कथा : हिलोको फूल

शनिबार, १० भदौ २०७४, ११ : ३२ पोस्तक श्रेष्ठ

विनाउद्देश्य हिँड्दाहिँड्दै जमल पुगेँछु। थकाई लाग्यो र ट्याक्सी बोलाएँ।

ड्राइभर अलि फरक रहेछ। सुरुमै कहाँ जाने भनेर सोधेन र भाडा यति लाग्छ भनेर गजक्क पनि परेन। अगाडिपट्टिको सिटमा बसेँ। त्यसपछि भने उसले सोध्यो।

'कहाँ पुर्‍याइदिउँ दाइ?'

हरेक दुई–तीन वर्षमा म अमेरिकाबाट नेपाल गइरहेको हुन्छु। काठमाडौंमा चिनेजानेका त धेरै छन् तर खास साथीहरु धेरै छैनन्। भएका केही साथीहरु पनि व्यस्त हुन्छन्, भेट्नै गाह्रो। त्यसैले एक्लै–एक्लै गल्ली, चोक र सडकमा भौँतारिएर हिँड्थेँ। काठमाडौंको जीवन शैली नियाल्थेँ। नांलोमा सुपारी, छुर्पी, चुरोट लगायत बेच्न बसेका महिला, साइकलमा फलफूलको टोकरी लिएर बसेका र उनीहरुसँग मोलमोलाई गरिरहेका रैथाने, सडकको पेटीमा तन्ना ओछ्याएर सस्ता लुगा बेच्न बसेकाहरु, एउटा स्टोभ र थर्मस लिएर सडकमा चिया बेच्न बसेका महिला, ग्राहक कुरेर बसेका रिक्साचालक, हतार–हतार कार्यालय जान निस्केका कर्मचारी, बच्चालाई स्कुल पुर्‍याउन हिँडेका आमाहरु सबैलाई नियाल्थेँ।

हिँड्दाहिँडदा थकाई लाग्यो भने ट्याक्सी चढ्थेँ।

'मेरो जाने ठाउँ कहीँ छैन भाइ, हिँड्दाहिँडदा थकाई लाग्यो र तपाईंलाई रोकेको। बस एक घन्टा जस्तो यताउती घुमाइदिनुस्, अनि ठमेलतिर छोडिदिनुस्,' ट्याक्सी चालकलाई भनेँ।

उसले मलाई पुलुक्क हेर्‍यो। सायद ऊ उल्झनमा पर्‍यो। कस्तो अनौठो 'प्यासेन्जर' परेछ भन्ने सोच्यो होला। तर केही बोलेन। अनि मिटर चालु गर्‍यो र गाडी अघि बढायो।

एकछिनमा ऊसँग कुराकानी सुरु गरेँ। उसको नाम नकुल रहेछ, गोरखाको कुनै गाउँबाट आएको। ट्याक्सी चलाउन थालेको तीन–चार वर्ष भएको रहेछ। ऊ गम्भीर देखिन्थ्यो। कम बोलिरहेको थियो। मैले सोधेको मात्र जवाफ दिइरहेको थियो।

मेरै इसारामा उसले गाडी कहिले दायाँ मोड्यो, कहिले बायाँ। कहिलेकाहीँ जाममा परियो तर हामीलाई कहीँ पुग्नु थिएन, कुनै हतार पनि थिएन। त्यसकारण जता गइदिए पनि भयो, कस्तो मज्जा।

घुम्दाघुम्दै साँझ पर्‍यो।

'भाइको परिवार छ?' मैले सोधेँ।

'छैन।'

'त्यसो भए मसँगै खाना खानुहुन्छ?'

उसले मेरो अनुहारमा एकछिन ट्वाल्ल हेर्‍यो। ऊ छक्क परेको मैले सजिलै अनुमान लगाएँ। अलि अप्ठेरो महसुस गरेको जस्तो पनि लाग्यो। सायद कुनै प्यासेन्जरले पहिला खाना खाएर जाउँ भनेको थिएन होला। ममाथि केही शंका पनि उठ्यो कि?

