४ वैशाख २०८१ मंगलबार
खेल

इङ्ल्यान्डको फराकिलो जित

म्यानचेस्टर– पाकिस्तानलाई दोस्रो इनिङमा २ सय ३४ रनमा अलआउट बनाएको इङ्ल्यान्डले सोमबार दोस्रो टेस्ट ३  सय ३० रनले जितेको छ।

पाँचौं तथा अन्तिम दिनको खेलअघि इङ्ल्यान्डले नतिजा आफ्नो पक्षमा पारेपछि चार टेस्ट शृंखलामा १–१ को बराबरी भएको छ।

५ सय ६५ रनको कीर्तिमानी लक्ष्य पछ्याएको पाकिस्तानी ब्याट्सम्यानले इङ्ल्यान्डका तीव्रगतिका बलरको खुलेर सामना गर्न सकेनन् । क्रिस वोक्सले ४१ रन दिएर ३ विकेट लिए । त्योसँगै दुई टेस्टमा उनको विकेटसंख्या १८ पुगिसकेको छ । काँधको चोटका कारण पहिलो टेस्ट गुमाएका तीव्र बलर जेम्स एन्डरसन र अफ स्पिनर मोइन अलीले पनि समान ३ विकेट लिए।

जोय रुटको दोहोरो शतक र कप्तान एलिस्टर कुकको शतकको मद्दतमा इङ्ल्यान्डले पहिलो इनिङमा ५ सय ८९ रन बनाएको थियो । तर, पाकिस्तान पहिलो इनिङमा १ सय ९८ रनभन्दा अघि बढ्न सकेन । दोस्रो इनिङमा एक विकेट क्षतिमा १ सय ७३ थपेर पाकिस्तानसामु ५ सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

पाकिस्तानी ओपनर मोहम्मद हफिजलेसर्वाधिक ४२ रन बनाए । तर पाकिस्तानी टोली जतिबेला पनि इङ्ल्यान्डका सर्वाधिक विकेट लिने खेलाडी एन्डरसनबाट असुरक्षित रह्यो । इङ्ल्यान्ड ७५ रनले पराजित भएको लर्डस टेस्टमा भने उनी सामेल थिएनन् ।

‘हामी साँच्चै राम्रो छौं । यो भन्दा राम्रो गर्ने ठाउँ अब सम्भवत नहुन सक्छ,’ कप्तान एलिस्टर कुकले भने,‘अहिले हामीले जसरी खेलिरहेका छौं त्यो साँच्चै सन्तोषजनक छ । सबैले राम्रो ब्याटिङ गरिरहेका छन् । टोली राम्रो लयमा छ ।’

कुक र रुटले अर्धशतक पूरा गरेपछि इङ्ल्यान्डले दोस्रो इनिङमा ५ सय ६४ रनको अग्रता लिएको थियो । कुक (७६) र रुट (७१) ले दोस्रो विकेटमा अविजित १ सय ५ रनको साझेदारी गरेपछि इङ्ल्यान्डले पाकिस्तानलाई कीर्तिमान लक्ष्य पछ्याउने मौका दिएको थियो ।

टेस्ट बचाउन चौथो दिनको अन्तिम सेसन र पाँचौं दिन पूरै पाकिस्तानसँग थियो । तर, पाकिस्तान लामो समय टिक्न सकेन । एन्डरसनले तेस्रो ओभरमै सान मसुद (१) को विकेट लिए । तेस्रो नम्बरमा ब्याटिङलाई संघर्ष गरिरहेका अजर अली (८) एन्डरसनकै बलमा एलबिडब्लु धरापमा परेपछि पाकिस्तानले खानाअघि २५ रन जोड्दा २ विकेट गुमाइसकेको थियो ।

अफ स्पिनर अलीले युनिस खान (२८) को विकेट लिनुअघि हफिजलाई आउट गरेका थिए । त्यसपछि लगातार पाकिस्तानको विकेटपतन भइराख्यो । पहिलो इनिङमा अर्धशतक बनाएका कप्तान मिसबाह उल–हक ३५ रनमा आउट भएसँगै चिया समयअघि पाकिस्तानले ५ विकेट गुमाइसकेको थियो । त्यसपछि खेल सुरु भएलगत्तै सरफराज अहमद (७) आउट हुँदा टोलीको स्कोर ६ विकेटनोक्सानीमा १ सय ६३ थियो। त्यसपछि अन्तिम ४ विकेटमा पाकिस्तानले ७१ रनमात्र थप्यो ।

‘हाम्रो टोलीले राम्रो र नराम्रो दुवै अवस्था पार गरेको छ । एउटा खेलमा राम्रो प्रदर्शन र नतिजापछि अहिले यस्तो नतिजा सामना गरिरहेको छ,’ पाकिस्तानी कप्तान मिसबाहको विश्वास थियो, ‘हामी खेलमा पुनरागमन गर्नेछौं।’

रुटको दोहोरो शतकप्रेरित इङ्ल्यान्डले पहिलो इनिङमा ८ विकेट गुमाएर झन्डै ६ सय रनको बटुलेको थियो। मिसबाहले भने, ‘हामीले विपक्षीलाई ३ सय ५० मा रोक्न सक्नुपथ्र्यो । झन्डै ६ सय रन बटुलेको खेलमा फर्कन पक्कै सहज थिएन । हामीले पहिलो इनिङमा जसरी ब्याटिङ गरेका थियौं । त्यसमा ३ सय ५० देखि ४ सय रन बटुल्न सक्नुपथ्र्यो तर त्यस्तो भएन । हाम्रो हातबाट खेल गइसकेको थियो ।’

अगस्ट ३ बाट हुने तेस्रो टेस्टका लागि इङ्ल्यान्डको चिन्ता भने बेन स्टोक्सप्रति छ । पिँडौलाका चोटका कारण उनले तेस्रो टेस्ट गुमाउने सम्भावना छ । छैटौं ओभर बलिङ गरेपछि चोटका कारण अलराउन्डर स्टोक्सले मैदान छाडेका थिए । तर त्यसले टोलीको बलिङमा भने खासै असर परेन । एन्डरसन र वोक्सको जोडीले पाकिस्तानी ब्याटिङ लाइनअपलाई दुःख दिइरह्यो।

प्रकाशित: १२ श्रावण २०७३ ०२:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App