७ वैशाख २०८१ शुक्रबार
खेल

महिला भलिबल टोली भारतविरुद्ध खेल्न तयार

काठमाडौं–नेपाली महिला भलिबल टोलीले भारतसँग खेल्ने मैत्रीपूर्ण खेलको तयारी पूरा भएको नेपाल भलिबल संघले जनाएको छ।

नेपालले घरेलु कोर्टमा दोस्रोपटक मैत्रीपूर्ण खेल खेल्दैछ। दुई वर्षअघि नेपालले माल्दिभ्ससँग काठमाडौंमा दुई मैत्रीखेल खेलेको थियो। त्यसमा नेपालले दुवै खेल जितेको थियो ।

नेपाल र भारतले त्रिपुरेश्वरस्थितराखेप कभर्ड हलमा बिहीबार र शुक्रबार प्रतिस्पर्धा गर्नेछन् । भारतीय टोली बुधबार नेपाल आइपुग्ने आयोजकले जनाएको छ।

अन्तर्राष्ट्रिय भलिबल महासंघले दिएको नयाँ म्याटको उद्घाटन अवसरमा नेपालले भारतीय महिला टोलीविरुद्ध मैत्रीपूर्ण खेल्न लागेको हो।

भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले मैत्री खेलको तयारीस्वरुप एक महिनायता आफ्ना खेलाडी बन्द सत्रमा रहेर प्रशिक्षण गरिरहेको बताए । उनलेमैत्रीपूर्ण खेल भए पनि जित्नकै लागि खेलिने बताए ।

‘यो मैत्रीपूर्ण खेल हो तर हामी जित्नकै लागि खेल्नेछौं,’ महासचिव चन्दले भने, ‘हामीलाई फिभाले म्याट प्रदान गरेको छ । फिभाको नियमानुसार म्याट राखेपछि अन्तर्राष्ट्रिय स्तरको खेल खेल्नुपर्ने हुन्छ त्यसैले हामीले यो खेल खेल्न लागेका हौं।’

अन्तर्राष्ट्रिय भलिबलमा नेपाली महिला टोलीले अहिलेसम्म भारतलाई हराउन सकेको छैन । खेलेका सबै खेलमा नेपाल सोझो सेटमा पराजित हुँदै आएको छ।

नेपाल र भारतले पछिल्लो समय १२औं दक्षिण एसियाली खेलकुद (साग) मा प्रतिस्पर्धा गरेका थिए । जुन खेलमा नेपाल सोझो सेटमा पराजित भयो । दुई वर्षअघि काठमाडौंमा भएको प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबलमा नेपाल र भारतले खेलेका थिए । उक्त खेलमापनि नेपालले एक सेट पनि जित्न सकेन।

नेपाली टोलीका प्रशिक्षक सुदेशकुमार रिमालले भारतविरुद्ध सकारात्मक नतिजा निकाल्ने लक्ष्यसहित खेल्ने बताए । उनले भने, ‘भारत दक्षिण एसियाको नम्बर एक टोली हो । भारतसँग खेल्दा हामी आफ्नो प्रदर्शनसुधार गर्ने कोसिस गर्छौं।’

नेपाली टोलीमा १२ औं साग खेलेका सबै खेलाडी छन् । टोलीमा नयाँ खेलाडीले स्थान बनाउन सकेनन् । नेपाली टोलीले विनिता बुढाथोकीको कप्तानीमा खेल्नेछ । उपकप्तानमा मञ्जु गुरुङ छिन् । आक्रमणको नेतृत्व प्रतिभा माली, सरस्वती चौधरी, नेबिका चौधरी, कोपिला उप्रेती लगायतले गर्नेछन् ।

संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले भारतविरुद्ध नेपाली खेलाडीले घरेलु कोर्टमा उत्कृष्ट खेल्ने विश्वास व्यक्त गरे । मंगलबार अध्यक्ष शर्माले नेपाली खेलाडीलाई खेल सामग्रीसमेत प्रदान गरेका थिए।

प्रकाशित: १२ श्रावण २०७३ ०२:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App