coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

यसरी रुप फेर्दै छ दोलखाले

दोलखा- राजधानीबाट जिल्ला प्रवेश गर्ने मुख्य मार्ग लामोसाँघु–जिरी सडक फराकिलो सहितको दोहोरो लेन। सदरमुकाममा फुटपाथ सहितका चौडा सडक। सदरमुकामबाट उत्तर जोड्ने प्रमुख मार्ग दोलखा–सिगंटी सडक दोहोरो आउजाउ गर्न मिल्ने गरी कालोपत्रे। दक्षिण र पूर्व जोड्ने सडकहरु फराकिला। कालिञ्चोक भगवती, शैलुङ, डाङडुङ्गे डाँडा स्थित फ्लिम सिटी लगायत पर्यटकिय क्षेत्र पुग्ने सडकहरु चौडा सहित कालोपत्रे।

 ‘निर्माणको काममा कुनै बाधा ब्यवधान आएन भने सम्भवत तीन बर्ष भित्र दोलखाले यसरी रुप फेर्दैछ’ डिभिजन सडक कार्यालय चरिकोटका प्रमुख अशोक तिवारीले हालै जिल्लाका सञ्चारकर्मीलाई सुनाउँदै भने  ‘विकासको प्रमुख पूर्वाधार सडक निर्माणले दोलखामा कायापलट गर्दैछ।’  

 डिभिजन प्रमुख तिवारीका अनुसार स्विस सरकारले ४० बर्ष अघि बनाईदिएका सडक संरचना सरकारले वैदेशिक अनुदानबाट विस्तार गर्दैछ। विकट र दुर्गम मानिएको उत्तरी क्षेत्र जोड्ने प्रमुख सडकलाई फराकिलो सहित कालोपत्रे हुँदैछ । जिल्लाको सिङगै दक्षिणी भुभाग जोड्ने दुई ओटा मुख्य सडक फराकिला बनाउन धमभाधम काम भईरहेको छ । तामाकोशी नदी सहित सडक क्षेत्रमा पर्ने खोलाहरुमा आधा दर्जन पुल बनिरहेका छन् । 

विकास पूर्वाधारको सबै भन्दा प्रमुख क्षेत्र मानिएको सडक विस्तार र निर्माणमा हुँदै गरेको कायापलटले जलश्रोत र पर्यटनमा धनी दोलखा जिल्लामा ति दुई सहित अन्य क्षेत्रमा समेत लगानी भित्र्याएर समृद्धी हासिल गर्न सकिने जनप्रतिनिधिहरुले बताएका छन्।

स्विस सरकारले ४० बर्ष अघि बनाईदिएका सडक संरचना सरकारले वैदेशिक अनुदानबाट विस्तार गर्दैछ। विकट र दुर्गम मानिएको उत्तरी क्षेत्र जोड्ने प्रमुख सडकलाई फराकिलो सहित कालोपत्रे हुँदैछ । जिल्लाको सिङगै दक्षिणी भुभाग जोड्ने दुई ओटा मुख्य सडक फराकिला बनाउन धमभाधम काम भईरहेको छ ।

सडकमा अर्बौ लगानी

मध्यपुर्वी पहाडको सुन्दर जिल्ला दोलखामा सडक बिस्तार र निर्माणमा सरकारको अर्बौ लगानी छ । यो लगानी १० बर्ष यता जिल्ला भित्रिन शुरु गरेको हो।

सडक बिभागका अधिकारीहरुका अनुसार अरनिको राजमार्ग स्थित सिन्धुपाल्चोकको खाडीचउरबाट शुरु हुने लामोसाँघु–जिरी सडक बिस्तार कार्य यही आर्थिक बर्ष भित्र सकिदैछ।

खाडीचउरबाट दोलखा सदरमुकाम चरिकोट सम्मको ५५ किलोमिटर खण्डलाई ७ मिटरको कालोपत्रे सहित बिस्तार हुदै गरेको यो सडकमा सरकारले भारतको एक्जीम बैंकको सहुलियतपूर्ण ऋण लगानीमा १ अर्ब १० करोड लागतमा निर्माण गर्न लागेको हो ।

सडक बिस्तार आयोजनाका प्रमुख केदार नेपालका अनुसार २ चरणमा भईरहेको काम आगामी असार मसान्त भित्र सक्ने लक्ष्य आयोजनाले राखेको छ । ‘वाल लगायतका पूर्वाधार निर्माण करिब करिब सक्यौ’ उनले भने – ‘अब धमाधम ह्युम पाईप बिच्छ्याउने र नाला बनाउने काम चलिरहेको छ, त्यो सकिए लगत्तै सडकमा वेस ओच्छ्याउने र कालोपत्रेको काम शुरु हुनेछ’ । पूर्वाधार सकिएपछि हने कालोपत्रेको काम मेसिनले गर्ने हुनाले ढिलाई नहुने कारण असार मसान्त भित्र विस्तारको काम सकिने उनको दाबी छ।