'भाइ, अप्ठेरो मान्नुपर्दैन। म भोलि अमेरिका फर्कंदै छु। मसँग समय बिताउने साथी छैनन्। भएका केही साथी पनि धनसम्पत्ति, शक्ति र राजनीतिबाहेक अरु कुरा गर्दैनन्। कसैसँग दम्भ छ भने कसैसँग कुण्ठा मात्र। झिजो लागेर आउँछ। तपाईंसँग फुर्सद छ भने साथ दिनुहुन्छ कि भनेर हो,' मैले प्रस्ट भनेँ।

उसले एकछिन सोच्यो र बोल्यो।

'हुन्छ, मेरो ग्यारेज यहीँ नजिक छ, गाडी त्यहाँ थन्क्याएर आउछुँ।'

त्यसपछि हामी ठमेलको थकाली भोजनालयमा भेट्यौँ। साँझको चिसो अलि बढेको थियो। ह्विस्की र तातो पानी मागियो। ऊ ढंगले पिइराखेको थिएन। छिटो–छिटो पिउँदै थियो। बोतलबाट रक्सी निखि्रँदै गयो र हाम्रो वार्तालापले पनि गति लिँदै गयो। नहकुलले मेरोबारे केही सोध्यो, मैले उसको बारे केही सोधेँ।

'ट्याक्सी ड्राइभरसँग बसेर रक्सी खाने हजुरजस्तो प्यासेन्जर अहिलेसम्म भेटेको थिइनँ,' यति भनेर ऊ बेजोडले हाँसो।

मैले उसको विवाहबारे सोधेँ।  ऊ अलि गम्भीर बन्यो। सायद यसमा उसको कुनै दुःखको पाटो लुकेको थियो। उसले रक्सीको गिलास स्वाट्ट पार्‍यो। अनि बिस्तारै बोल्न सुरु गर्‍यो।

'दाइ, कथा लामो छ। काठमाडौंमा एउटा साथी थियो, उसले केही मद्दत गर्छ कि भन्ने आसमा काठमाडौं आएँ। तर, ऊ बस्ने ठाउँ पत्ता लगाउन सकिनँ, उसलाई भेट्न सकिनँ। उसको नम्बर र ठेगाना थिएन, तर भेटिएला नि भनेर आएको थिएँ। मलाई सहरबारे जानकारी पनि थिएन। साथीले भनेअनुसार केही ठाउँ भने थाहा थियो। माइक्रो बसको सहयोगीले कुनै ठाउँ भनेर करायो भने म त्यही पुग्थेँ। यसरी हिँड्दा पकेटमारले अलिअलि भएको पैसा पनि लुटिदियो।

हिँड्दाहिँड्दै जमल पुगेको रहेछु। थकाइ मार्न अकासे पुलछेउ सडकपेटीको भित्तामा अडेसिएर बसेँ। थाकेकाले निदाएछुँ। आँखा खुल्दा अन्धकार बढ्दै थियो। सायद कृष्णपक्षको रात थियो। लोडसेडिङले होला, सडकका बत्तीहरु पनि बलेका थिएनन्। कहाँ जाने, कसो गर्ने केही सोच्न सकिनँ। घर सम्भि्कएँ, घरको ओछ्यान सम्भि्कएँ, आमालाई सम्भि्कएँ। आमाले पकाएको तातो भात सम्भि्कएँ।

त्यहाँबाट हिँडे। त्यहीबेला मेरोनजिक एउटा ट्याक्सी घ्याच्च रोकियो। ट्याक्सीको पछाडि पट्टिको ‰यालबाट एउटी युवतीले मुन्टो निकालिन्।

'एई, जाने हो?'

अरु कसैलाई भनेको हो कि भनेर दायाँ–बायाँ, अगाडिपछाडि हेरेँ। कोही देखिनँ। मलाई नै भनेकी रहिछ। चिन्नु न जान्नुको केटीले सोधेकाले अलमलमा परेँ। तैपनि सोधेँ।

'कहाँ?'

