुलाई महत्व दिएर सुन्ने अनि उनीहरुले भनेको कुराहरुलाई सकारात्मक तरिकाले हेर्ने, केही गल्ती छ भन्ने लाग्यो भने उनीहरुलाई बिस्तारै बुझाउन खोजियो भने अवस्था सकारात्मक हुनसक्छ ।
जीवन एउटा ठूलो समुन्द्र हो । यहाँ पौडी खेल्न जान्नै पर्छ । जीवनका उकाली–ओरालीलाई बिस्तारै पार गर्दै जानुपर्छ भन्ने शिक्षा दिँदै उनीहरुले निभाउन सक्ने जिम्मेवारी पनि दिनुपर्छ । अभिभावकहरुले महिनामा एक चोटि आफ्नो गच्छेले भ्याएअनुसार घुमाउन लैजाने, बच्चाहरुको कार्यलाई सकारात्मक वा उत्साह दिलाउने तथा जीवनमा गर्न नसकिने केही छैन खाली अघि र पछि मात्र हो भनेर अभिभावकले समय–समयमा सम्झाउनु पर्छ । कुनै पनि बालबालिकाको हरेक कुराको शिक्षा नै घरबाट नै सुरु हुन्छ भनिएको पनि यही कारणले हो ।
हामीले यस्ता विषयमा ध्यान दिन अलिकति पनि चुक्यौँ भने बालबालिकाहरु डिप्रेसनमा जाने, लागू औषधको कुलती हुने, पढाइमा ध्यान नदिने, घरपरिवारको कार्यमा रुचि नदेखाउने, सामाजिक नहुने, जिम्मेवारीबाट पन्छिने, जीवनलाई उद्देश्यविहीन बनाउने आदि विविध नराम्रा गतिविधिमा उनीहरु संलग्न हुन्छन् । त्यस कारण घरपरिवारमा दबेका यस्ता मुद्दा र विषयलाई बेलैमा विचार पुर्याएर आफ्ना सन्ततिलाई सम्हाल्नु पर्छ ।

प्रकाशित: ११ भाद्र २०७४ ०८:४९ आइतबार

बाल मनोरोग नागरिक परिवार