यस्तै चरिकोट देखी पर्यटकिय नगरी जिरी सम्म समेत दोश्रो चरणमा विस्तार गर्ने तयारी सरकारको छ। नेपालका अनुसार चरिकोट जिरी खण्डको विस्तृत अध्ययन सकेर ठेक्का ब्यबस्थापनको तयारी भईरहेको छ।

सदरमुकाममा सडककै सुन्दरता

सुन्दर पर्यटकीय नगरीका रुपमा समेत प्रख्यात सदरमुकाम चरिकोट ओर्लने पर्यटकलाई लक्षित गरेर सडक बिभागले चरिकोटको १ किलोमिटर खण्डलाई सुन्दर बनाउँदैछ।

चरिकोटको मुख्य चोक सातदोबाटो आसपास १ किलोमिटर खण्डलाई फुटपाथ सहितको १० मिटरको कालोपत्रे बनाउने काम चलिरहेको छ । शुरुमा ठेक्का लिएका ठेकेदारले काम नगरेपछि छुट्टै बजेट मार्फत डिभिजन सडक कार्यालयले ढलानको काम गरिरहेको छ । उक्त ठेकेदारले पूर्वाधार निर्माणका सबै कामहरु सकेपनि कालोपत्रेको काममा ढिलाई गरेको डिभिजनका ईन्जिनियर कृष्णकुमार महतोले जानकारी दिए। उनका अनुसार ६ करोडको लागतमा बन्दै गरेको यो सडकमा ठेकेदारले ६ सय मिटर कालोपत्रे गर्नेछ भने डिभिजनले पुर्ननिर्माणको छुट्टै बजेटबाट ४ सय मिटर ढलान गर्नेछ।

यता सदरमुकाम चरिकोटबाट प्रसिद्ध भीमेश्वर मन्दिर रहेको दोलखा बजार सम्म जोड्ने ४.५ किलोमिटरको सडक समेत धमाधम बिस्तार भईरहेको छ। ८ करोडको लगानीमा बिस्तार भईरहेको यो सडकमा ५० प्रतिशत भन्दा बढी काम सकिएको महतोले बताए। ५.५ मिटर कालोपत्रे हुने यो खण्ड एक बर्ष भित्र सम्पन्न हुने लक्ष्य राखिएको छ। यो मार्गमा दोलखा भीमेश्वर आउने भक्तजन र उत्तर आजाउ गर्नेहरुलाई सहज हुनेछ।

उत्तर अब सहज

कुनै बेला विकट मानिने सदरमुकामबाट उत्तर जोड्ने प्रमुख मार्ग दोलखा–सिगँटी सडक समेत कालोपत्रे बनाउने काम धमाधम छ । डिभिजनका अनुसार एशियाली विकास बैंकको लगानीमा ७० करोडको लागतमा बनिरहेको यो खण्ड दुई बर्ष भित्र सम्पन्न हुनेछ । दोलखा बजार देखी  सिगँटी सम्मको ३४ किलोमिटर खण्ड स्वच्छन्द निर्माण सेवाले काम गरिरहेको छ ।

शुरुमा माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाले निर्माण गरिदिएको यो सडकका अधिकांश संरचना निर्माण भईसकेका कारण कालोपत्रे मात्र गर्नुपर्ने हुनाले समयमै सकिने अधिकारीहरुको दाबी छ।

दक्षिणलाई सडकले घेर्दै

दक्षिणी क्षेत्र जोड्ने प्रमुख मार्ग मुडे–मेलुङ–सितली सडकलाई बाह्रै मास सहज रुपले चल्ने गरी डिभिजनले फराकिलो बनाईरहेको छ। दुई प्याकेजमा भईरहेको २२ किलोमिटर दुरीको यो सडक फराकिलो सहित नाला, सोलिङ र ग्राभेल बिच्छ्याईने छ । १६ करोडको लागत बिस्तार भईरहेको सडकको पहिलो प्याकेजको ठेकेदार कम्पनीको काममा ढिलाई भईरहेको डिभिजन ईन्जिनियर महतोले बताए।