त्यहीबेला नजिकै प्रहरीको भ्यानको साइरन बज्यो। मैले केही भन्न नपाउँदै केटीले हत्तपत्त ट्याक्सीको ढोका खोली र मलाई भित्र तानी। ड्राइभरले ट्याक्सी कुदाइहाल्यो। के भइरहेको छ, मैले केही भेउ पाउन सकिनँ। अलिअलि डर पनि लाग्यो।

युवतीको मुखबाट रक्सीको गन्ध आइरहेको थियो। केहीअगाडि पुगेपछि ट्याक्सी रोकियो। प्रहरीको चेकिङ हुँदै रहेछ। एउटा प्रहरीले हामी बसेको पछिल्लो सिटमा पनि टर्चलाइट बालेर हेर्‍यो

'को हो तिमीहरु, कहाँ जाने हो?' उसले कड्केर सोध्यो।

म केही बोल्न खोज्दै थिएँ, युवतीले मलाई चिमोटी। म चुप लागेँ।

'म रेजिना, उहाँ मेरो श्रीमान्, डेरा फर्केको,' युवती बोली।

'पार्ट टाइम श्रीमान् कि फुलटाइम?' प्रहरी फेरि कड्क्यो। अर्को प्रहरी मजासँग हाँस्यो। तर उसले ड्राइभरलाई जान संकेत गर्‍यो।

म अलमलमा परेँ। कति सजिलै यो केटीले मलाई श्रीमान् बनाइदिई। रहस्यको गाँठो कस्सिँदै गयो।

'हामी कहाँ जान लागेको?' मैले मुस्किलले सोध्ने हिम्मत गरेँ।

'तिम्रो कहीँ जाने ठाउँ छ?' युवतीले उल्टै प्रश्न गरी।

मेरो जाने ठाउँ कहीँ थिएन, मौन बसेँ।

'ठाउँ छैन, भने मेरो डेरामै जाउँ।'

यो रहस्यमयी युवती को हो, मलाई कहाँ किन लैजाँदै छे? मैले केही बु‰न सकेको थिइनँ। तर त्यतिमै म धन्य थिएँ कि म सडकमा थिइनँ। केही समयपछि ट्याक्सी एउटा घर अगाडि रोकियो। मेरो पाखुरा समाएर युवती अघि बढी। सायद नशामा भएकाले उसलाई मेरो सहारा चाहिएको थियो।

उसले कोठाभित्र प्रवेश गर्नेबित्तिकै चुकुल लगाई। ज्याकेट खोलेर सोफातिर फाली। बेपरवाह उसले आफ्नो सर्ट र स्कर्ट पनि उतारी। भित्री वस्त्र मात्र बाँकी बसे। कोठामा गर्मी थियो, पंखा चलाई। यति नजिकबाट मैले कुनै युवतीको अर्धनग्न शरीर देखेको थिइनँ। लाजले मेरो नजर झुक्यो।

कस्तो लाजहीन केटी रहेछ भन्ने लाग्यो। म लक्का जवान भए पनि भोक र थकानले गलेको थिएँ।

उसले एउटा चुरोट सल्काई र हावामा धुँवा फाल्दै खाउँलाझैँ गरेर मलाई हेरी। मानौँ ऊ बघिनी हो र म सिकार, जसलाई ऊ एकैछिनमा झम्टनेछ।

'पैसा छ?' चुरोटको धुवाँ बाटुलो पारेर उसले मेरो अनुहारतिर छोड्दै सोधी ।

'पैसा?' म छक्क परेँ, 'छैन त पैसा मसँग।'

'साला, पैसा छैन रे? अनि किन आको त मसँग। सित्तैमा मोज गर्न पाउँछु भन्ने ठानेको कि क्या हो?'

