८ वैशाख २०८१ शनिबार
समाज

काकाकुल गाउँको पीडा बिर्साउने खानेपानी योजना

गाउँमा सम्पन्न खानेपानी योजनाको रिजर्भभ्वाएर ट्यांक । तस्बिर : मन्जु उप्रेती

रामेछाप – काकाकुल गाउँका रुपमा परिचित बनेको जिल्लाको रामेछाप नगरपालिका वडा नं ५ रामपुरका स्थानीयहरूमा यतिबेला खुशी छताछुल्ल बनेको छ । पानीका समस्याका कारण आजित बनेका त्यस गाउँका मानिसहरू घर घरमा धाराबाट पानी झरेपछि यतिबेला उनीहरु फुरुङ्ग छन । उनीहरू धारामा झरेको पानीसँग खेल्दै एक आपसमा खुशी साटीरहेका छन्।

नेपाल रेडक्रस सोसाइटीको आर्थिक सहयोगमा गाउँमा खानेपानी योजना सम्पन्न भए पछि उनीहरूमा यतिबेला खुशी छाएको हो । गाउँमा खानेपानी योजना बन्ने भए पछि पानीको पीडाले शिथिल बनेको शरिरमा स्फुर्ति जगाएर स्थानीयले समेत निकै श्रम र लगानी गरेका थिए । गाउँमा पानीको समस्याले दिक्क बनेका स्थानीयहरूले खानेपानी योजना संचालन गर्न प्रति घर १० हजारका दरले १ सय ५० घरले पैसा समेत उठाएर योजना संचालन गर्न खोज्दा बजेटका कारण नसकिएको स्थानीय कृष्ण बहादुर तमाङ बताउँछन । पैसा उठाएर पनि योजना संचालन गर्न नसकिरहेका अवस्थामा नै भूकम्प आएर विचल्लित बनाएको तमाङ बताउँछन् । भूकम्प पश्चात नेपाल रेडक्रसको साथ पाएपछि स्थानीयले उत्साहका साथ काम गरेको बताउँछन उनी । यस भेगका मानिसहरू पानीका लागि निन्द्रा  माया मार्दै रातको २ बजे नै उठेर पानी बोक्न जानु पर्ने बाध्यता थियो पानी लिन जाँदा पनि भन्ने वितिकै पालो समेत नआउदा १/२ घण्टा कुरा गरेर बस्नु परेको तथा कतिपय त खोलामा नै बास बसेर पानी ल्याउने गरेको तमाङ सुनाउछन । रेडक्रसको आर्थिक सहयोगमा गाउँमा लिफ्ट खानेपानी योजना संचालन भए पछि पीडा बिर्साउने खुशी गाउँमा छाएको कृष्ण बहादुर बताउँछन । 

सुख्खाग्रस्त गाउँ भएका कारण यहाँ पानीको सहज प्राप्तीमा समस्या रहेको थियो । वर्षातका २÷३ महिना बाहेकको बाँकी समय पानीका लागि करिव ३ घण्टा हिड्नु पर्ने बाध्यता यहाँका सर्वसाधारणमा थियो स्थानीय रामदाश वाइवाले बताए । वर्षातको समयमा भने स्थानीयहरू आकाशको पानी संकलन गरी पानीको आवश्यकतालाई केही मात्रामा भएपनि पूरा गर्ने गरेको वाइवा बताउँछन । काकाकुल भएर पनि आर्थिक विपन्नताले यहाँका सर्वसाधारणको कतै जान सक्ने अवस्था नहुदा दुःखका साथ संघर्ष गर्नु अर्को विकल्प स्थानीयहरुमा नरहेको उनी बताउँछन । निन्द्रा माया मारेर पानीमा कुद्ने स्थानियहरूमा यतिबेला खुशीको निन्द्रा पर्न थालेको छ । 

नेपाल रेडक्रस सोसाइटी रामेछापले भूकम्प प्रतिकार्य कार्यक्रमको सहयोगमा संचालित लिफ्ट प्रणालीको आइतबारे खानेपानी योजना शनिबार उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । योजनाको गृह राज्यमन्त्री श्याम कुमार श्रेष्ठ र नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष संजीब थापाले संयुक्त रुपमा रिवन काटेर उदघाटन गरेका थिए । योजना संचालनका लागि रेडक्रसको ७२ लाख ६६ हजार ४ सय २१, साविकको रामपुर गाविसको ९ लाख, समुदायको २१ लाख ३५ हजार ७ सय ६५ र समुदायको श्रमदान १६ लाख ८६ हजार ८ सय ६८ गरी कूल १ करोड १९ लाख ८९ हजार ५४ रुपैयाँ लागत लागेको रेडक्रस रामेछापले जनाएको छ । योजनाबाट रामपुरका १ सय ५९ घर धुरीका १ हजार १ सय २३ जनसंख्या लाभान्वित हुने भएका छन । योजनाको कूल क्षमता ५० हजार लिटर रहेको छ। 

यसैबीच शनिबार नै रामेछाप नगरपालिका ५ रामपुरलाई खुल्ला दिशामुक्त वडाको रुपमा घोषणा समेत गरिएको छ । गृह राज्यमन्त्री श्याम कुमार श्रेष्ठले एक औपचारिक कार्यक्रमका बीचमा खुल्ला दिसामुक्त वडाका रुपमा घोषणा गरेका हुन । 

 

प्रकाशित: १० भाद्र २०७४ ११:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App