यो निर्माण पश्चात दक्षिणका शैलुङ र मेलुङ गाउँपालिकाका बासिन्दालाई आउजाउमा सहज हुनेछ भने यस क्षेत्रमा उत्पादित आलु, काउली लगायतका तरबारी बालीले राजधानी सम्म सजिलो गरी बजार पाउनेछन्। यस्तै प्रसिद्ध पर्यटकिय क्षेत्र शैलुङ जाने पर्यटकलाई समेत टेवा पुग्नेछ । मेलुङ गाउँपालिकाको घ्याङबाट कल्लेरी हुदै मालुखोला जोड्ने सडक समेत ८ करोडको लागतमा ९ किलोमिटर खण्ड बिस्तार हुदैछ। यस्तै दक्षिणकै तामाकोशी गाउँपालिकाबाट जिरी जोड्ने पुष्पलाल मार्ग– चनौटे ३ करोड लागतमा बिस्तार हुँदैछ।

पूर्वमा जिरी नगरपालिकाको मालीबाट चेर्दुङ हुदै भोर्ले जोड्ने सडक समेत ६.५ किलोमिटरमा विस्तार हुँदैछ। जिरी बजारबाटै रामेछापको ठोसे हुदै शिवालय पुग्ने सडक समेत ९ करोडको लागतमा बिस्तार भइरहेछ । यो खण्डमा क्रमागत बजेटबाट बर्षेनी कालोपत्रेका कामहरु समेत चलिरहेको छ।

उत्तरको भोर्लेबाट सुरी हुदै मार्बुको मस्दिङ सम्म जोड्ने सडक समेत २७ करोडको लागतमा बिस्तार हुँदैछ। २५ किलोमिटर खण्ड ५.५ मिटरको फराकिलो हुने यो सडक बिस्तारको काम १ बर्ष भित्र पुरा हुनेछ। ५ करोड लागतमा भोर्लबाट चंखुको गुरुम्फी जोड्ने ३.५ किलोमिटर सडक बिस्तार समेत पुरा हुने चरणमा छ।

सडक बिस्तार पश्चात जिल्ला प्रवेश गर्ने खरिढुङ्गा देशी चरिकोट सम्मको खण्डमा सडकका दाँया बाँया फुलबारी बनाउने नीति भिमेश्वर नगरपालिकाले लिएको छ।

चरिकोट कालिञ्चोक कालोपत्रे हुदै

हाल बिस्तारको काम चलिरहेको चरिकोटबाट प्रसिद्ध पर्यटकिय स्थल कालिञ्चोक जोड्ने सडक समेत कालोपत्रेको तयारी भईरहेको छ । डिभिजन ईन्जिनियर महतोका अनुसार १८ किलोमिटर दुरी रहेको यो सडकमा हाल ११ करोड लागतमा फराकिलो बनाउँदै सोलिङ ग्राभेल र केही अफ्ठेरो स्थानहरुमा ढलान गर्ने काम चलिरहेको छ । मंसिर सम्म उक्त कामहरु पुरा हुने १८ किलोमिटर खण्डमा कालोपत्रे गर्नका लागी बजेट माग भईरहेको महतोले बताए ।

यो सडक निर्माण पछि दैनिक हजारौको संख्यामा कालिञ्चोक आउने पर्यटक लाभान्वित हुनेछन् । प्रस्तावित फ्लिम सिटी जाने ६ किलोमिटर सडक समेत कालोपत्रेका लागी धमाधम काम भईरहेको छ।

उता चरिकोट नजिकको मकैबारीबाट देउराली हुदै क्षमावती जोड्ने सडक समेत बिस्तारका लागी १३ करोड लागतमा ठेक्का लागिसकेको छ । जिरी बजारको सडक फुटपाथ सहित फराकिलो बनाउने काम भईरहेको छ। पर्यटकिय यो नगरीमा शाखा सडकहरु कालोपत्रेका काम चलिरहेका छन्।

यातायात पछि लगानी भित्र्याउने पहल

सडक यातायातमा फड्को मार्दै गरेको जिल्लाले अब लगानी मैत्री वातावरण बनाउँदै जिल्लामा लगानी भित्र्याउने पहल थालेको छ।

जिल्ला समन्वय समितिको केही दिन अघि सम्पन्न बैठकले लगानी भित्र्याउन पहल थाल्ने निर्णय गरेको हो । पर्यटन र जलश्रोतमा लगानीलाई जोड दिने निति जिल्ला समन्वय समिति सहित सबै स्थानीय तहले लिएका छन् । जिससले तामाकोशी तेश्रो दोलखालीकै लगानी हुने गरी स्वदेशी लगानीमा निर्माण गर्न प्रस्ताव अघि सारेको जिल्ला समन्वय समितिले जनाएको छ। 

 

प्रकाशित: १० भाद्र २०७४ १०:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App