ऊ जुरुक्क उठी। मेरो प्यान्टको अघि, पछि चारैवटा खल्तीमा हात घुसारी। कमिजको खल्ती पनि छामछुम पारी।

'साला, कस्तो भुक्कालाई लिएर आएँ छु। आज मेरो दिन नै खराब,' एक्लै भुतभुताई। अनि, जोडले मेरो शरीरको पछाडि पट्टिको भागमा लात हानी।

'निस्किहाल्।'

मेरो शरीरमा शक्ति थिएन। म धुनमुनिदै लडेंँ। टाउको ढोकामा ठोकियो र भाउन्न भयो। रगत पनि बग्न थाल्यो। रगत मात्र बगेको भए त हुन्थ्यो नि, खै के सोचेर, आँसु पनि बरर्र खस्यो। टाउकोबाट रगत बगेको देखेर हो वा मेरो आँसु देखेर, उसको मन केही पग्लिएछ।

उसले मेरो टाउको छामी। कपास चोपेर डेटोल लगाई र ब्यान्डेज बाधिँदिई। दुखाइ कम गर्ने औषधिको एउटा ट्याब्लेट पनि दिई।

मेरो दयालाग्दो अवस्था र सोझोपन बुझेर हुन सक्छ उसले सोधी, 'भोक लागेको छ?'

म केही बोलिनँ। मेरो सुकेको ओँठ र ख्याउटे अनुहार देखेर अनुमान लगाई र भित्र भान्छाबाट एउटा प्लेटमा चिउरा, दालमोठ र अचार ल्याएर दिई। केही नबोली मैले थाल एकैछिनमा रिŒयाएँ। यसबीचमा उसले गन्जी र ट्राउजर लगाई।

'ल ऊ त्यो ओछ्यानमा सुत। मेरो साथीको ओछ्यान हो, आज राति आउलाजस्तो छैन। भोलि बिहानै उठेर जानू। मलाई चाँहि नउठाउनु नि।'

उनले आफ्नो पर्स खोलिन् र पाँच सयको नोट मेरो हातमा थमाइदिई।

'ल यो अलिकति खर्च, जहाँबाट आएको हो, बस समातेर त्यतै फर्किनू। काठमाडौंमा बेखर्ची भएर भौँतारिने काम छैन,' ऊ यसरी बोलिरहेकी थिई, मानौँ मेरो अभिभावक हो।

उसलाई भेटेदेखिका सबै घटना मलाई नौलो लागिरहेको थियो।  मैले केही बुझ्न सकिरहेको थिइनँ। अचेल लाग्छ, उसले मलाई अर्कै उद्देश्यले लगेकी रहिछ। त्यसपछि म केही नबोली खाटमा पल्टिएँ र भुसुक्कै निदाएँ पनि।

बिहानै कसैले मलाई घचघच्यायो।

'ए मिस्टर, यो मेरो बेड हो।' आँखा मिच्दै उठेँ। एउटा अर्कै केटी थिई। रेजिनाले भनेकी साथी उही हुनुपर्छ।

म उठेँ। अर्को ओछ्यानमा रेजिना अझै मस्त निद्रामा थिई। उसलाई एक वचन बोलाएर जान मन लागेको थियो तर नउठाउनु भनेकीले उठाइनँ। एकरात भए पनि आश्रय दिएकामा मनमनै कृतज्ञता व्यक्त गरेँ र निस्किएँ।

मिर्मिरे उज्यालो भइसकेको थियो। चराचुरुंगीहरु चिर्बिर गर्दै थिए। सडक अझै चकमन्न थियो। म कहाँ छु भन्ने पनि हेक्का भएन। कता जाँदै छु भन्ने पनि सुर भएन।

'जहाँबाट आएको हो, बस समातेर त्यतै फर्किनू। काठमाडौंमा बेखर्ची भएर भौंतारिने काम छैन,' रेजिनाले भनेको वाक्य कानमा गुन्जियो। उसले दिएको पाँच सयको नोट एकछिन खेलाएँ र फेरि खल्तीमै राखेँ। बाटोमा एउटा मान्छेले बसपार्कको बाटो देखाइदियो। बाटोभरि अघिल्लो साँझको घटना परिदृश्य बनेर घुमिरह्यो।'

