८ वैशाख २०८१ शनिबार
खेल

डेनिस क्लबविरुद्ध नेपालको जित

काठमाडौं – राष्ट्रिय खेल भएको चार महिनापछि नेपाली पुरुष भलिबल टोलीले डेनमार्कको भिलवोभा क्लबलाई मैत्रीपूर्ण खेलमा १७–२५, २५–१५, २५–२३, २५–२३ ले पराजित गरेको छ । घरेलु कोर्टमा हासिल गरेको जितसँगै नेपालले डेनिस क्लबविरुद्धको मैत्रीपूर्ण शृंखला १–१ को बराबरीमा टुङ्ग्याएको छ। 

गत जेठमा नेपाल सरकारले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएको थियो । राष्ट्रिय खेलको मान्यता पाएपछि नेपाली टिमले पहिलो पटक सफलता हासिल गर्‍यो । 

यसअघि नेपाल डेनमार्कमा खेल्दा भिलवोभा क्लबसँग ३–२ को सेटमा पराजित भएको थियो । तर शनिबार नेपालले घरेलु मैदानमा पहिलो सेटबाहेक अन्यमा डेनिस क्लबलाई हाबी हुन दिएन। 

पहिलो सेटको सुरुआतसम्म नेपालले १२–१२ को बराबरी गर्दै खेलमा पकड जमाउने प्रयास गरेको थियो । तर रिसिभले साथ नदिएपछि नेपाल पहिलो सेटको मध्यतिर आएर कमजोर हुँदै गयो । त्यसको फाइदा उठाएको भिलवोभाले २०–१५ ले अग्रता लिँदै पहिलो सेट हासिल गर्ने सम्भावनालाई सहज बनाउँदै गएको थियो । 

दोस्रो सेटमा भने नेपालले डेनिस क्लबलाई सुरुआतबाट पछि पार्दै अगाडि बढेको थियो । रिसिभ र स्पाइकको समन्वय मिलाएको नेपाली टोलीले सुरुआतमै ७–३ ले अग्रता लिँदै अगाडि बढ्यो । त्यो अग्रतालाई निरन्तरता दिएको नेपालले सेटको अन्त्यतिर २०–११ ले पछि पारेको थियो । दोस्रो सेट सहजै जितेको नेपाल तेस्रो सेटको सुरुआतमा भने ४ अंकले पछि प¥यो । तर नेपालले तेस्रो सेटको सुरुआतमै कमब्याक गरेर खेलमा फर्कियो। 

५–९ ले पछि परेको बेला नेपालले लगातार ४ अंक जोडेर खेल ९–९ को बराबरीमा पुर्‍याएको थियो । नेपाल खेलमा फर्किएपछि तेस्रो सेटको अन्त्यसम्म खेल २१–२१, २३–२३ को बराबरीमा पुग्यो । तर सेटको अन्त्यमा नेपालका धनबहादुर भट्ट नायक भए । उनले २३–२३ को बराबरीका बेला लगातार दुई अंक स्पाइकबाट जोड्दै उत्कृष्ट फिनिसिङ गरी नेपाललाई तेस्रो सेट दिलाएका थिए । चोथो सेटमा पनि नेपाल खेलमा हाबी हँुदै भयो । ५–६ ले पछि परेको बेला नेपाल लगातार ५ अंक लिँदै सेटमा बलियो भयो । जुन अंक नेपालले खेलभर लगातार प्राप्त गरेको सर्वाधिक अंक थियो । 
नेपाले १०–६ ले अग्रता लिएपछि खेल आफ्नो नियन्त्रणमा राख्दै खेल्यो । डेनिस क्लबले २१–२१ को बराबरी गर्दै नेपाललाई रोक्ने प्रयास गरे पनि सफल भएन । अन्त्यतिर डेनिस क्लबको पनि रिसिभ बिग्रँदा स्पाइक कमजोर देखिएको थियो ।  

