coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

सफल पात्रका संघषमय कथा

विशेषगरी उपन्यास, जीवनी र कथाका पुस्तक पढ्ने बानी बढी छ। कहिलेकाहीँ भने प्रेरणादायी पुस्तकले तान्छन्। केहीअघि 'नेपालमै सकिन्छ' पुस्तक पढेँ। 'सम्भव छ' पुस्तक प्रकाशन गरिसकेका टेलिभिजन पत्रकार रोहित भण्डारीको यो पुस्तक प्रेरणाको गाइडजस्तो लाग्छ, बेग्लै आनन्द दिन्छ।

पुस्तकमा कुनै अनौठा पात्रका अनौठा कथा छैनन्। तर, हरेक कथा सामान्य पनि होइनन्, प्रत्येक पाना पल्ट्याउँदा पाठकमा ऊर्जा आउँछ। सामान्य काम गरेर पनि राम्रै आम्दानी गरिरहेका मान्छेका कथाको समेटिएको छ, पुस्तकमा। कामलाई सम्मान गर्नेले पाइलापाइलामा पैसा भेट्न सक्छन् भनेर पुस्तकले देखाउन खोजेको छ। पुस्तकको सार नै पैसा कमाउन विदेशै कुद्नुनपर्ने र देशभित्रै सम्भावना देखाउनु हो।

पुस्तक तीन खण्डमा विभाजित छ। पहिलो खण्डमा पैसा कहाँ, कसरी कमाउन सकिन्छ भनेर सम्भावना देखाइएको छ। गुन्दु्रक, चिया बेचेर, जुत्ता पालिस गरेर, बाथरुम सफा गरेर पनि लाखौँ कमाउनेको कथा यस खण्डमा छ।

दोस्रो खण्डमा पैसा कमाउन विदेश नभएर नेपाल नै रोज्नु उपयुक्त हुने सन्देश दिन खोजिएको छ। विदेश जान मरिहत्ते गर्नेका लागि गज्जबको सामग्री पस्केका छन् लेखकले। डिभी परी अमेरिका पुगे पनि नेपाल फर्केर व्यवसाय गरिरहेका काठमाडौंका दिनेश श्रेष्ठ, बेलायतको स्थायी बसोबास त्यागेर फुटपाथमा सुन्तला व्यापार गरी लाखौँ आम्दानी गरिरहेका स्याङ्जाका कृष्णजंग केसी, अस्ट्रेलियाको पिआर त्यागेर माछाको व्यापार गर्दै आएका चितवनका मछिन्द्र उप्रेती लगायतको पे्ररणादायी कथा लेखकले रोचक शैलीमा पस्केका छन्।

तेस्रो खण्डमा हातमा डिग्री बोकेर काम खोज्दै सहरका गल्ली गल्लीका कार्यालय धाउनेलाई प्रेरणा मिल्ने मसला छ। डिग्री होल्डरले अफिस नै रोज्नुको सट्टा पसिना बगाउने काम गरेर आम्दानी राम्रो गरेका व्यक्तिको कथा छ। डिग्रीको सर्टिफिकेट झोलामा राखी कृषिमा लागेका रवीन्द्र घिमिरे, डिग्री सकेर वायरिङको काम गर्दै आएका काठमाडौंका बैकुण्ठ अर्याल, पेन्टरको काम गर्दै आएका दोलखाका डिग्रीहोल्डर भावत कार्की, ग्रिलको काम गर्ने मोहन श्रेष्ठ, टायर मर्मतको काम गर्ने डिग्री होल्डर काठमाडौंका राजु महर्जनको संघर्षसँगै सफलताको कथा छ। त्यसैगरी डिग्री सकेर हजाम बनेका सिकन्दरकुमार ठाकुर, टेलर काम गर्ने दोलखाका सुजन थपलिया, फर्निचरको काम गर्ने दोलखाका रामशरण दाहाललगायत डिग्री होल्डर पात्र छन्, यस खण्डमा।

पुस्तकले सफलता मात्रै औँल्याएको छैन। दोस्रो खण्डमा केही गर्दा असफलता व्यहोरेका पात्रको कथा पनि छ। काम गर्र्दा सफल मात्र होइन, असफल पनि भइन्छ भन्ने देखाइएको छ। तर, अफलताका कारणबाट जोगिन पुस्तकले मार्गदर्शन गर्न खोजेको छ।

पुस्तकमा पत्रकारिताको स्वाद छ र आख्यानको पनि। लेखक भण्डारी टेलिभिजनमा पत्रकारिता गर्छन्। पत्रकारिता र आख्यान मिसिएको सरल भाषाको यो पुस्तकले पाठकलाई आशा र ऊर्जा प्रदान गर्छ। यो पुस्तकलाई प्रेरणाको दस्तावेज भन्दा फरक नपर्ला। पात्रसँगै भेटेर कुरा गरिरहे जस्तो अनुभूति दिलाउन सक्नु पुस्तकको लोभलाग्दो पक्ष हो।

पाठकले आफूसँग मेल खाने कुनै न कुनै पात्र यस पुस्तकमा पाउन सक्छ। ती पात्रले प्रेरणा नै दिने हुन्। प्रेरणा लिन सक्ने मैदान हो यो पुस्तक, जहाँ विविधता मात्र छैन, प्रत्येक पात्रको संघर्ष, आत्मविश्वास र सफलताको सूत्रले भरिपूर्ण कथा छ।

निराशालाई पृष्ठभूमि बनाउँदै उज्यालोतिरको यात्राका लागि पुस्तकको प्रत्येक पाना र पात्रले जोड दिन्छन्। तर, यहाँनेर भन्नैपर्ने हुन्छ, पैसा कमाउनु नै सबैथोक हो त? सफलताको आधार पैसालाई मात्रै मान्ने हो? अनि कोही विदेशबाट फर्केर केही गरेको अपवादलाई लिएर विदेशमा नेपाललाई चिनाएका नेपालीलाई भुल्न मिल्छ? पुस्तक पढिसक्दा झट्ट यो लाग्न सक्छ कि पैसाको पछि लाग्नुपर्छ। यद्यपि कामको सम्मान र संघर्ष गर्ने नै सफल हुन्छ। केही गरौँ भनेर सम्भावना खोज्ने र केही गर्न सकिएन भनेर निराश हुनेका लागि प्रेयणादायी पुस्तक हो, 'नेपालमै सकिन्छ'।

लेखक :  रोहित भण्डारी

प्रकाशक :  जयकाली प्रकाशन

मूल्य रु. :  ३००/–

प्रकाशित: १० भाद्र २०७४ ०५:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App