७ वैशाख २०८१ शुक्रबार
अर्थ

सोरुको स्याउले पाएन बजार

मुगु – जिल्लाभर यो वर्ष  ४० देखि ४५ मेट्रिक टन स्याउको उतपादन हुने जिल्ला कृषि विकास कार्यालयले अनुमान गरे पनि जिल्लाको उत्तरी सोरु गाउँपालिकाका विभिन्न क्षेत्रमा उतपादन भएको स्याउले बजार नपाउदा खेर गइरहेको छ।

सोरु गाउपालिकाका सोरुकोट, लापखोला, ताजा, ख्याल्च (पाल्ना) सिरुपाटा, मुलसैन, जिमा रुसाँहा, थापाचौर, धैनकोट, लाम्तु, लोली खनाया, कालै, नुवाकोट र रुम लगायतका क्षेत्रमा स्याउको उत्पादन हुने भए पनि सडक यातायातको असहजता तथा बजार अभावका कारण उत्पादन भएको स्याउ आफन्तलाई नासो दिने, आफैँ खाने गरे पनि धेरै स्याउ कुहिँदा गाईवस्तुलाई कुडोको रुपमा ख्वाउनु परेको सोरु गाउँपालिका वडा नम्बर ६ का पदमबहादुर शाहीले जानकारी दिए । सोरु देखि स्याउ सदरमुकामसम्म बोकेर ल्याउन नसकिने र नजिक बजार व्यवस्था समेत नभएकाले वर्षेनी कृषकका बगैचामा फलेको स्याउ खेर जाने गरेको स्थानीयवासीहरूको भनाई छ।

सदरमुकाम गमगढी नजिकका ताल्च , पिना, कार्कीवाडा, बाम  र रोवा लगायतका क्षेत्रमा फलेको स्याउ बजारमा विक्री हुने तथा सुर्खेत नेपालगञ्जसम्म निर्यात हुने भए पनि सदरमुकाम बाहिरका क्षेत्रमा उत्पादन भएको स्याउ भौगोलिक विकटताका कारण यातायातका असुविधा, बजारसम्मको पहुँच नहुँदा खेर जाने गरेको जिल्ला कृषि विकास कार्यालयका बागवानी शाखाका प्राविधिक सहायक तेज विक्रम मल्लको भनाई छ । प्राविधिक सहायक मल्लका अनुसार सोरु क्षेत्रमा झण्डै ६ मेट्रिक टन स्याउको उत्पादन हुने भए पनि बजार व्यवस्थापन तथा सहज यातायात नहुँदा वर्षेनी खेर जाने गरेको हो ।

प्रकाशित: १० भाद्र २०७४ ११:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App