यति भनेपछि नहकुल चुप लाग्यो। मैले गिलासमा रक्सी थपिदिएँ। उसले रक्सीको एक घुटको लियो र सितन चपायो। अनि बेपरवाह हाँस्यो र भन्यो, 'ट्याक्सी ड्राइभरसँग बसेर रक्सी खाने हजुर जस्तो प्यासेन्जर अहिलेसम्म भेटेको थिइनँ।' उसले बीचबीचमा यो वाक्य थुप्रैपटक भनेको थियो।

उसको कथा गहिरो हुँदै गएको थियो। अरु खोतलखातल गर्न मन लाग्यो।

'त्यसपछि तिमी कहाँ गयौ?'

नहकुलको अनुहारमा फेरि गम्भीरता छायो। एकछिनको मौनतापछि बोल्न सुरु गर्‍यो।

'परिवारमा म, बा, आमा र भाउजू थियौँ। दाजु कतारमा हुनुहुन्थ्यो। हाम्रो घर अलि अग्लो ठाउँमा थियो र अरुको भन्दा पक्की पनि थियो। गाउँको चौकी माओवादीले ध्वस्त पारेपछि प्रहरीले हाम्रो घर जबर्जस्ती कब्जामा लिए र माथिल्लो तलामा चौकी बनाए। हाम्रो परिवार भुइँतला र गोठमा सीमित भयो। माथि ‰यालबाट बन्दुकका नालहरु हमेसा बाहिरतिर सोझिएको हुन्थ्यो। उनीहरुको विरोधमा केही बोल्न हुँदैनथ्यो। संकटकाल भनेको के हो, थाहा छ? भनेर थर्काइरहन्थे। हामी चुपचाप बस्न बाध्य थियौँ।

प्रहरी चौकी बस्न दिएकामा माओवादी हामीसँग क्रुद्ध थियो। बारम्बार धम्की आइरहन्थ्यो। बुवा एक दिन बेंसीको खेतमा जानुभएको थियो, फर्कनुभएन। पछि उहाँको मृत शरीर खोल्सामा भेटिएको थियो।

त्यसको एक सालमा अर्को बज्रपात भयो। कतारमा दाजु काम गर्ने मेसिनमा च्यापिएर बित्नुभएछ। उहाँको शरीर बन्द बाकसमा नेपाल आइपुग्यो। हाम्रो विपत्तिको शृंखला यहीँ सकिएन। चौकीमा एउटा हवल्दार थियो, जो विधवा भाउजूसँग हात हालेर चलिराखेको देख्थेँ। एक दिन प्रतिरोध गरेँ र हवल्दारको निर्घात पिटाइ खाएँ। त्यसपछि डरले देखे पनि नदेखेजस्तो गर्न थालेँ। भाउजू दुई जिउकी हुनुभएछ। गाउँघरमा गाइँगुइँ हल्ला चल्न थाल्यो। हवल्दार सरुवा लिएर गइहाल्यो। यता भाउजू गोठमा पटुकीको पासो लगाएर झुन्डिनुभयो। घरमा बाँकी रह्यौँ आमा र म।

एउटा तीजको रात थियो। माओवादीले चौकीमा आक्रमण गर्‍यो। गोलीले घर छियाछिया पार्‍यो। मेरैअगाडि दुई प्रहरी लडे र पानी–पानी भन्दै प्राणपखेरु छोडे। बचेका म र केही प्रहरी माओवादीको कब्जामा पर्‍यौँ। आमा तीजमा मामाघर जानुभएकाले बच्नुभयो। त्यो रात माओवादीले जंगलै जंगल खुब हिँडाए। बास बसेको ठाउँमा उनीहरु निदाएको मौका पारेर म भागेँ र भाग्दाभाग्दा काठमाडौं आइपुगेँ। बाघको खोरबाट फुत्केर भागेको मान्छे फेरि खोरमै कसरी फर्किनु दाजु, म गाउँ फर्किनँ।'

