coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

डलर तस्करी आरोपित पाइलट सिंगापुर जानबाट रोकिए

काठमाडौं – विदेशी मुद्रा अपचलनको मुद्दामा धरौटीमा छुटेका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवाले तालिमका लागि सिंगापुर जानबाट रोकिएका छन् । 

निगमले अवालेको उडान लाइसेन्स अद्यावधिक गर्न लाखौं खर्च गर्दै उनलाई ‘सिमुलेटर’ तालिम लिन गत बिहीबार (भदौ ८ गते) सिंगापुर पठाउने निर्णय गरेको थियो । यसबारे नागरिक दैनिकले भदौ ७ मा समाचार प्रकाशित गरेपछि सरकारले ‘गम्भीर अभियोग लागेका अभियुक्तलाई विदेश पठाउने निर्णय कानुनविपरीत रहेको’ भन्दै अवालेलाई तत्काल तालिममा विदेश नपठाउन बिहीबार दिउँसो निगमलाई लिखित निर्देशन दिएको थियो ।

‘फौजदारी अभियोग लागेका क्याप्टेन अवाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनपछि सिंगापुर जानबाट रोकिएका छन्,’ निगमका एक उच्च अधिकारीले शनिबार नागरिकसँग भने, ‘उनले १० दिनको भत्तावापत लिएको २ लाख रुपैयाँ फिर्ता गराउँछौं ।’

अवालेको विदेश भ्रमणको खबर सार्वजनिक हुनासाथ पर्यटन मन्त्रालयका निमित्त सचिव सरेश आचार्य, मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्री, राजस्व अनुसन्धान विभागका महानिर्देशक भूपाल बराल, उपमहानिर्देशक यज्ञराज कोइराला र अनुसन्धान अधिकृतहरूबीच छलफल भएपछि अवालेको उडान रोक्न निर्देशन दिइएको थियो । 

अवाले बिहीबार राति साढे ११ बजे निगमकै जहाजबाट मलेसियाको क्वालालम्पुर जाने तयारीमा थिए । उनले सिंगापुर तालिममा जान बिहीबारै निगमबाट २ हजार अमेरिकी डलर (२ लाख रुपैयाँ) भत्तावापत बुझेका थिए । 

क्याप्टेन अवाले २०७३ चैत २८ गते ९३ हजार ६ सय अमेरिकी डलरसहित दुबई उड्न लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । नियमित ड््युटीअनुसार जहाज कमान्ड गरेर दुबई जान लागेका अवालेलाई राति करिब ११ बजे विमानस्थल सुरक्षा गार्ड प्रहरीले शंका लागेर उनको ब्याग खानतलासी गर्दा अबैध डलर बरामद भएको थियो । कानुनअनुसार एक व्यक्तिले २ हजार ५ सय डलरसम्म साथमा लिएर विदेश जान पाउँछ ।

त्यसपछि उनलाई राजस्व अनुसन्धान विभागको हिरासतमा राखिएको थियो । एक महिना हिरासतमा बसेपछि उनी धरौटीमा रिहा भएका थिए । त्यसयता विभागले उनीबारे अनुसन्धान गरिरहेको छ । धरौटीमा छुटेका अवालेले जहाज उडाउन नपाए पनि निगममा जागीर खाएर नियमित करिब ३ देखि ४ लाख रुपैयाँ तलब बुझिरहेका छन् । 

स्रोतका अनुसार निगमको अपरेसन विभागको सिफारिसपछि महाप्रबन्धक सुगतरत्न कंसाकारले अवालेलाई  सिंगापुर तालिममा पठाउने निर्णय गरेका थिए । धरौटीमा रिहा भएलगत्तै पनि कंसाकारले अवालेलाई निलम्बन गर्नुको सट्टा उल्टै जहाज उडाउन दिने निर्णय गरी नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेका थिए । तर, प्राधिकरणले फौजदारी मुद्दाको किनारा नलागेका कारण अवालेलाई जहाज उडाउन दिन नमिल्ने भन्दै रोकेको थियो । 
 पर्यटन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, राजस्व अनुसन्धान विभाग, अदालत वा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कतैबाट पनि क्याप्टेन अवालेलाई निलम्बन गर्न निर्देशन नआएका कारण लाइसेन्स अद्यावधिक गर्न उनलाई सिंगापुर पठाउने निर्णय गरेको महाप्रबन्धक कंसाकारले बताउँदै आएका छन् । यसबारे व्यवस्थापनमा डेढ महिना छलफल भएको उनको दाबी छ ।

स्रोतका अनुसार फौजदारी अभियोग लागेका क्याप्टेन अवालेलाई थप लाखौं लगानी गरी लाइसेन्स अद्यावधिक गर्ने भन्दै विदेश तालिममा पठाउने निर्णयमा निगम व्यवस्थापनले विवेक प्रयोग गरेन । उनको मुद्दाको छिनोफानो भएको छैन । भोलि उनले मुद्दा हारे भने उनीमाथि गरिएको लगानी डुब्छ । 

निगम सम्बद्ध अधिकारीका अनुसार अवालेको तालिममा १४ हजारदेखि १६ हजार अमेरिकी डलर (१४ लाखदेखि १६ लाख रुपैयाँ) खर्च लाग्ने छ । त्यसबाहेक उनलाई प्रतिदिन २ सय डलर (२० हजार रुपैयाँ) भत्ताको व्यवस्था पनि गरिएको थियो।  

अवालेलाई तालिममा पठाउने निर्णय व्यवस्थापन एक्लैले गरेको हो । यसबारे निगम सञ्चालक समितिमा कुनै प्रस्ताव नआएको एक सञ्चालकले बताए । ‘जहाजै उडाउन नपाउने अवालेले कसरी लाइसेन्स अद्यावधिक गर्न तालिमका लागि विदेश जान मिल्छ ?,’ उनले भने, ‘यो गम्भीर विषय हो । यसबारे व्यवस्थापनले हामीसँग कहिल्यै पनि छलफल नै गरेको छैन।’

नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार हवाई सुरक्षा नियमावलीमा विमानस्थलभित्र फौजदारी अभियोगजस्ता गतिविधिमा संलग्न हुनेलाई काम गर्न रोक लगाउने उल्लेख भएका कारण क्याप्टेन अवालेलाई जहाज उडाउन रोक लगाइएको हो । उक्त नियमावलीले त्यस्ता अभियोग लागेका व्यक्तिलाई विमानस्थलभित्र प्रवेश गर्न निषेध पनि गरेको छ। 

‘क्याप्टेन अवालेको फौजदारी अभियोगको अन्तिम किनारा नलागेसम्म हामी उनलाई उडाउन भने दिँदैनौं,’ ती अधिकारीले भने, ‘यात्रु र जहाजको सुरक्षाको विषय भएकाले यसप्रति हामी गम्भीर छौं।’

करिब ३० वर्षअघि ट्विनअटर जहाज उडाएर निगममा जागीर सुरु गरेका ५६ वर्षीइ अवालेले त्यसपछि प्रशिक्षक पाइलट हुँदै ‘बोइङ ७५७’ जहाज उडाउन थालेका थिए । पछिल्लो दुई वर्षदेखि भने उनी ‘एयरबस ३२०’ जहाजको वरिष्ठ क्याप्टेनका रूपमा काम गरिरहेका थिए। 

प्रकाशित: ११ भाद्र २०७४ ०५:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App