८ वैशाख २०८१ शनिबार
अर्थ

जहाज लिन निगमका २० कर्मचारी सिंगापुर

काठमाडौं – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले मर्मत भइरहेको आफ्नो एउटा ठूलो जहाज ‘हेर्न र लिन’ जाने निहुँमा लाखौं खर्च गरी २० जना कर्मचारीलाई सिंगापुर पठाएको छ । 

‘जहाज थप्दै व्यवस्थापन पनि सुधार गर्दै लानुपर्छ’ भन्दै रटान लगाउने निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले ती सबै कर्मचारीको भ्रमण बिदा स्वीकृत गरेका हुन् । तीमध्ये आधाजति सिंगापुर घुमेर फर्किसकेका छन् भने आधा उतै घुमिरहेका छन् । सम्बद्ध विभागीय प्रमुखको सिफारिसपछि कंसाकारले भ्रमण बिदा स्वीकृत गरेका हुन्।

निगम उच्च स्रोतका अनुसार इन्जिनियरिङ, क्वालिटी एस्योरेन्स र एयर वर्दिनेस विभागका निर्देशक र त्यसमुनिका अधिकृतसहित अन्य कर्मचारी एवं मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक तहका दुई गरी २० जना सिंगापुर घुम्नेमा दरिएका छन् । तीमध्ये १८ जना निगमका कर्मचारी हुन्।  

‘महाप्रबन्धक कंसाकारले स्वीकृति दिएपछि उनीहरूको सिंगापुर जाने बाटो खुलेको हो र यसका लागि व्यवस्थापनले २० लाख रुपैयाँ खर्च गरेको छ,’ निगम स्रोतले शनिबार नागरिकसँग भन्यो, ‘जो सिंगापुरमा जहाज हेर्न र लिन जाने भनेर गएका छन् ती कसैले पनि जहाज मर्मत भइरहेको ‘ह्यांगर’ भित्र जानै पाउँदैनन्, लिएर आउनु त परकै कुरा भयो।’
स्रोतका अनुसार आफ्ना १८ कर्मचारीबाहेक उड्डयन प्राधिकरणका दुई उच्च अधिकारीको सम्पूर्ण खर्च र तिनलाई दैनिक भत्तासमेत निगमले नै बेहोरेको छ । सबैले ७ दिनको भ्रमण बिदा पाए पनि १० दिनसम्म सिंगापुर घुमेर आउनेछन् । 
‘प्रत्येकलाई दैनिक न्यूनतम १ सय अमेरिकी डलर (१० हजार रुपैयाँ) भत्ता दिइएको छ,’ स्रोतले भन्यो, ‘निर्देशक तहकालाई सिंगापुर बसुन्जेल पाँचतारे होटलमा खान र बस्न निगमले बेहोरेको छ । सबैजनालाई काठमाडौंबाट मलेसियाको क्वालालम्पुर र त्यहाँबाट सिंगापुरको दुईतर्फी हवाई टिकट पनि निगमले नै उपलब्ध गराएको छ ।’

सिंगापुर घुम्न गएकामा निगमका इन्जिनियरिङ डाइरेक्टर केबी थापा, क्वालिटी एस्योरेन्सका डाइरेक्टर विक्रम केसी, निगमबाटै अवकाश पाई हाल करारमा कार्यरत इन्जिनियरहरू आरके मानन्धर, शंकरराज रञ्जित र पुष्पबहादुर रायमाझी, दिवाकर बन्जारा, वरिष्ठ प्राविधिक अधिकृतद्वय राजेन्द्र रेग्मी र पृथ्वीचन्द्र चौधरी, प्राविधिक अधिकृत लक्ष्मण राजवाहक तथा अन्य कर्मचारीहरू मनीषा कटुवाल, पवन गवाछा, पारस पौडेल, लिमेस डाँगी, प्रदीप ऋषिदेव, प्रद्युम्नमणि सुवेदी, विजयकुमार यादव र कृष्णप्रसाद सुवेदी छन्। 

त्यसैगरी निगमकै खर्चमा उड्डयन प्राधिकरणको हवाई उड्डयन सुरक्षा विभागका निर्देशक भेषराज सुवेदी र एयर वर्दिनेस महाशाखाका प्रमुख प्रभाकरचन्द्र मल्लिक पनि सिंगापुर गएका छन् । सुवेदी र मल्लिकले मर्मत भइरहेको निगमको जहाज निरीक्षण गर्ने भनिएको छ । दुवैजनालाई निगमले दुई–दुई लाख रुपैयाँ खर्च दिएको छ। 

‘मर्मतमा रहेको जहाज हेर्न हो कि लिन भनेर यत्रो जुलुस सिंगापुर जानु नियमविपरीत र संस्थाको प्रतिष्ठामा आँच पुर्‍याउने कामबाहेक केही होइन,’ निगमको एक निर्देशकले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा नागरिकसँग भने, ‘यस्ता बेअर्थी भ्रमणलाई महाप्रबन्धकबाट स्वीकृति दिनु गैरजिम्मेवारीको पराकाष्ठा हो।’

अर्को हास्यास्पद विषय के हो भने सिंगापुर जानुअघि केहीले जहाज मर्मत गरेको सिक्न जाने भनेका थिए । ‘यसरी सिक्न जाने भन्दै यसअघि पनि धेरै गएका थिए,’ उनले भने, ‘तर, कसले के सिकेर आए, हामीले पत्ता लगाउन सकेका छैनौं ।’
अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा निर्मित १ सय ९० सिट क्षमतायुक्त ‘बि७५७–२००’ सिरिजको ‘९एन–एसिबी’ कलसाइन भएको जहाज डेढ महिनाअघि नियमित मर्मत (सि–चेक) गर्न सिंगापुर गएको थियो । मर्मत सकेर यो जहाज भदौ तेस्रो साता काठमाडौं आउने तयारीमा छ । यही जहाजको निहुँ पारेर निगम टोली सिंगापुर घुम्न गएको हो। 

यो जहाज मर्मत गर्न अधिकतम ३० करोड रुपैयाँ खर्च लाग्ने निगम व्यवस्थापनले अनुमान गरेको छ । सम्बद्ध अधिकारीका अनुसार जहाज मर्मत भइसकेपछि यकिन खर्च थाहा हुनेछ । कम्तीमा २० करोड रुपैयाँ खर्च लाग्ने निश्चित छ। 

 

प्रकाशित: ११ भाद्र २०७४ ०१:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App