८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

गभर्नरको दौडमा १६ वर्षे किशोर

टोपेका – निर्वाचनमा भोट गर्न नपाउने एक १६ वर्षे किशोरले गभर्नरको निर्वाचनमा उम्मेद्वारी दिने भएका छन् । यो विषय सुन्दै अचम्म लाग्न सक्छ । 

संयुक्त राज्य अमेरिकाको मिसौरीस्थित विचिटा हाई स्कुलमा पढ्ने एक किशोरले कन्सास सहरको गभर्नर पदमा लड्ने विषयमा आफू एकदमै गम्भीर रहेको बताएका छन् । 

ज्याक बर्गेरसन नाम गरेका ती १६ वर्षे किशोरले सन् २०१८ मा कन्सासमा हुने निर्वाचनमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । उनले जनतालाई वैकल्पिक उपाय प्रदान गर्नका लागि डेमोक्र्याटको तर्फबाट आफूले निर्वाचनमा उम्मेदवारी दिन लागेको बताएका छन् । यस विषयमा कन्सासबाट प्रकाशन हुने ‘कन्सास सिटी’ पत्रिकाले समाचार प्रकाशन गरेको छ । उनी निर्वाचनमा मतदानसमेत गर्न पाउँदैनन् भन्ने विषयले उनलाई असजिलो नबनाएको उक्त पत्रिकाले जनाएको छ ।

‘कन्सासको कानुन अनुसार गभर्नर बन्नका लागि निश्चित कुनै योग्यता छैन,’ कन्सास राज्य कार्यालयका सेक्रेटरी अन्तर्गत निर्वाचन निर्देशक ब्रायन कास्केले बताए । त्यसैले कन्सासको गभर्नर बन्नका लागि उमेर, वसोबास, अनुभवका बारेमा केही पनि निश्चित गरेरकानुनमा लेखिएको छैन,’ उनले बताए । जब विचिटामा रहेको ‘द इन्डिपेन्डेन्ट स्कूल’ का जुनियर बेर्गेसनले कानुनमा गभर्नर बन्नका लागि योग्यता नचाहिने बारेको कमी कमजोरी थाहा पाए त्यसपछि उनले सोचे,‘ओहो ! म गर्न सक्छु ।’

‘मैले कन्साका जनतालाई मौका दिनुपर्छ भन्ने बारेमा सोचें,’ बेर्गेसनले बताए । ‘अहिलेसम्म अन्त कतै नगरिएको नयाँ काम गरौं भन्ने सोचें,’ उनले थपे । 
१६ वर्षे किशोरले आफूले पूर्णतया परिवर्तन चाहेको बताए । उनले जनताको स्वास्थ्य सेवामा परिवर्तन र कन्सासमा चिकित्सकीय उद्देश्यका साथै बौद्धिक कार्यका लागि गाँजालाई मान्यता दिन चाहेको पनि बताए । तर उनी जनतालाई दिइएको बन्दुकसम्बन्धी अधिकारमा चाहिं अत्यन्तै संकिर्ण रहेको र जनतालाई खुला रुपमा हतियार बोक्ने कुरामा सहमत देखिएका छैनन् । 

‘मलाई लाग्छ यदि तपाईंले कन्सासका जनतालाई केही नयाँ दिनु भयो भने त्यसले हामी नयाँ दिशातिर जान सक्छौं । मलाई लाग्छ त्यसले डेमोक्र्याटिक पार्टीलाई पनि अर्को वर्ष हुने निर्वाचनमा राम्रो स्थानमा ल्याउन सहयोग पु¥याउने छ,’ बेर्गेसनले बताए । उनकै कक्षाका साथी १७ वर्षे एलेक्सजेन्डर क्लिने उनको लेफ्टिनेन्ट गभर्नर बन्ने छन् । क्लिनेले यस निर्वाचनमा मतदान गर्न पाउने छन् किनभने निर्वाचन हुँदा उनी १८ वर्षका हुने छन् ।

कन्सासको गभर्नर पदमा डेमोक्र्याटिक दलका तर्फबाट उम्मेद्वारको दौडमा रहेकामा पूर्व कृषि राज्य सेक्रेटरी जोस भाटे, विचिटाका पूर्व मेयर कार्ल ब्रेवर र ओलाथका डाक्टर एर्डेन एन्डरसन पनि रहेका छन् । १६ वर्षे किशोरले सोमबार गभर्नर पदमा उम्मेद्वारी दिने घोषणा गरेपछि अमेरिकाभर चर्चाको विषय बनेको छ । उनलाई अमेरिकाको प्रख्यात कार्यक्रम जिम्मपी किम्मेल लाइभ’ले समेत प्रसारण गरेको छ । उनले उक्त कार्यक्रममा आफूले यस्तो अभियान ल्याउनुमा आफ्नो उमेर समूहका मानिसलाई राजनीतिमा ल्याउन प्रयास स्वरुप गरेको बताएका छन् । 

इम्पोरिया स्टेट विश्वविद्यालयका राजनीतिक वैज्ञानिक माइकल स्मिथले युवाहरुको यस्तो अप्रत्याशित अभियानले राजनीतिमा सकारात्मक भूमिका खेल्ने बताए । ‘यदि यी किशोरले केही कारण सहित यस्तो घोषणा गरेका हुन् भने त्यो अत्यन्तै राम्रो पक्ष हो,’ स्मिथले बताए । युवा पुस्ता यसरी राजनीतिमा आउनु अत्यन्तै चुनौति हुने गरेको छ । मैले उनले जित्छन् भनेको छैन तर यदि उनले १६ वर्षका युवालाई हैन १८ वर्ष पुगेका वा पुग्न लागेकालाई भन्न सके भने मलाई लाग्छ त्यो अत्यन्तै फलदायी हुनेछ,’ स्मिथले बताए। 

प्रकाशित: ११ भाद्र २०७४ ०६:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App