coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘ठूला डाक्टर’ भेट्ने लालसाले स्थानीयको घुइँचो

सप्तरीको बैरबास्थित स्वास्थ्य चौकीमा बाढीपीडितको उपचारमा संलग्न डा. गोविन्द केसी । तस्बिर : जितेन्द्रकुमार झा

बैरबा – सप्तरीको बैरबास्थित स्वास्थ्य चौकी परिसर शनिबार बिहान खचाखच भरिएको थियो । वृद्धवृद्धा, महिला तथा बालबालिकाको घुइँचो नै लागेको थियो । चर्को घाम र निथ्रुक्क भिजाउने गर्मीका बीच उनीहरू शान्त भएर पालो पर्खँदै थिए । परिसरबाहिर पनि भीड थियो । नाम दर्ता गराएर ‘ठूलो डाक्टर’ लाई भेट्ने र उनीसँग उपचार गराउने स्थानीयको लालसा हेर्न लायक थियो । 

‘बडका डाक्टर एलय ह गौ, बड निकसँ इलाज करैछै कहाँदन, कहिन गौ हमरो नाम लिखक जल्दीसँ भितर पठाय दैतै ।’

(ठूलै डाक्टर आएका छन् रे ! खै, राम्ररी उपचार गर्छन् । मेरो नाउँ पनि छिटो लेखाएर भित्र पठाइ देऊ ) 

 मुश्किलले आधा घन्टाजति लाम लाग्न नपाउँदै आ–आफ्ना समस्या बयान गरेर डाक्टरसँग भेट्ने पालो चाँडो आओस् भनी सञ्चारकर्मीसँग पहल गरिदिन आग्रह गर्ने पनि उत्तिकै भेटिए । 

घाँटीमा बेरेका गम्छाले छिनछिनमै अनुहारको पसिना पुछ्दै उनी बिरामीसँग कुनै बेला नेपाली त कुनै बेला नेपाली र हिन्दी मिश्रित मैथिलीमा कुराकानी गरिरहेका थिए । चिटचिट आउने पसिनाबाहेक उनको अनुहारमा लामो समयदेखिको अनशनबाट हुन सक्ने शारीरिक कमजोरी वा थकान देखिँदैनथ्यो । स्थानीयको हानथाप र होहल्लाले केही फरक परेको थिएन । उनी दत्तचित्त भएर बिरामीको बिरामी जाँच गरिरहेका थिए ।

यो बस्तीमा पहिलोपटक डाक्टर आएकाले जाँच गराउन भनेर स्थानीयमा  यस्तो  छटपटी देखिएको होइन । बैरबा घर भएका दर्जनौं डाक्टर देश विदेशमा आफ्नो सेवा दिइरहेका छन् । यहाँका बासिन्दा पनि गुणस्तरीय उपचारका लागि बस्तीबाहिर पुग्नेगर्छन् । तर, अहिले गाउँलेमा देखिएको व्यग्रता र हानथाप अरू कसैका लागि नभएर उनीहरूकै भनाइमा ‘ठूला डाक्टर’ डा. गोविन्द केसीसँग उपचार गराउनका लागि थियो । यस भेगका बाढीपीडितलाई निःशुल्क औषधोपचार गर्न डा. केसी शनिबार बैरबा आएका हुन् । 

उनी गाउँमा आउने जानकारी पाएलगत्तै बिहानैदेखि बैरबा स्वास्थ्य चौकी नजिक सर्वसाधारणको घुइँचो लाग्न थाल्यो । यहाँ भेला भएकामध्ये कतिपय उपचारका लागि आएका थिए त कतिपय डा.केसीलाई झलक्क हेर्नमात्रै । ‘म सकरपुरबाट डाक्टर साबलाई भेट्नमात्रै आएको हुँ,’ सकरपुराका ज्ञानेश्वर मुखियाले भने, ‘११÷११ पटकसम्म अनशन बसेका, समाजकै लागि आफ्नो जिन्दगी सुम्पेका व्यक्ति कस्तो देखिँदारहेछन् भनेर उहाँलाई भेटन आएको छु ।’ 