त्यसपछि नहकुल चुप लाग्यो। उसको आँखाको डिलमा आँसु टलपल गर्‍यो। जनयुद्धका खबर पढेको थिएँ। टिभीमा हेरेको थिएँ। तर कोही पीडितलाई प्रत्यक्ष भेटेको थिइनँ। मैले समाचारमा हेरेको वा पढेको भन्दा नहकुलको भोगाइ धेरै कहालीलाग्दो रहेछ। उसको कथा–व्यथा सुनेर म स्तब्ध भएँ। सहानुभूतिका केही शब्द पनि भन्न सकिनँ। निःशब्द भएँ।

नहकुलले आफ्नो कथा जारी राख्यो।

'त्यो दिन बसपार्कमा एउटा ड्राइभरसँग भेट भयो। उसलाई खलासी चाहिएको रहेछ। मलाई काम दियो। केही वर्षपछि मैले आफैँ गाडी चलाउन सिकेँ। अनि ट्याक्सी चलाउन थालेँ।

मैले किन बस, ट्रक नचलाएर ट्याक्सी नै चलाएँ होला, बु‰नुहुन्छ दाइ?'

'भन न,' मैले भनेँ।

'अघि बिहे किन नगरेको भनेर सोध्दै हुनुहुन्थ्यो नि, हो त्यसको उत्तर पनि यसैमा दिन्छु। म रेजिनाको तलासमा छु। यो सडकमा म उनलाई खोजिरहेको छु। उसको डेरा खोज्दै गएँ। तर पत्ता लगाउन सकिनँ। ट्याक्सी चलाएर सडकमा गुडिरहँदा एक दिन त उसलाई अवश्य भेट्ने छु भन्ने आस छ। कुनै न कुन दिन उनी मेरो ट्याक्सी चढ्न आउनेछिन्। म उनलाई नै विवाहको प्रस्ताव राख्नेछु।'

म उसको कुरा सुनेर चकित भएँ। रेजिनाप्रतिको उसको प्रेमले मलाई नतमस्तक तुल्यायो। रेजिनाको जीवन हिलोमा छ भन्ने थाहा हुँदाहुँदै पनि नहकुलले उसमा सिर्फ फूल देख्यो र त्यही फूलको प्रेममा पर्‍यो। प्रेम कहिले हुन्छ, कोसँग हुन्छ, कस्तोसँग हुन्छ, कसरी हुन्छ, त्यसको कुनै नियम छैन। बस एक दिन हुन्छ, कोहीसँग हुन्छ, जस्तोसँग पनि हुन्छ र जसरी पनि हुन्छ। नहकुललाई पनि भयो।

मैले नहकुललाई उसको प्रेम चाँडै भेटियोस् भनेर शुभकामना दिएँ। त्यो दिन हामी छुट्ने भयौँ।

'ट्याक्सी ड्राइभरसँग बसेर रक्सी खाने हजुरजस्तो प्यासेन्जर अहिलेसम्म भेटेको थिइनँ,' छुट्टिन लाग्दा उसले उही वाक्य दोहोर्‍यायो। अनि मजाले हाँस्यो। म पनि हाँसे।

भोलिपल्ट मेरो फ्लाइट थियो। हवाईजहाजको पूरै यात्रा मेरो नयाँ ट्याक्सी ड्राइभर साथीबारे सोचेरै पूरा गरेँ।

त्यसको दुई वर्षपछि म नेपाल फर्किएँ। नहकुललाई फोन गरेँ। ऊ मलाई भेट्न होटेलमा आयो। साथमा एउटा युवती पनि थियो। युवतीको सिउँदोमा सिन्दुर थियो। गलामा पोते। मैले आँखाको इसाराले उनी को भनेर सोधेँ।

नहकुल अलि लज्जायो र बोल्यो।

'दाजु उनी उही हुन्, जसको म तलासमा थिएँ।'





यसमा तपाईको मत

अन्य समाचार

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

Ncell Footer Ad