८ वैशाख २०८१ शनिबार
राजनीति

निर्वाचन मिति नजिँकिदै गर्दा गृहजिल्लामा नेपालको सक्रियता

रौतहट- प्रदेश नम्बर २ मा हुने स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा  एमाले नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले गृह जिल्ला रौतहटमा आफ्नो सक्रियता बढाएका छन्। गत पाँच दिनदेखि रौतहटको गाउँ गाउँ पुगेर नेता नेपाल मतदाताको मन बुझ्ने प्रयास गरिरहेका छन्।

रौतहटका दुई समानुपातिक सांसद डा. वंशीधर मिश्र र लालबाबु यादवलाई आफूसँगै लिएर जिल्लास्तरीय कार्यकर्ताहरुका साथ नेता नेपाल प्रत्येक गाउँ र टोल पुग्ने अभियानमा जुटेका छन् । बाढीले सबैभन्दा बढी जनधनको क्षति पुर्‍याएको रौतहटका पीडितहरुलाई भेटेर सान्त्वना दिँदै र उपलब्ध राहत प्रदान गर्दै स्थानीय जनताका तत्कालको आवश्यकता पूरा गर्न सम्बन्धित निकायलाई तत्काल निर्देशन पनि दिइरहेका छन् । गाउँ र टोलसम्म नेता पुग्दा जनताको भावना बुझ्न सजिलो भएको अभियानमा संलग्न कार्यकर्ताहरुको भनाइ छ।

स्थानीय तहको निर्वाचनमा अन्य अधिकांश प्रदेशमा एमाले पहिलो पार्टी बन्न सफल भएपछि प्रदेश नम्बर २ मा पनि पहिलो पार्टी बनाउने अभियानको अघोषित अंगको रुपमा नेता नेपालको गाउँ भ्रमणलाई लिइएको छ । प्रदेशमा एमाले पहिलो दल बन्ने सम्भावना रहेको मतदाताको भावना बुझ्दा थाहा भएको सांसद डा.वंशीधर मिश्रले बताए। मतदातासम्म पुग्दा नेताहरुले विगतमा अशक्त, अपांग, एकल महिला, ज्येष्ठ नागरिकको पक्षमा एमालेले गरेको कामको चर्चा सर्वसाधारणले नै गर्ने गरेको सांसद मिश्रको दावी छ।

बाढीले रौतहटमा ठूलो क्षति भएपछि मतदातालाई मतदान केन्द्रसम्म जाने बाटो तत्काल मरमत गर्न, गाउँहरुलाई नजिकको बजारसम्म नेता नेपालले तत्काल जोड्न निर्देशन दिने गरेका छन् । बाढीले प्रभावित अधिकांश गाउँका पीडितले नेता नेपाललाई आफ्नो गाउँमा बोलाएर गाउँको समस्या समाधान गर्न आग्रह गर्ने गरेका छन् ।

धेरै लामो समयपछि नेता नेपालले आफ्नो गृह जिल्लालाई समय दिएका छन् । गाउँ गाउँमा पुग्दा बाढीले रौतहटलाई तहसनहस पारेको बताउँदै नेता नेपालले रौतहटलाई राहतभन्दा पुनर्निर्माणको आवश्यकता रहेको बताएका छन् । रौतहटलाई बाढी पीडित जिल्लाको रुपमा घोषणा गरिनुपर्ने माग गर्दै नेता नेपालले काठमाडौं पुगेपछि जिल्लाको बाढी पीडितको विषयमा सरकारसित गम्भीर कुराकानी गर्ने बताएका छन्।

प्रकाशित: १० भाद्र २०७४ ०८:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App