स्वास्थ्य चौकीको एउटा सानो कोठामा बिरामी हेर्न व्यस्त डा. केसीको बायाँ हातमा अझै केनुला लागेकै थियो । हाउभाउले उनी आफैं पनि पूर्ण रूपमा स्वस्थ देखिएका थिएनन् । चर्को गर्मीमा पसिनाले लतपतिएका उनी बिरामीलाई हेर्न लीन थिए । घाँटीमा बेरेका गम्छाले छिनछिनमै अनुहारको पसिना पुछ्दै उनी बिरामीसँग कुनै बेला नेपाली त कुनै बेला नेपाली र हिन्दी मिश्रित मैथिलीमा कुराकानी गरिरहेका थिए । चिटचिट आउने पसिनाबाहेक उनको अनुहारमा लामो समयदेखिको अनशनबाट हुन सक्ने शारीरिक कमजोरी वा थकान देखिँदैनथ्यो । स्थानीयको हानथाप र होहल्लाले केही फरक परेको थिएन । उनी दत्तचित्त भएर बिरामीको बिरामी जाँच गरिरहेका थिए ।

डा. केसी बिहीबार साँझ नै सप्तरी आएका हुन् । शुक्रबार कञ्चनरूप नगरपालिकाका घोघनपुर र धरमपुर क्षेत्रका २ सय ५० भन्दा बढी बिरामीको उपचारपश्चात् शनिबार बिहानै उनी बैरबा आएका हुन् । उनी शुक्रबार राति ग्यास्ट्रिकको समस्याले पिरोलिएका थिए ।  साथमा रहेका प्रशिक्षार्थीहरूले होटलकै कोठामा सलाइन पानीलगायत औषधिबाट उनको उपचार गरेका थिए । 

‘डाक्टरसाब राति पनि निकै बिरामी हुनुहुन्थ्यो, हामी त बिहानै काठमाडौं लाने मनस्थिति बनाइसकेका थियौं तर उहाँले मान्नुभएन’, टोलीका सदस्य रामचन्द्र महतोले भने, ‘काम अधुरो छाडेर जान हुँदैन  भन्नुभयो ।’ 

‘हजुरको दर्शन पाएर धन्य भएँ’, उपचारकक्षमा पुग्ने बिरामीले डा. केसीलाई भन्ने पहिलो वाक्य यही हुने गथ्र्यो । ‘दर्शन मेरो होइन, भगवानको गर्नुपर्छ, म पनि तपाईंहरूजस्तै मान्छे हुँ’, अधिकांशलाई उनले फर्काउने जवाफ यही  हुने गथ्र्यो । निःशुल्क उपचारका लागि आएको उनको टोलीले औषधि, पौष्टिक आहार, धोती, साडी, टिसर्ट, बिस्कुट, चकलेटलगायत सामग्री पर्याप्तमात्रामा बोकेर आएको  थियो । टोलीले व्यक्तिको अवस्था र आवश्यकता हेरेर ती सामग्री वितरण ग¥यो ।

उपचार गराउन आउने वृद्धवृद्धा, असहाय, बिधुवा, नांगो जीउ लिएर आएका र फाटेका लुगामा आएकालाई उनी औषधिसँगै आवश्यकताअनुसार लुगा तथा बच्चालाई चकलेट र बिस्कुट दिँदै बिदाइ गर्थे । जाँदै गरेका बिरामीलाई नमस्कार गर्न छुटाउँदैन्थे । 

पूर्वपश्चिम राजमार्गछेउमै रहेको बैरबा कोसी नदी तटको बस्ती हो । यो बस्तीसँगै वरपरका बरमझिया, पोर्ताहा, भारदह, भलुवालगायतमा साउनको अन्तिम साता पसेको महुली नदीको बाढीले ठूलो उत्पात मच्याएको थियो । बाढीको पानी निकास भए पनि यो क्षेत्रका सर्वसाधारण भाइरल ज्वरो, छालासम्बन्धी समस्या, रुघाखोकीलगायत रोगले बिरामी पर्न थालेका छन् । 

यो क्षेत्रमा दलित र विपन्नको बहुलता छ । खंग, सदा, राम, मुस्लिमलगायतका गरिब र पिछडिएकाहरूको बसाबास भएकाले डा. केसी यो क्षेत्रमा आएर निःशुल्क औषधोपचार गर्नुका साथै सामान्य राहतसमेत वितरण गरेका हुन् । ‘हाम्रा लागि त उहाँ भगवान भएर आउनुभएको छ’, ६५ वर्षीय गजु खंगले भने, ‘तीन दिनदेखि पेट दुखिरहेको थियो, बाढीले खान धौधौ छ, यस्तामा डाक्टरसाहबले उपचारमात्रै गरिदिनुभएन कि औषधि, धोती, टिसर्टसँगै खानेकुरा पनि दिनुभयो ।’ 