नेपालको जितमा ओपन स्पाइकर मनबहादुर श्रेष्ठले सर्वाधिक २४ स्कोर गरे । उनले नेगेटिभ १४ अंक दिएका थिए । मनले पहिलो सेटमा ३, दोस्रोमा ४, तेस्रोमा ९ र चौथो सेटमा ६ अंक जोडेका थिए । धनबहादुरले १२ अंक जोडे पनि १४ अंक भने बिपक्षीलाई दिएका थिए । अर्का ओपन स्पाइकर कुलबहादुर थापाले पहिलो सेटमा ४ अंक जोडे । नेपाली टोलीले नेदरल्यान्डका प्रशिक्षक पिटर भानको नेतृत्वमा करिब तिन साता प्रशिक्षण गरेको थियो । डेनमार्क क्लबविरुद्धको खेलअघि नेपाली टोलीलाई सफलताको शुभकामना दिएका पिटरले जितपछि खुसी व्यक्त गर्दै बधाई दिए । उनले सामाजिक सञ्जालमार्फत पछिल्लो साता गरेको मेहनतको नतिजा टोलीले प्राप्त गरेको बताए । 

डेनिस क्लबविरुद्धको पहिलो खेलमा नेपालको मुख्य कमजोरी रिसिभ थियो । रिसिभ र अट्याकिङमा सुधार गरेका कारण जित हासिल गरेको नेपाली टोलीका प्रशिक्षक जगदीश भट्टले बताए । उनले भने, ‘हाम्रो मुख्य कमजोर रिसिभ थियो । स्पाइकमा हामी कमजोर थिएनौं । मानसिक रूपमा पनि हामी बलियो भएको छौं । रिसिभ कमजोर हुँदा नियन्त्रण गर्न कठिन हुन्छ । तर हामीले पछिल्लो समय अन्य पोजिसनभन्दा  रिसिभमा बढी मिहिनेत गरेका थियौं ।’
नेपाल र डेनमार्कबीचको दैत्य सम्बन्ध ५० वर्ष पुगेको अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल र डेनिस क्लबबीचको मैत्रीपूर्ण खेलको  समन्वय गरेको हो । मैत्रीपूर्ण खेलले दुबै टोलीलाई नयाँ अनुभव बटुल्ने मौका दिएको डेनिस टोलीका प्रशिक्षकले बताए । 

नेपालसँग मैत्रीपूर्ण खेल खेलेको भिलवोभा क्लब डेनिस भलिबलको ए डिभिजन लिग खेल्ने टोली हो । भिलवोभाका प्रशिक्षक मार्टिन वेलेसनका अनुसार पछिल्ला दुई संस्करणमा टोलीले तेस्रो स्थान हासिल गरेको थियो । नेपालसँगको खेलले नयाँ सिजन जित्न सहयोग गर्ने बताए । उनले नेपालविरुद्धको खेलमा टोलीले कुनै दबाब नलिएर खेलेको बताए । उनले भने, ‘हामीलाई केही दबाब थिएन । हामी लिगमा राम्रो गर्ने लक्ष्यसहित तयारी गरिरहेका छांै । खेलाडीलाई कुनै दबाबबिना खेल्न भनेको थिएँ । उनीहरूले त्यहीअनुसार खेले । पहिलो खेल जित्दा भन्दा अहिले टोलीमा चार नयाँ खेलाडीलाई मौका दिएका थियौं । त्यसले लिगमा हामीलाई फाइदा हुन्छ ।’

भिलवोभा क्लबमा अहिले डेनिस भलिबल टिमको दुई खेलाडी भएको मार्टिनले बताए । उनले थपे, ‘नेपालको कोर्टमा खेल्न पाउँदा हामीले राम्रो अनुभव ग¥यौं । फरक मौसममा खेल्न केही कठिन हुन्छ । तर हारको कारण त्यो होइन । नेपालले राम्रो खेलेको छ । मुख्य कुरा टिमको स्तर सुधार गर्दै अनुभव बढाउन हामी केन्द्रित छौं । नेपालसँगको खेलले हाम्रा खेलाडीले नयाँ अनुभव बटुल्ने मौका पाए ।’

नेपाल र डेनमार्कबीचको दैत्य सम्बन्ध ५० वर्ष पुगेको अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल र डेनिस क्लबबीचको मैत्रीपूर्ण खेलको  समन्वय गरेको हो ।

प्रकाशित: ११ भाद्र २०७४ ०६:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App