‘आफ्नै हातमा केनुला लागेको हेर्दैछु, यस्तोमा बिरामीको उपचार गर्नु कत्तिको मुश्किल छ ?’, नागरिककर्मीको प्रश्नमा उनी हाँसे र एकछिनको चुप्पीपछि भने, ‘मभन्दा बढी पीडा र समस्यामा अहिले यस क्षेत्रका जनता छन्, जीवनमा निकै कठिनाइ आउँछन् । तर, कठिनाइका कारण सेवा गर्ने अवसर छाडनु भएन । बाढीपीडितको उपचार गर्ने अवसर पाउनु नै सौभाग्य हो ।’ 

बिरामीको उपचार गरिरहँदा डा. केसीको अनुहारमा जति शालीनता थियो बाढीपीडितको पीडा र समस्याबारे कुरा गर्दै जाँदा राज्यको रवैयाप्रति उत्तिकै आक्रोश पनि देखियो । ‘राज्यले आफ्नो दायित्व बुझ्न नसकेर मुलुक यस्तो अवस्थामा आइपुगेको हो’, उनले भने, ‘टालटुले पाराले कहिलेसम्म मुलुक चल्ने हो, बर्र्सेनि बाढीले तबाही मच्चाउँछ, पहिरोले अस्तव्यस्त पार्छ, यसको दीर्घकालीन समाधानका लागि राज्यसँग योजना हुनुप¥यो नि ? तर छैन ।’ 

देश र जनताका लागि सोच्न सक्ने क्षमता भएका नेता र दल नै मुलुकमा नरहेको उनको बुझाइ छ । ‘कोही आफूलाई साम्यवादी भन्छन्, कोही समाजवादी तर जनताका लागि सोचिदिने कोही छैनन्’, उनले थपे, ‘गाँस, बास र कपाससँगै शिक्षा तथा स्वास्थ्यजस्ता जनताका आधारभूत आवश्यकतालाई चरम व्यावसायीकरण गर्नेहरू कहिल्यै पनि साम्यवादी र समाजवादी हुन सक्दैनन् ।’ 

माफिया र नेतामुखी हैन, विद्यार्थीमुखी ऐन हुनुपर्छ

स्वास्थ्य र शिक्षालगायत आधारभूत क्षेत्रलाई नेता तथा माफियाले कमाउने भाँडो बनाएको भन्दै डा. केसीले यस क्षेत्रमा देखिएका भ्रष्टाचार र अनियमितता न्यूनीकरणका लागि कडा ऐन कानुन बनाउन राज्यलाई चौतर्फी दबाब दिनुपर्ने खाँचो रहेको बताए । ‘सरकारले आफै बनाउँदैन किनकी सरकार चलाउने नेता नै माफियासँग मिलेका छन्, उनीहरूका धन्धा चलेकै छन्’, उनले भने, ‘जनताले दबाब सिर्जना गर्नुपर्ने हुन्छ, स्वतन्त्र नागरिक निकाय बोल्नुपर्ने हुन्छ, अनि समस्याको समाधान हुन्छ ।’ 

ऐनको नाममा जस्तोसुकै ऐन बनाउन नहुने उनको धारणा छ । उनले भने्, ‘माफियामुखी र नेतामुखी ऐन चाहिँदैन, विद्यार्थीमुखी ऐन चाहिएको छ । गरिब, निमुखाका क्षमतावान बालबालिकाको पहुँच हुन सक्ने ऐनको खाँचो छ ।’ 

बाचुन्जेल आफूले उठाएका मुद्दाका लागि संघर्ष गरिरहने प्रतिबद्धतासमेत उनले दोहोर्‍याए । ‘म अनशन छाडेर भागेको होइन,’ उनले भने, ‘मुलुक विपत्मा रहेका बेला अनशनमा बसिराख्न मलाई सुहाएन, त्यसैले अनशन स्थगन गरेर बाढीपीडितको उपचारका लागि यो क्षेत्रमा आएको हुँ, माग पूरा भएन भने फेरि अनशन बस्छु ।’ 

प्रकाशित: ११ भाद्र २०७४ ०३:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App